भक्तपुर । वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्प र त्यसपछिको पराकम्पले हल्लाएको भक्तपुर नगरपालिका ४ टौमढीस्थित प्रसिद्ध भैरवनाथ मन्दिर कुनै पनि बेला भत्किन सक्ने सम्भावना बढेको छ। भूकम्पले थिलथिलो बनाएको मन्दिर करिब ६ इन्च जमिनमा भासिएको मन्दिरका नाइके कृष्णभक्त छुकां बताउँछन्।

उनले बेलैमा मन्दिर पुनर्निर्माण नगरिए कुनै पनि बेला मन्दिर भासिएर भत्कनसक्ने बताए। उनका अनुसार मन्दिरको बाहिरी गार्‍हो र भित्री दलानबीच औला छिर्ने प्वाल बनेका छन्। ‘मन्दिरको भित्री गार्‍हो चर्किएर दलिनको रुपमा राखिएका काठहरुले ठाउँ छोडेका छन्’, नाइके छुकांले भने, ‘माथिल्लो तलाको छानाको भार थाम्न राखिएका थामहरुले समेत ठाउँ छाडेका छन्। अब फेरि ठूलो भूकम्प आयो भने माथिल्लो छाना गल्र्याम्म झर्न सक्छ।’

उनले मन्दिर जोखिमपूर्ण अवस्थामा रहेकाले आफूहरु ज्यान हत्केलामा राखेर दैनिक पूजाआजामा सहभागी हुँदै आएको सुनाए। मन्दिर जोखिमपूर्ण अवस्थामा रहेकाले सुरक्षित बनाउँदै पुनर्निर्माण गर्न नगरपालिका र पुरातत्व विभागको ध्यानाकर्षण गरिँदा पनि हालसम्म सुनुवाइ नभएको अर्को भैरव नाइके रामकृष्ण नागा बताउँछन्।

‘भूकम्प आएको तीन वर्ष पुग्न लागिसक्यो तर मन्दिर पुनर्निर्माण गर्न पटकपटक नगरपालिका र पुरातत्व विभागको ध्यानाकर्षण गरिँदा पनि सुनुवाइ भएको छैन’, भैरव नाइके नागाले भने। उनले मन्दिरमा पुगेको क्षतिबारे नगरपालिका र विभागका प्रतिनिधिहरुलाई ल्याएर देखाइसकेकोसमेत जानकारी दिए।

माथिल्लो तलाको छानामुनि चारैतिर रहेका अधिकांश तिकिझ्याः (आँखीझ्याल) झरेका छन्। तिकिझ्याः अड्याउन बनाइएका गार्‍होसमेत भत्किएका छन्। बाँकी तिकिझ्याः समेत कुनै पनि बेला खस्नसक्ने अवस्थामा छन्। अन्नपुर्णपोष्टमा समाचार छ ।

त्यस्तै मन्दिरका भित्री गार्‍हो चर्किएका छन्। गार्‍हो चर्किएर ठाउँ ठाउँमा रहेका दलिनका काठहरुले ठाउँ छाडेका छन्। पानीले भिजेर दलिनहरु कुहिन थालेका छन्। ढुसी नै ढुसी रहेका काठहरु मक्किएर जुनसुकै बेला मन्दिर भत्किन सक्ने मन्दिरका नाइके छुंका बताउँछन्।

तपाईको प्रतिक्रिया