काठमाडौं – अानन्द कार्कीको फरक शैलीको गायकीको चर्चा अहिले पनि उत्तिकै छ । आजकाल धेरै गीत रेकर्डिङमा व्यस्त नभए पनि उनलाई पुरानै गीतले अहिलेसम्म चर्चाकै चुलीमा राखिदिएको छ । खासगरी स्टेज प्रस्तुतिका लागि उनलाई देश–विदेशबाट निम्तो आउँछ । तत्कालीन समयमा राजदरबारमा हुने सांस्कृतिक कार्यक्रममा कार्कीलाई पनि निम्तो हुन्थ्यो । अर्थात्, उनी समकालीन राम्रामध्येका गायकमा पर्थे । गायनमा व्यस्त रहने क्रममा उनका जीवनमा दुःख र सुखका कैयौँ घटना निम्तिए । गाउँदागाउँदै दुखद खबर कानमा ठोक्किँदा पनि कैयौँ स्टेजमा उनले गाउन छाडेनन् । बाबुको मृत्युको खबर सुनेपछि पनि स्टेजमा गाएको त्यो घटना उनले नयाँ पत्रिकासँग सम्झिए :

अानन्द कार्की
मेरो बुबाको जागिर भारतको लखनउमा थियो । बुबाको जागिरसँगै हाम्रो परिवारको बसोवास उतै सरेको थियो । ममा सानैदेखि संगीतप्रति रुचि थियो । त्यसैले घरमा संगीत पढ्न पाउनुपर्ने माग गरेको थिएँ । मेरो मागमा परिवारले समर्थन जनायो र लखनउबाटै संगीत सिकाइ सुरु गरेँ ।

भारतखण्डे संगीत महाविद्यालयमा संगीत कक्षा सुरु गरेको थिएँ । त्यतिखेर १५ वर्षको मात्रै थिएँ । संगीत कक्षा लिन सुरु गरेपछि गाउन पनि सुरु गरेको थिएँ । विभिन्न कार्यक्रममा प्रस्तुति दिन पुग्थेँ । नयाँ पत्रिकाले छापेको छ ।

ठ्याक्कै मिति त याद भएन । तर, त्यो मिति मेरो जीवनको सबैभन्दा दुःखको समय बन्यो । एउटा कार्यक्रममा मेरो महत्वपूर्ण ‘पर्फम’ थियो । गाउने अरू पनि थिए । म आफ्नो पालो कुरेर बसिरहेको थिएँ । कसरी उत्कृष्ट प्रस्तुति दिने भन्ने ध्यानमा दिमाग दौडिरहेको थियो । तर, त्यति नै वेला एउटा खबर कानमा ठोकियो । बाबुको मृत्युको खबर थियो, त्यो । आफ्नो करिअरका लागि महत्वपूर्ण अवसर थियो, स्टेज । तर, आफूलाई जन्माउने बाबु झन् महत्वपूर्ण हुनुहुन्थ्यो । तत्काल मन त सम्हालेँ, तर घर जाऊँ कि गीत गाऊँ भन्ने दोधारमा परेँ । मैले तत्काल निर्णय लिनुपर्ने थियो । किनभने मेरो गाउने पालो आइ नै सकेको थियो ।

मैले गीत गाएर मात्रै स्टेज छाड्ने निर्णय लिएँ । मन सम्हालेर गीतमा ध्यान दिएँ । उपस्थित दर्शकलाई सांगीतिक रमाइलोमा भुलाएँ । तर, मेरो मन निकै पीडामा थियो । गीत गाइसकेपछि मनले ठान्यो, कलाकारको जीवन भनेकै यस्तै रहेछ । चित्त बुझाउँदै मृत्युवरण गरिसक्नुभएका बाबुलाई हेर्न गएँ ।

तपाईको प्रतिक्रिया