कालिका खड्का/ काठमाडौँ, १३ भदौ । मकवानपुरकी रश्मि (नाम परिवर्तन) विश्वकर्माको १६ वर्षको उमेरमा प्रेम विवाह भयो । विवाहको एक वर्षपछि रश्मिका श्रीमान् रमेश पैसा कमाउन कुबेत गए । श्रीमतीलाई पैसा पनि पठाउन थाले । रश्मिका दिनहरु राम्रैसँग बित्दै गए ।

समय बित्दै जाँदा रश्मिको अर्को केटासँग निकटता बढ्दै गयो । श्रीमान् तीन वर्षपछि खाडीबाट नेपाल फर्किए । विमानस्थलमा रश्मिकोे प्रतीक्षामा बसिरहेका रमेशले थाहा पाए कि त्यही दिन रश्मि अर्कै केटासँग गइन् । रमेशले कमाएको पैसा अनि सम्बन्ध पनि त्यही दिनदेखि सकियोे । रमेश एक्ला भए ।

वैदेशिक रोजगारका क्रममा पुरुषकै कारण पनि धेरै घरबार उजाडिएका उदाहरण छन् । झापा धरमपुरका मनमाया (नाम परिवर्तन) लिम्बू घरमा आर्थिक अवस्था कमजोर भएपछि वैदेशिक रोजगारमा गइन् । दुई सन्तानकी आमा मनमायाको कमाइबाट परिवार राम्रै चल्दै थियो ।

पैसा कमाएर उनले आफ्ना पति मोहनलाई विदेश पठाइन् । पाँच वर्षपछि श्रीमान् फर्के तर साथमा एक महिला थिए । मनमायाका श्रीमान्ले दिदी भनेर मनमायालाई चिनाए पनि ती महिलाले मोहन आफ्नी पति भएको जानकारी दिइन् । परिवारका लागि खाडीमा गरेको मनमायाको संघर्ष व्यर्थमा गयो ।

वैदेशिक रोजगार मात्र परिवार विखण्डनको कारण होइन । अरु पनि धेरै कारण छन् । कामकाजी महिला आफ्नै कार्यालयमा असुरक्षित हुँदा पनि घरबार बिग्रिएको छ । भक्तपुरकी मीरा श्रेष्ठ (नाम परिवर्तन) काठमाडौँको एक प्रसिद्ध संस्थामा सरसफाइको काम गर्थिन् ।

दुई सन्तानकी आमा मीरा एकदिन कार्यालय समय सकिएपछि हाकिमबाट बलात्कृत भइन् । गुहार मागे पनि कार्यालयमा सुन्ने कोही थिएन । केही दिनपछि कार्यालयमा हल्ला भयो । कार्यालयबाट हाकिम र मीरा दुवैलाई निकालियो । मीरालाई परिवार र माइती दुवैले तिरस्कार गरे । मीरा मानसिकरुपमा विक्षिप्त भइन् ।

पछिल्लो समयमा सामाजिक सञ्जाल खास गरी फेसबुकका कारण पनि धेरैको परिवारमा संकट निम्तिएको छ । काठमाडौँको कपनमा बस्ने कमला गुरुङ (नाम परिवर्तन) को प्रेम गुरुङसँग विवाह भएको एकवर्ष मात्र भएको थियो । कुनै समस्या थिएन । गत महिना कमलाले फेसबुकमा आफ्नो पति अर्कै केटीसँग बसेको फोटो देखिन् तर, वास्ता गरिनन् । त्यसको एकहप्तामै प्रेमले प्रेमिकालाई लिएर विवाह गर्न पोखरा गएको खबर आयो ।

माथि उल्लिखित सम्बन्धविच्छेदका घटना केही उदाहरण मात्र हुन् । सम्बन्धविच्छेदका कारणमा वैदेशिक रोजगार, अन्तरजातीय विवाह, घरेलु हिंसा, बालविवाह, कुटपिट, देखासिकी, पश्चिमाको प्रभाव, लिभिङ टुगेदर, व्यभिचार र सामाजिक सञ्जाल देखिएका छन् ।

अदालती अभ्यासलाई हेर्दा अधिकांश सम्बन्धविच्छेदका मुद्दा घरेलु हिंसासँग जोेडिएर आएको देखिन्छ । पुरुष तथा परिवारद्वारा महिलामाथिको दुव्र्यवहार, शारीरिक हिंसा, मानसिक तनाव, आर्थिक समस्या, हेलाँ, व्यभिचार जस्ता समस्याले उग्र रूप लिएर सम्बन्धविच्छेदसम्म आइपुगेका थुप्रै मुद्दा अदालतमा दर्ता छन् ।

सर्वोच्च अदालतको २०७२÷७३ को वार्षिक प्रतिवेदन अनुसार वर्षभर कूल १३ हजार ७४५ वटा सम्बन्ध विच्छेदका घटना भए । त्यसमध्ये सबैभन्दा बढी मुद्दा काठमाडौँ अदालतमा परेको देखिन्छ भने खोटाङ र अर्घाखाँची जिल्लामा यससम्बन्धी कुनै मुद्दा नै परेन । मनाङ, मुस्ताङ र सोलुखुम्बुमा अत्यन्तै नगण्य रुपमा मुद्दा परेका छन् । मनाङमा एक, मुस्ताङमा पाँच र सोलुखुम्बुमा सात उजुरी परेका छन् ।

तथ्यांकअनुसार नेपालको खासगरी शहरी क्षेत्रमा बढी मात्रामा सम्बन्धविच्छेदका घटना भएको देखिएको छ । राजधानी काठमाडौँमा सबैभन्दा बढी दुई हजार ४५१, मोरङ ९०८, झापा ८३३, कास्की ६९७, चितवन ५७५ र सुनसरी ५०८ यस्ता घटना भए ।

सम्बन्धविच्छेदका मुद्दा धेरैजसो जिल्लामा नै फछ्र्यौट हुने गर्छ । सो आवमा सर्वोच्च अदालतमा ५५ वटा मात्र मुद्दा परेको देखिन्छ ।

समाजशास्त्री डा शोभा ढुङ्गानाका अनुसार पति–पत्नीबीचको कमजोर सम्बन्ध नै सम्बन्धविच्छेदको प्रमुख कारण हो । गाउँमा भन्दा शहरमा यो समस्या टड्कारो छ । सामान्य परिवारमा भन्दा सम्पन्न परिवारमा यो समस्या बढी देखिन्छ ।

उहाँ भन्नुहुन्छ – “विवाहपछि पति र पत्नीको मात्र सम्बन्ध गाँसिएको हुँदैन, बालबच्चासहित संस्कार, संस्कृति, मूल्यमान्यता, दृृष्टिकोण पनि जोडिएको हुन्छ । सम्बन्ध कमजोर हुनेबित्तिकै परिवारमा विखण्डन आउँछ ।”

विवाहलाई एक पवित्र बन्धन र परिवार र समाज निर्माणको बलियो आधारमा रूपमा लिइनुपर्ने हो तर यो मान्यतामा ¥हास आउँदैछ ।

अधिवक्ता प्रवीण प्रधान सम्बन्धविच्छेदले पुरुष र महिलालाई भन्दा पनि बच्चाको विचल्ली हुने गरेको र बाबुआमा छुट्टिँदा धेरै बालबच्चामा मानसिक पीडा हुने गरेको बताउनुहुन्छ ।

उहाँका अनुसार सम्बन्धविच्छेद देखासिकी, आडम्बरीपना, विदेश मोह, पश्चिमा संस्कृतिको अनुसरण र बढी स्वतन्त्रता चाहनाले सम्बन्धविच्छेद बढ्दै गएको छ । यसलाई रोक्न जरुरी छ ।

महिलाको हकअधिकारका लागि काम गर्ने सरकारी तथा गैरसरकारी निकायका साथै थुप्रै सङ्घसंस्था स्थापना भएका छन् । पहिले भन्दा हिजोआज महिलाका लागि सामाजिक, आर्थिक, कानूनीलगायतका कुरामा धेरै सजिलो भएको छ । स्वतन्त्रता र कानूनी सहायताले पनि सम्बन्धविच्छेदलाई प्रोत्साहन गरेको जस्तो देखिएको छ तर, महिला अधिकारकर्मी यसलाई मान्न तयार छैनन् ।

महिला अधिकारकर्मी शर्मिला कार्कीका अनुसार महिला पनि सशक्त हुँदै गएकाले हिंसा सहेर बस्दैनन् । पतिप्रति बढी निर्भर हुन पनि चाहँदैनन् । पहिला महिला घर बाहिर आउन सक्दैनथे, पीडा सहेर बस्थे । अहिले पढेका छन्, आफ्नो खुट्टामा उभिएका छन् । त्यसैले दमन र शोषण सहँदैनन् ।

श्रीमान्को अंश पाउने भएका कारण पनि महिलाले सम्बन्धविच्छेदलाई बढावा दिएका छन् भन्ने टिप्पणी पनि सुनिन थालेको छ ।

अधिकारकर्मी डा रेणू राजभण्डारी भन्नुहुन्छ – “महिलाले समान अस्तित्व चाहेका छन् । सम्बन्धविच्छेद समाज विकासको लक्षण पनि हो । सम्बन्धविच्छेद हुँदैमा सबै सकिन्छ भन्ने होइन । सहेर बस्ने समयको अन्त्य हुँदैछ ।”

समाजशास्त्री डा ढुंगानाका अनुसार सकारात्मक सोच नै समस्या समाधानको उपाय हो जसले परिवारलाई बाँधेर राख्छ । सकारात्मक सोच र विश्वास नै सम्बन्धको बलियो कडी हो । पारिवारिक मनमुटावको अन्तिम उपचार सम्बन्धविच्छेद होइन ।

तपाईको प्रतिक्रिया