अधिवक्ता सुजित के.सी नेपालको राष्ट्रिय पोसाक कुन हो भनि प्रश्न गर्दा अहिले कसैले पनि सही जवाफ दिन सक्ने छैनन् । वि.सं २०६८ सालसम्म नेपालको राष्ट्रिय पोसाक दौरा सुरुवाल रहेको थियो तर सोही साल प्रधानमन्त्री बनेका बाबुराम भट्टराईले राष्ट्रिय पोसाक दौरा सुरुवाललाई राष्ट्रिय पोसाकबाट हटाई दिएका थिए । नेपालको राजा र पहाडी नेपालीले मात्र प्रयोग गर्ने सामन्तीको प्रतिकको रुपमा चित्रण गर्दै दौरा सुरुवाललाई राष्ट्रिय पोसाकबाट कमरेड भट्टराईले हटाइएका थिए । दौरा सुरुवाललाई हटाएका प्रधानमन्त्रीले आफ्नै देशको अरु कुनै पोसाक नलगाई विदेशी टाई र सुट लगाउन थालेका थिए ।

त्यस पछि कुन पोसाकलाई राष्ट्रिय पोसाक मान्ने हो, यसको विषयमा हालसम्म कुनै पनि निर्णय भएको छैन् । नेपालको राष्ट्रिय पोसाकको विषयमा नेपालको संविधानमा व्यवस्था गरिनुपर्ने हो । तर आलोचकहरुले सहमतिको दस्तावेज मानेका नेपालको संविधानमा पोसाकाको विषय कही कतै उल्लेख गरिएको छैन् । साच्चै सहमतिकै दस्तावेजकै रुपमा संविधानमा समेत पोसाकको उल्लेख नगरिएको जस्तो देखिन्छ ।

वि.सं २०७० सालको संविधानसभाबाट २०७२ सालमा जारी भएको नेपालको संविधानमा दौरा सुरुवाललाई राष्ट्रिय पोसाकको रुपमा संविधानमै लेखिन धेरै संविधानसभा सदस्यहरु समेतले प्रस्ताव तथा अनुरोध समेत गरेका थिए । तर त्यसलाई ठूला राजनितिक दलले वेवास्था नै गरिदिए । नेपालको संविधानको धारा ९ को उपधारा ३ मा राष्ट्रिय फुल, राष्ट्रिय रगं, राष्ट्रिय जनावरी र राष्ट्रिय पन्क्षीको बारे स्पष्ट उल्लेख गरिएता पनि राष्ट्रिय पोसाक के हुने भन्ने विषयमा किट्टान गरिएको छैन् । विश्वमा सबै देशको आआफ्नै राष्ट्रिय पोसाक भएको पाइन्छ । राष्ट्रिय पोसाकले देशको पहिचान झल्काउदछ ।

तर हाम्रो देशमा राष्ट्रिय पोसाक नै नतोकिनु ठूलो दुरभाग्य हो । देशको लामो समयदेखि पहिचान बोकेको र धेरै वर्षदेखि प्रचलनमा रहेको यस पोसाकलाई राष्ट्रिय पोसाकबाट हटाइनुले धेरै नेपालीलाई आघात समेत पुगेको छ । हिन्दुहरुको धार्मिक पुस्तक ऋग्वेद र त्यसपछिको अथर्ववेदमा पोसाकलाई द्रापी शब्द प्रयोग गरिएको छ । त्यहि द्रापीबाट दौरा भएको विश्वास गरिन्छ । यसरी यस पोसाकले हिन्दुहरुको पहिचानलाई समेत बोकेको मान्न सकिन्छ । नेपाललाई धर्म निरिपेक्ष राष्ट्र बनाए यता दौरा सुरुवालको विषयमा विवाद शुरु भएको थियो । विं.सं. २०६४ पछि संविधानसभाको प्रतिनिधित्व गर्ने दलहरु मध्ये माओवादीका संविधानसभा सदस्यहरुले दौरा सुरुवाललाई पुरै बहिष्कार नै गरेका थिए ।

पृथ्वी नारायण शाहले काठमाण्डौं उपत्यका विजय गरे पश्चात पनि दौरा सुरुवाल अस्तित्वमै भएको विश्वास गरिन्छ भने मल्लकालीन राजाहरुले समेत दौरा सुरुवाललाई नै प्रयोग गरेको इतिहास छ । दौरा सुरुवाललाई लबेदा र मयलपोस पनि भनिन्छ । पहाडमा बस्ने सबैजसो नेपाली जातिका लोग्ने मान्छेले दौरा लगाउँछन् । यसले संसारमै छुट्टै पहिचान बोकेको छ । संसारको कुनै पनि मुलुकसँग यस पोसाकको मेल खादैन । प्रयोग गर्न सजिलो भएको हुँदा पनि अहिले युवा पुस्तामा समेत दौराले महत्व स्थान पाएको छ । विवाहदेखि भोज र सभा समारोहमा समेत अहिले युवा पुस्ताले यसलाई प्रयोग गरेको देख्दा यसको पहिचान भने रही रहनेछ ।

दौरासँग सुरूवाल, टोपी र कोट वा इस्टकोट लगाएका मानिसलाई नेपाली भनेर सजिलै चिनिन्छ । विदेशमा कुनै सभा वा समारोहमा यस पोसाक लगाएका व्यक्तिलाई नेपाली हो भनि सबैले चिन्न सक्दछ । नेपालमा रहेका अधिकांश जातजाती तथा भाषीहरुले दौरा सुरुवाललाई महत्वपूर्ण पोसाकको रुपमा स्वीकारेका नै थिए । यसलाई राष्ट्रिय पोसाकबाट हटाउनुपर्ने कुनै पनि कारण थिएन् । नेपालको प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तिहरुले देशको पहिचान बोकेको पोसाकलाई हटाई विदेशीले प्रयोग गर्ने टाई सुट प्रयोग गर्नुले अत्यन्त दुखको विषय हो । ऐतिहासिक महत्वको विषयलाई परिवर्तनको नाऊँमा विस्थापित नै गर्न खोजिनु स्वीकार्य हैन तर पनि नेपालीले भने यस विषयलाई सामन्य रुपमै लिएको बुझ्न सकिन्छ ।

नेपाल सरकारका मन्त्रीहरुले अहिले सपथ ग्रहण गर्दा विभिन्न पोसाक धारण गरेको देखिन्छ । यसले देशको विविधता बुझाउला तर एक राष्ट्रिय पोसाकको रुपमा कुनै पनि पोसाकलाई परिचित भने गराउने छैन् । एउटा सभा समारोहमा समेत उच्च पदस्थ व्यक्तिहरुले राष्ट्रिय पोसाक नभएकै कारण थर थरिका पोसाक लगाउने गर्दछन् । तर पनि सुरक्षा निकाय, निजामति कर्मचारीहरुले भने दौरा सुरुवाललाई नै राष्ट्रिय पोसाककै रुपमा स्वीकारेको प्रष्ट बुझिन्छ । तसर्थ नेपाल र नेपालीको ऐतिहासिक महत्व समेत बोकेको धेरै जातजाती भाषा भाषीहरु तथा विभिन्न भूगोलका नेपालीहरुले समेत स्वीकार्ने दौरा सुरुवाललाई राष्ट्रिय पोसाकको रुपमा संविधानमै लेखि यसको संरक्षण समेत गर्नुपर्ने अवस्था देखिन्छ ।

तपाईको प्रतिक्रिया