रत्ननगर (चितवन), १४ भदौ । राप्ती नदीको बाढीले बगर बनाएको नेपालकै तेस्रो पर्यटकीय नगरी सौराहाको राप्ती किनार क्षेत्रलाई पुरानै स्वरुप दिने प्रयास शुरु भएको छ । यहाँका झण्डै एक दर्जन रेस्टुराँ बगरमा परिणत भएका छन् ।

अहिले आफ्नो जग्गा छुट्याएर माटो पुर्ने काम शुरु भएको रेस्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (क्षेत्रीय रेबान) चितवनका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिनुभयो । राम्ररी काम गर्न पाएमा एक÷डेढ महिनामा राम्ररी सेवा दिन सकिने गिरीको भनाइ छ ।

साउन २८ गते राति आएको बाढीले पूरै सौराहालाई नै प्रभावित पारेको थियो । त्यसमध्ये कतिपय होटलले सेवा दिन शुरु गरे पनि कुनै अवशेष नै बाँकी नरही बगरमा परिणत भएका रेस्टुराँ अझै उठ्न सकेका छैनन् । कतिपय होटलको तल्लो भागमा ठूलो क्षति भएकाले पुरानै अवस्थामा फर्काउन समय लाग्ने भएको छ । “अब काम शुरु गरेका छौँ,” सौराहा बीच रेस्टुरेन्टका सञ्चालक बलराम दाहालले भन्नुभयो, “अझै पुरानो अवस्थामा आउन कम्तीमा डेढ महिना लाग्छ ।”

सौराहामा बढी पर्यटकीय चहलपहल हुने राप्ती किनार हो । साँझ यहाँ आएर पर्यटकले नदी किनारको मज्जा लिने र रमाइलो गरेर चिसो हावामा रमाउने गर्छन् । पारि चितवन निकुञ्ज भएकाले बेलाबेलामा जंगली जनावर पानी खान राप्ती आउँदा सहजै देख्न पाइन्छ ।

विपद्अघि हरेक होटलमा बस्ने पर्यटकको साँझको रोजाइ राप्ती किनार हुन्थ्यो । पर्यटक आउने भएकाले व्यवसायीले पनि किनारलाई सजिसजाउ र झकिझकाउ बनाएका थिए । तर अहिले किनारका ती संरचना बगर बनेका छन् ।

सौराहा बीच रेस्टुरेन्ट, राप्ती बीच रेस्टुरेन्ट, सन्सेट भ्यू रेस्टुरेन्ट, राप्ती रेस्टुरेन्ट, सेन्ट्रल बीच, टपटेन रेस्टुरेन्ट, टिफिन हाउस रेस्टुरेन्ट र रिभर बीच रेस्टुरेन्ट बिलाएका छन् । सँगै रहेको होली जंगल पव र टाइगर क्याम्पको भौतिक संरचना केही जोगिए पनि ठूलो क्षति भएको छ । ती सबै रेस्टुराँ बगरमा परिणत भएपछि व्यवसायी प्रभावित भएका छन् । गएको साउन २८ गते भीषण वर्षासँगै राप्ती नदीमा आएको बाढीले सौराहाका पव र रेस्टुराँ दिउँसो डुबानमा प¥यो । त्यसको साँझ बाढी घटेपछि अब त जोगिने भो भन्ने आशा पलाएको थियो व्यवसायीमा । तर त्यो आशा चार घण्टा नबित्दै चकनाचुर भयो । राती १०–११ बजेतिर भीषण बाढी आएर किनारका रेस्टुराँ बगर बनाइदियो ।

सौराहाकै गहना बन्ने गरेको राप्ती किनारको त्यो पव रेस्टुरेन्ट भोलिपल्ट बिहान हेर्दा कहाँ थियो भन्न नसक्ने गरी बगरमा परिणत भएको थियो ।

“अब त बाढी आउँदैन होला भनेर ढुक्क भएका थियौँ,” त्यो दिन सम्झँदै व्यवसायी बलराम दाहालले भन्नुभयो, “राति १०ः३० बजेपछि यति छिटो बाढी आयो कि १५ मिनेटमै जानै नसक्ने भो ।”

रत्ननगर नगरपालिका–६ का वडाध्यक्षसमेत रहनुभएका दाहाल विभिन्न क्षेत्रका ड्याम नाघेर बाढी आएकाले अब ठूलो र अग्लो ड्याम आवश्यक भएको औँल्याउनुहुन्छ । दाहाल आफ्नो रेस्टुराँ र भौतिक सम्पत्ति गरेर करिब रु ७० लाखको क्षति भएको बताउनुहुन्छ । सौराहाका व्यवसायीले क्षतिको विवरण संकलन गरेर नगरपालिकामा बुझाएका छन् ।

होटलमा करिब रु १५ करोडको क्षति भएको तथ्याँक क्षेत्रीय होटल सङ्घ चितवनले सार्वजनिक गरेको छ । रेस्टुराँ व्यवसायको मात्रै रु पाँच करोड ४१ लाखको क्षति भएको बताउनुहुन्छ क्षेत्रीय रेबान सौराहाका अध्यक्ष गोकर्ण गिरी । यसमा ४३ वटा रेस्टुराँ आवद्ध छन् । यहाँ करिब ६० रेस्टुराँ र ११० होटल सञ्चालनमा थिए । दैनिक दुई हजार ८०० पर्यटक बस्न सक्ने क्षमता सौराहामा छ । हात्ती सफारी, जिप सफारी, डुंगा सफारी गर्न, अनि चितवन निकुञ्जका गैँडा, बाघलगायतका वन्यजन्तु अवलोकनका लागि पर्यटक आउँछन् ।

दुई वर्ष अगाडि विनाशकारी भूकम्प आएको समयमा सौराहाका होटल भरिभराउ थिए । त्यसलगत्तै भएका पर्यटक घर फिर्ती भए भने आउन लागेका पर्यटक बन्द भए । सौराहा घुम्न भनेर बुकिङ गरेका पर्यटकले सबै योजना रद्द गरे ।

“एकवर्षभन्दा बढीको बुकिङ थियो, सबै पर्यटकले क्यान्सिल गरेका थिए भूकम्पका बेला,” क्षेत्रीय होटल सङ्घका कोषाध्यक्ष शिरलाल परियाल सम्झनुहुन्छ । केही महिनापछि विस्तारै जनजीवन सामान्य हुँदै गयो । अनि सौराहा सुरक्षित छ भन्ने सन्देश बाहिरसम्म पुगेकाले पर्यटकको चहलपहल शुरु भएको थियो । त्यहीबेला एक्कासि भारतको नाकाबन्दी खेप्न पुगे पर्यटन व्यवसायीले ।

“भूकम्पले खासै ठूलो असर गरेको थिएन, जति नाकाबन्दीले असर ग¥यो,” सङ्घका महासचिव राममणि खनालले भन्नुभयो, “नाकाबन्दीको असर अझै बाँकी रहँदा बाढीले थप पीडामा पा¥यो ।” बाढीपछि अलिअलि पर्यटक आउन थालेको उल्लेख गर्दै खनालले होटलले पर्यटकलाई सेवा दिन थालेको भए पनि पव रेस्टुरेन्ट बन्ने क्रम बल्ल शुरु भएको बताउनुभयो ।

यो दुई–तीन वर्ष राम्ररी पर्यटक नआउँदा सौराहाका व्यवसायी करोडौँ ऋणमा परेका छन् । बैंकको ब्याज कसरी तिर्ने भन्ने समस्या भइरहेका बेला बाढीले व्यवसायीमाथि अर्काे समस्या थपिदिएको छ । सौराहाको चितवन गैँडा लजका सञ्चालक टीकाराम गिरी २०५९ सालको बाढीभन्दा ठूलो बाढी यसपालि आएको बताउनुहुन्छ । जंगली जनावर नआओस् भनेर लगाइएको कंक्रिटको पर्खालका कारण पनि व्यवसायीले थप क्षति व्यहोरेको गिरी दाबी गर्नुहुन्छ । “बाढी आफैँ बग्दै जान्थ्यो खासै असर हुन्थेन, तर हात्तीसारतर्फ कंक्रिट पर्खाल लगाएकाले बाढी जम्मा हुँदै आयो,” गिरीले भन्नुभयो, “अनि गेट राखिएको विभिन्न ठाउँबाट एक्कासि एकैचोटि बाढी पस्दा ठूलो क्षति हुनपुग्यो ।

तपाईको प्रतिक्रिया