काठमाडौं । २ सय ५० वर्षभन्दा लामो इतिहास बोकेको नेपाली सेनामा महिला सैनिकलाई सेनापति बन्नसक्नेसम्म बाटो खुला भएको छ।

२०७४ सालदेखि सैनिक कमान्ड तथा स्टाफ कलेजको प्रवेश परीक्षामा महिला सैनिकलाई सरिक गराउने निर्णय भएसँगै महिलासमेत प्रधानसेनापति बन्न सक्ने अवसर सिर्जना भएको हो। यो प्रावधानसँगै महिला सैनिकले सेनाको उच्च तहको नेतृत्व अवसर पाउने भएका हुन्।

नेपाली सेनामा स्टाफ कलेज उत्तीर्ण गर्न जटिल तथा चुनौतीपूर्ण छ। स्टाफ कलेज उत्तीर्णहरूले आन्तरिक तथा बाह्य सुरक्षा अवस्थाको मूल्यांकन गर्न, आन्तरिक योजना बनाउन र त्यसको कार्यान्वयन गर्ने क्षमता अभिवृद्धि विकासमा भूमिका खेल्ने गर्छ।

सैनिक संगठन निर्देशनालयका प्रमुख सेनानी इन्द्रकुमार रानाभाट महिला सैनिकलाई पुरुष अधिकृतसरह माथि जाने अवसर पाप्त भएको बताउँछन्। ‘सेनामा समावेशिता र महिला सहभागितालाई महत्व दिइएको छ। अब पुरुषसरह उच्च तहको नेतृत्व गर्न सक्नेछन्,’ उनले भने।यही वर्ष सेनामा महिलाका लागि महिलाकै नेतृत्वमा छुट्टै गुल्मसमेत स्थापना भएको छ। गोरखकाली महिला गुल्मको गुल्मपति मेजर सृष्टि खड्का छिन्।

हाल उनको नेतृत्वमा सो गुल्ममा १ सय ४० महिला सैनिक रहेका छन्। सेनामा हाल ४ हजार ८ सय महिला सैनिक कार्यरत रहेको जनसम्पर्क तथा सूचना निर्देशनालयका प्रमुख सेनानी बिमलराज शर्मा बताउँछन्। पुरुषको संगठनका रूपमा रहेको सेनामा महिला सैनिकको प्रवेशलाई सहज र सुरक्षित महसुस बनाउनका लागि लैंगिक आचरणसम्बन्धी निर्देशिका, २०७० लागू गरिएको छ।

जसले सेनामा महिलाको प्रवेशलाई सहज बनाएको रानाभाट बताउँछन्। ‘महिलामैत्री वातावरण सिर्जना गर्नका लागि यो निर्देशिकाले महत्वपूर्ण भूमिका खेलेको छ,’ उनी भन्छन्। उसो त सैनिक सेवामा महिलाको प्रवेश २०१७ सालबाट नै सैनिक उपचारिकाको रूपमा भएको हो। २०२१ सालमा प्यारा फोहडर, २०२५ मा चिकित्सकका रूपमा महिलाको सेनामा प्रवेश भएको हो। आजको राजधानी दैनिकले खबर छापेको छ।

तपाईको प्रतिक्रिया