काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै पूर्वप्रधानमन्त्री एवं एमाले नेता माधवकुमार नेपालसँग स्पष्टीकरण मागेको छ । नेता नेपालले पार्टीको निर्वाचन चिह्न अंकित टोपी लगाई वीरगन्जमा सोमबार प्रचारप्रसारमा संलग्न भएको भन्दै आयोगले स्पष्टीकरण मागेको हो ।

आयोग बैठकले नेपाललाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ । आयोगले मोटरसाइकल र्‍याली गरेको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा) का केन्द्रीय सदस्य रामबाबु सिंह र सिरहा गोलबजार नगरपालिकाका मेयर आकांक्षी श्याम श्रेष्ठसँग पनि स्पष्टीकरण मागेको छ । कान्तिपुरले छापेको छ ।

आयोगले राजपालाई राजनीतिक दलविरुद्ध लक्षित विरोध कार्यक्रम नगर्न सचेत गराएको छ । राजपा कार्यकर्ताले जनकपुर पुगेका एमाले नेता माधवकुमार नेपालविरुद्ध लक्षित गर्दै ढुंगा प्रहार गरेको र कालो झन्डा देखाएको जानकारी आएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया