काठमाडौँ । सिरहा जिल्लामा महिलाको चुल्ठो काट्ने आतंकले सर्वसधारण आतंकित भइरहेका बेला एक महिलाको शुक्रबार साँझ मृत्यु भएको छ । चुल्ठो काटिएर घाइते बनेकी सुखिपुर नगरपालिका– ७ की २५ वर्षीया लक्ष्मीनिया मुखियाको उपारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहालाले जनाएको छ ।

प्रहरीका अनुसार पीडित परिवारका अनुसार शुक्रबार मध्यान्हपछि घरमा कोही नभएको बेला ती महिलाको चुल्ठो काटिएको हो । चुल्ठो काटिएपछि बेहोस भएकी मुखियालाई लहानस्थित ओम गुरुकुल पोलिक्लिनिकमा उपचारका लागि ल्याइएको ३ घण्टापछि मृत्यु भएको अनुसन्धानमा खटिएका अधिकारीहरुले जनाएका छन् ।

पछिल्लो २ हप्तामा सिरहाको लहान, गोलबजार, मिर्चैया, सारश्वर गरी १५ भन्दा बढी महिलाको चुल्ठो काटिएको छ भने सर्वसाधारण यो घटनाकाले आतंकित नै बनेका छन् ।

घटनाका विषयमा कसैले अदृष्य शक्तिले चुल्ठो काटेको त कसैले किराले चुल्ठो काटेको त कसैले महिलाहरु स्वयमले चुल्ठो काटेको विश्लेषण गरिरहेका छन् । घटनाका विषयमा प्रहरी र चिकित्सकको टोलीले सुक्ष्म रुपमा थप अध्ययन गरिरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया