एजेन्सी । सोनी च्यानलबाट प्रसारण हुँदै आएको कमेडी सो ‘द कपिल शर्मा सो’ बन्द भएको छ । सहकर्मी सुनील ग्रोबरसँगको झगडापछि आलोचित कपिलको सोको टिआरपी घटिरहेको आरोप लागेको थियो । एकपटक सोनीले कार्यक्रम नै बन्द गर्नेसम्मको चेतावनी दिएको थियो । तर, पछिल्लो समय टिआरपी उकासिएको भन्दै सो एक वर्ष थप लम्ब्याउने सहमति भएको थियो ।

तर, फेरि एकाएक किन कपिलको सो बन्द भयो ? यसबारे सोनीले एक विज्ञिप्ति नै निकालेर जानकारी दिएको छ । च्यानलले कपिलको स्वास्थ्य ठीक नभएका कारण सो बन्द गर्नुपरेको जनाएको छ । कपिलको अस्वस्थताकै कारण नयाँ एपिसोडको सुटिङ हुन नसकेपछि बन्द गरिएको हो । अहिले सोनीले पुरानै सो पुनः दोहोर्‍याइरहेको छ । नयाँ पत्रिकाले छापेको छ ।

सोनीले कपिलको स्वास्थ्य ठीक नभएसम्म र नयाँ एपिसोड सुटिङ नभएसम्म पुरानै सो पुनः प्रसारण गर्ने बताएको छ । यसैबीच, कमेडियन सुनील ग्रोबर पनि अस्पताल भर्ना भएका छन् । उनलाई डेंगु लागेको खबर छ । उनलाई मुम्बईको एसियन हार्ट अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यममा खबर छ । तर, उनको थप अवस्थाबारे भने कुनै जानकारी दिइएको छैन ।

तपाईको प्रतिक्रिया