प्रिया स्मृती ढकाल, नेपालगन्ज १९ भदौ । बाँकेका स्थानीयस्तरका स्वास्थ्य संस्थामा एचआइभी एड्स संक्रमित गर्भवतिलाई जाँच गर्ने किटको अभाव भएको छ । जस्का कारण संक्रमितबाट जन्मने शिशुमा एचआइभी सर्न नदिने उपचार पद्धति प्रभावित भएको छ । सरकारले यसअघि स्थानीयस्तरकै स्वास्थ्य संस्थामा गर्भवति चेकजाँचका लागि किटहरु उपलब्ध गराउने गरेको थियो ।

उक्त किटका आधारमा जन्मने बच्चामा एचआइभी संक्रमण सर्न नदिने खालका औषधि प्रयोग गरिंदै आइएको थियो । तर ६ महिनादेखि राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र काठमान्डौंले जिल्लामा रहेका स्थानीय स्वास्थ्य संस्थामा किट नपठाएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य निरीक्षक रामबहादुर चन्दले जानकारी दिए ।

‘किट उपलब्ध गराउन जनस्वास्थ्यले तीन÷तीन पटक पत्र पठाइसक्यो तर केन्द्रले अहिलेसम्म पठाएको छैन उनले भने –‘यसले संक्रमित गर्भवतिबाट जन्मने शिशुमा एचआइभी पोजेटिभको खतरा उच्च हुन्छ ।’ कतिपय संक्रमित गर्भवतिहरु सदरमुकाम नेपालगन्जमा आएर चेकजाँच गर्ने गरेका छन् । भेरी अञ्चल अस्पताल, टिभी अस्पताल, आर्मि हस्पिटल, नेपाल परिवार नियोजन संघ र एनसार्कमा भने किटको अभाव छैन । तर स्थानीयस्तरका स्वास्थ्य स्वास्थ्यमा किट अभाव हुँदा प्रभावितहरुलाई नेपालगन्ज आउन गाहे छ ।

तपाईको प्रतिक्रिया