सन्धिखर्क, १९ भदौ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १२ बांगलाको जर्रे खोलामा बालबालिकालाई छाडेर बाबुआमा हिँडेपछि तीन बालबालिका वेवारिसे बनेका छन् ।

मालारानी गाउँपालिका हंशपुरमा घर भइ कामको सिलसिलामा डिभर्ना र ठूलापोखराको बीचमा पर्ने जरेखोलामा गिट्टी बालुवा तथा अन्य कामगरी जिबिका चलाइरहेका एक दम्पतीका तीन बच्चा अभिभावक बिहिन भएका हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

दुई बर्षीया बालिका, चार र ६ बर्षका बालक छाडेर आमा अर्कै पुरुषसँग विवाह गरी गएकाले बालबालिका अलपत्र परेका हुन् । आमाले बिचल्ली पारेर गएको दुई महिना जति बुबाले पालनपोषण गरेका थिए।
छोराछोरीको जिम्मेवारीबाट बुबा पनि पन्छिएर हिँडेपछि बालबालिकाका बेवारिसे भएको सन्धिखर्क नगरपालिकाका १२ का वडा अध्यक्ष नारायण खड्काले बताए ।
बच्चालाई छिमेकीले तीन दिनसम्म त कही कतैबाट बुबा आमा आउलान र लैजालान भनेर स्याहार सुसार गरे तर तीन दिनसम्म पनि कोही सम्पर्कमा नआएपछि वडा अध्यक्ष नारायण खड्कालाई खबर गरेका थिए ।

वेवारिसे बच्चा छन् भन्ने स्थानीयले खबर गरेपछि अध्यक्ष खड्काले शनिबार बच्चालाई उनले आफ्नै घरमा ल्याएर राखे ।

सन्धिखर्कमा ल्याइएका बालबालिकालाई स्थानीय पवित्रा भुसाल र गोमा सापकोटा रेग्मीले नुवाइधुवाई गरेर स्याहार सुसार गरेका छन्। स्थानीयले कपडा तथा चप्पलको व्यवस्था गरेपछि बालबालिका अहिले सन्धिखर्कमा छन् ।

अहिले अध्यक्ष खड्का र पत्रकार तथा समाजसेवी सहयोगी बिसीले बच्चाको हेरविचार गरेका छन् । ‘बालबालिकाहरुको आमाबुबा खोज्ने प्रयास गरिरहेका छौँ,’ अध्यक्ष खडकाले भने ।

तपाईको प्रतिक्रिया