काठमाडौँ- उत्तर कोरियाले मंगलबार बिहान ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । सो क्षेप्यास्त्र जापानको उत्तरी हकाइदो टापु भएर समुन्द्रमा खसेको छ । उत्तर कोरियाली प्रायद्वीपमा तनाव बढिरहेका वेला प्योङयाङले पुनः क्षेप्यास्त्र प्रहार गरेको हो । क्षेप्यास्त्र स्थानीय समयअनुसार बिहान ६ बजे राजधानी प्योङयाङबाट प्रहार गरिएको दक्षिण कोरियाले जनाएको छ ।

जापानलाई गम्भीर खतरा
जापानी प्रधानमन्त्री सिन्जो अबेले उत्तर कोरियाद्वारा गरिएको पछिल्लो क्षेप्यास्त्र परीक्षणलाई ‘अनौठो, गम्भीर र देशका लागि खतरनाक’ भएको टिप्पणी गरेका छन् । जापानको उत्तरी हकाइदो टापुको करिब तीन सय किलोमिटरसम्म यो क्षेप्यास्त्र पुगेको थियो । उत्तर कोरियाली क्षेप्यास्त्र जापानी आकाशमा पुगेपछि त्यहाँ सूचना गराउने साइरन बजेको र सरकारले आफ्ना नागरिकलाई भुइँतला वा पक्की घरभित्र लुक्न आग्रह गरेको थियो । सन् १९९८ र २००९ मा उत्तर कोरियाले फालेको रकेट जापानको आकाशमा पुगेको थियो । प्योङयाङले यसलाई सेटलाइट परीक्षण बताएको थियो । मंगलबार प्रहार गरेको मिसाइलले घातक आणविक हतियार बोक्न सक्ने टोकियोले अनुमान गरेको छ । पछिल्लो क्षेप्यास्त्र प्रहारपछि जापानी प्रधानमन्त्री अबेले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोनवार्ता गरेका थिए । उत्तर कोरियाका आणविक गतिविधि घटाउने विषयमा प्योङयाङलाई दबाब दिने उनीहरूबीच सहमति भएको थियो । प्रहारले अमेरिकालाई कुनै खतरा नभएको तर सो विषयमा अमेरिकी सेनाले अझै बढी सूचना संकलन गरिरहेको उनले बताए ।

अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रिया
उत्तर कोरियाले गरेको पछिल्लो यो क्षेप्यास्त्र परीक्षणको जापान, अमेरिका, बेलायत, अस्ट्रेलिया र दक्षिण कोरियाले निन्दा गरेको छ । प्योङयाङले हालै अमेरिकी मूल भूमिसम्म मार हान्न सक्ने अन्तरमहादेशीय क्षेप्यास्त्रको सफलातापूर्वक परीक्षण गरेकोे बताउँदै आएको छ । उत्तर कोरियाले गत शुक्रबार र शनिबार पनि छोटो दूरीमा हान्न सक्ने तीनवटा क्षेप्यास्त्र परीक्षण गरेको थियो ।

मिसाइल खसाल्न जापानले कुनै पहल गरेन

मिसाइल खसाल्न जापानले कुनै पहल गरेको थिएन, तर नागरिकलाई सुरक्षित क्षेत्रतर्फ बस्न आग्रह गरेको थियो । अमेरिका र जापानी सेनाले होकाइदोमा संयुक्त अभ्यास पूरा गरेका छन् भने दशौँ हजार दक्षिण कोरियाली र अमेरिकी सेनाको संयुक्त सैन्य अभ्यास दक्षिण कोरियामा भइरहेको छ ।

कोरियाली प्रायद्वीपको तनाव उत्कर्षमा पुगेको चीनले टिप्पणी गरेको छ । तर, उत्तरका उत्तेजक गतिविधिमा दक्षिण कोरिया र अमेरिका जिम्मेवार भएको उसले आरोप लगाएको छ । अमेरिकाले केही मुलुकसँग बारम्बार सैन्य अभ्यास गरेर उत्तर कोरियालाई तनाव दिएको पनि उसले जनाएको छ । उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको बडापत्रमा उल्लेखित सिद्धान्तहरू पालना गर्नुपर्ने चीनले जनाएको छ ।

सुरक्षा परिषद्को आकस्मिक बैठक
उत्तर कोरियाले पुनः ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि मंगलबार राति सुरक्षा परिषद्को आकस्मिक बैठक बस्ने भएको छ । जापान र अमेरिकाको अनुरोधमा सुरक्षा परिषद्को बैठक बस्न लागेको हो । जापान र अमेरिकाका साथै दक्षिण कोरिया, अस्ट्रेलिया र ब्रिटेनले पछिल्लो क्षेप्यास्त्र परीक्षणको निन्दा गरेका छन् ।

‘अमेरिकालाई उचित जवाफ’
संयुक्त राष्ट्रसंघका लागि उत्तर कोरियाली दूत हान ताई सोङले आफ्नो देशको पछिल्लो कदमको बचाउ गरेका छन् । अमेरिका र दक्षिण कोरियाले गरेको सैन्य अभ्यासको जवाफस्वरूप सो क्षेप्यास्त्र प्रहार गरिएको सोङले बताए । ‘बारम्बारको चेतावनीका बाबजुद संयुक्त सैन्य अभ्यास गरेर अमेरिकाले सार्वजनिक रूपमा नै उत्तर कोरियाविरुद्ध शत्रुतापूर्ण गतिविधिलाई निरन्तरता दिएको छ । आत्मरक्षाका लागि उत्तर कोरियाले गरेको पछिल्लो कदम निकै तार्किक र न्यायसंगत छ,’ जेनेभामा आयोजित निशस्त्रीकरणसम्बन्धी सम्मेलनमा उनले भने । तर, सोही सम्मेलनमा सहभागी अमेरिकी दूत रोबर्ट वुडले उत्तर कोरियाले तत्काल आफ्ना गतिविधि रोक्नुपर्ने बताए । उनले भने, ‘मंगलबारको प्रक्षेपण उत्तर कोरियाले गरेको अर्को उत्तेजक कार्य हो । उनीहरूले यस्ता गतिविधि तत्काल रोक्नुपर्छ ।’ कोरियाली गतिविधिले विश्व समुदाय चिन्तित बनेको उनले बताए ।

सबै विकल्प खुला
उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्योङयाङविरुद्ध ‘सबै विकल्प खुला’ रहेको टिप्पणी गरेका छन् । तर्साउने र अस्थिरता निम्त्याउने कार्यले उत्तर कोरियाली सरकार समग्र विश्व समुदायबाट एक्लिन थालेको उनले बताएका छन् । ‘अन्य मुलुकलाई तर्साउने र अस्थिरता निम्त्याउने कार्यले उत्तर कोरियाली सरकार विश्व समुदायबाट एक्लिँदै छ,’ ह्वाइटहाउसद्वारा जारी विज्ञप्तिमा भनिएको छ । नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया