काठमाडौं ।
कोमल : मन्त्री हुँदा कस्तो अनुभव भइरहेको छ ? मन्त्रालयमा काम गर्ने वातारण कस्तो छ ?
आशा : अहिले मलाई गम्भीर ढंगले जिम्मेवारी बोध भएको छ । विगतमा लिएको लक्ष्य र गरेको संघर्षको प्राप्तिलाई व्यवहारमा कार्यान्वयन गर्न सके मात्र सार्थक हुन सक्छ भन्ने अनुभूति गरिरहेको छु । मन्त्रालयमा काम गर्ने वातारण ठीक छ ।
मन्त्री हुनुपहिले र मन्त्री भइकेपछि तिज मनाउँदा कस्तो महसुस हुँदै छ ?
आशा : मैले बुझेदेखि नै तिजलाई महिला मुक्तिको सन्देश प्रवाह गर्ने उपयुक्त माध्यम ठानेर सामाजिक, सांस्कृतिक रूपान्तरणको पक्षमा मनाइँदै आइयो । हिजो र आज मेरो तिज मनाउने र बुझाइ उस्तै छ । भविष्यमा पनि मेरो बुझाइमा परिवर्तन हुँदैन । थप परिस्कृत हुन सक्छ । समयअनुसार हुनुपर्छ भन्ने मान्यता राख्छु । फरक यत्ति हो हिजोभन्दा आज धेरै समुदायमा पुग्छु ।
कोमल : तिजमा व्रत बस्नुहुन्छ कि हुँदैन ? यस्ता कुरामा कत्तिको विश्वास गर्नुहुन्छ ?
आशा : म व्रत कहिल्यै बसिनँ र बस्दिन पनि । किनभने परम्परागत मान्यतामा तिजको व्रत बस्ने कारणप्रति मलाई विश्वास छैन र हिजोको पितृसत्तात्मक, सामन्ती, संस्कृतिलाई परिवर्तन गर्नका लागि गरिएका हरेक संघर्षमा मेरो सक्रिय सहभागिता छ । व्रतको विषयमा म महिलाको पक्षमा छैन ।

कोमल : तपाईंहरूको पार्टीले त धर्म मान्दैन क्यारे, तर धार्मिक मान्यतामा आधारित तिजलाई चाहिँ कसरी हेर्नुहुन्छ ?
आशा : मेरो पार्टी माओवादी केन्द्र धर्म नमान्ने होइन कि, धार्मिक स्वतन्त्रताको पक्षपाती हो । राज्यको धर्म हुँदैन । तर, नागरिक धर्म मान्ने, नमान्ने कुरामा स्वतन्त्र हुन्छ भन्ने मान्यता राख्ने धर्म निरपेक्षताको पक्षपाती हो ।
कोमल : तिज त बाढीपीडित महिलाहरूलाई पनि आउला, त्यहाँका महिलालाई तिज आएको महसुस गराउन मन्त्रालयले केही तयारी गरेको छ ?
आशा : पर्व सबैलाई आउँछ । बाढीपीडित, सुकुम्बासी, भूमिहीन, विपन्न, हिंसापिडित सम्भ्रान्त वर्ग सबैले आ–आफ्नो सापेक्षतामा इच्छाअनुसार मनाउने हो । तिजका लागि मन्त्रालयले कुनै कार्यक्रम ल्याएको छैन । पीडितको उद्घार र राहतमा केन्द्रित छौँ ।

कोमल : बाढीपीडितलाई सरकारले वास्ता गरेनभन्दै चौतर्फी विरोध भइरहेको छ, तपाईंले चाहिँ बाढीपीडितको राहत र उद्धारमा के गर्नुभयो ?
आशा : बाढीपीडितलाई सरकारले वास्ता गरेन भन्ने कुरामा म सहमत छैन । किनकि विशेष योजनाका साथ सरकार बाढीपीडितको उद्धार र राहतमा सम्पूर्ण शक्ति केन्द्रित गर्दै गम्भीर ढंगले लागेको छ । ०७२ को भूकम्पले निम्त्याएको विपत्ति र पीडितको उद्घार, राहत र पुनस्र्थापनाबाट सन्तोष लिन नसकेको स्थितिबाट पाठ सिक्दै अहिले एकद्वार प्रणालीबाट उद्धार र राहतमा जुट्दै पुनस्र्थापनाका लागि तथ्यांक संकलनमा समेत जुटिसकेका छौँ । यसर्थ अहिलेको सरकारको क्रियाकलाप अत्यन्त प्रभावकारी रहेको मेरो दाबी छ । विरोध त सधैँ भइरहन्छ । राम्रो वा नराम्रो जे गर्दा पनि आउने चलन नै बसिसक्यो । तर, पीडितले राहतको महसुस गरिरहेका छन् । म अहिले नेपाल सरकारको योजनाअनुसार नै क्रियाशील छु ।

कोमल : महिला र बालबालिकाको मन्त्री हुनुहुन्छ । विशेष गरी एकल महिलाका लागि थप कस्तो योजना बनाउनुभएको छ ? के उनीहरुलाई भत्ता मात्र दिएर पुग्छ ?
आशा : सर्वप्रथम त ‘एकल महिला’ भनेर सम्बोधन गरेको मलाई राम्रो लाग्दैन । किनकि हामी यति ठूलो समाजमा बस्छौँ, परिवारमा बस्छौँ, श्रीमान् बित्नेबित्तिकै म एकल भएँ भनेर हीनताबोध गर्नुहुँदैन । म आफैँमा पूर्ण मानव हुँ भनेर सम्झनुपर्छ । महिला सबैका लागि कुरीति अन्त्य गर्ने, अपराधको अन्त्य गर्ने र महिलालाई आत्मनिर्भर बनाउन रोजगारमूलक आर्थिक कार्यक्रम ल्याउने सोचमा छु । जसले महिलाको आत्मविश्वास बढोस् र हरेक कामका निम्ति सक्षम बनुन् ।
कोमल : अपांगता भएकाहरुका लागि वर्ग निर्धारण गरिन्छ, तर त्यो उपयुक्त ढंगले भएको पाइँदैन भनिन्छ । यसलाई कसरी हेर्नुभएको छ ?
आशा : अपांगताको वर्गीकरण चार प्रकारले गरिएको छ । वर्गीकरण नमिलको हो कि वा फेरि वर्गीकरण गर्नुपर्छ भन्ने आवाज उठिरहेको छ । त्यसैले मैले सम्बन्धित वर्ग र मन्त्रालयमा छलफल चलाउने योजनाअनुरूप तयारी गरिरहेकी छु । नयाँ पत्रिकाले छापेको छ ।

कोमल : अहिले पनि छाउपडी प्रथा कायमै छ । यसलाई हटाउन कस्तो योजना बनाउनुभएको छ ?
आशा : हो, अहिले पनि हाम्रो समाजमा छाउपडीजस्ता कुसंस्कार कायम नै छन् । यो परम्परागत कुसंस्कार हो, जसका कारण महिला हिंसामा परिरहेका छन् । र, कतिपयले मृत्युवरणसमेत गर्नु परिरहेको तितो यथार्थ छ । यस्तो कुसंस्कार जुन प्राकृतिक प्रक्रियालाई समेत अपराधका रूपमा लिइन्छ । अब यस्ता कुसंस्कारलाई हटाउन हरेक ७४४ स्थानीय तहमा ¥यापिट रेस्पोन्स एक्सन ग्रुप निर्माण गरी स्थानीय सरकारबाटै परिचालित भइ सम्बन्धित स्थानमा पुगेर आवश्यकता अनुसारको काम गरी प्रभावकारी बनाउने योजना बनाइरहेकी छु ।

तपाईको प्रतिक्रिया