नयाँ दिल्ली, १३ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाको यसै हप्ता सम्पन्न भारत भ्रमण द्विपक्षीय सम्बन्ध सुदृढीकरण, आर्थिक मुद्दा तथा क्ूटनीतिकरुपमा समेत सफल भएको चर्चा सर्वत्र गरिएको छ ।

प्रधानमन्त्री देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यही भदौ ७ देखि ११ गतेसम्म भारतको राजकीय भ्रमण गर्नुभएको थियो । उक्त भ्रमणले नेपाल–भारत सम्बन्ध सुदृढीकरण, विकास र विस्तारका कैयौँ नयाँ आयाम खोलिदिएको चर्चा यतिखेर नेपालको आर्थिक तथा कूटनीतिक वृत्तमा गरिएको छ ।

गत बुधबार नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि प्रधानमन्त्री देउवालाई भारतका विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गर्नुभएको थियो । भारत सरकारको विदेशी पाहुनाहरुलाई स्वागत गर्ने आफ्नै नियम छ । यस्तोमा प्रायः राज्यमन्त्रीस्तरबाट उनीहरुले स्वागत गर्ने नियम छ ।

तर कतिपय व्यक्तिलाई उनीहरुले विशेषखालको सम्मान पनि दिने गर्छन् । जस्तो कि विसं २०६३ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्वागतका लागि भारतका तत्कालीन प्रधानमन्त्री डा मनमोहन सिंह नै विमानस्थल जानुभएको थियो ।

यस घटनालाई त्यस समय कूटनीतिक वृत्तमा महत्वपूर्णरुपमा विश्लेषण गरिएको थियो । नेपाललाई महत्व दिएकै कारण तत्कालिन प्रधानमन्त्री कोइरालालाई विशेष सम्मान गरी भारत त्यस हिसाबको कूटनीतिक सम्मान प्रदान गरेको अनुमान गरिएको थियो ।

त्यसपछि पनि नेपालका धेरै प्रधानमन्त्रीले भारतको भ्रमण गर्नुभयो । तर उहाँहरुलाई नियमितरुपमा नै आफ्नो शिष्टाचारअनुसार भारतले स्वागत गरेको छ । कोइरालापछि यो पहिलोपटक भारतीय विदेशमन्त्रीस्तरबाट प्रधानमन्त्री देउवालाई स्वागत गरिएको छ ।

कुनै पनि देशका सरकार एवं राज्यप्रमुखले राजकीय भ्रमणका समयमा एक्लाएक्लै गर्ने भेटवार्तालाई पनि महत्वपूर्णरुपमा लिइन्छ । यसपटक पनि थियो त्यो कार्यतालिका । तर त्योभन्दा पनि महत्वपूर्ण कुरा के भने भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवालाई उक्त कार्यतालिका अगावै अघिल्लो दिन नै आफ्नो सरकारी निवास रेशकोषमा आमन्त्रण गरी भेटवार्ता गर्नुभयो ।

अनौपचारिक भनिए पनि उक्त भेटवार्ता प्रधानमन्त्री देउवालाई भारतले दिएको कूटनीतिक महत्वका रुपमा हेर्न सकिन्छ । नेताहरुका बीचमा जति धेरै भेटवार्ता र कुराकानी हुन्छ, त्यति नै धेरै सौहार्दता बढ्छ र सम्बन्ध सुमधुर हुदै जान्छ । यसरी नेताहरुका बीचमा वृद्धि हुने मैत्री सम्बन्धले दुई देशको सम्बन्धमा स्वाभाविक रुपमै फरक ल्याउने कूटनीतिक क्षेत्रका जानकारहरुको भनाइ छ ।

आफ्नो देशको औपचारिक भ्रमणमा रहेका नेपालका कुनै पनि देशका कार्यकारी प्रमुखलाई निर्धारित कार्यक्रम र समय अगावै आफ्नो निवासमै आमन्त्रण गरेर आतिथ्यता प्रदान गरिरहेको देशका कार्यकारी प्रमुखले यसरी भेटवार्ता गर्नुलाई कसरी लिन सकिन्छ भन्ने जिज्ञासामा प्रधानमन्त्रीका परराष्ट्र मामिलासम्बन्धी सल्लाहकार डा दिनेश भट्टराई भन्नुहुन्छ, “यो शिष्टाचार भेट हो र यसले मित्रताको अभिव्यक्ति दिएको मात्र नभएर सद्भावना पनि दर्साएको छ । यस्तो भेटले द्विपक्षीय सम्बन्धलाई थप बलियो र सुमधुर बनाउन ठूलो सघाउ पु¥याउँछ । द्विपक्षीय समझदारी अभिवृद्धि हुने यसैगरी नै हो ।

भ्रमणमा सहजै र निर्धारित समयमै दुवै देशका कार्यकारी प्रमुखले बडो सहृदयताका साथ संयुक्त पत्रकार सम्मेलन गर्नुभयो । दुई देशका प्रधानमन्त्रीले आ–आफ्ना तर साझा एजेण्डाहरुलाई गरेको सम्बोधनले विगतमा नाकाबन्दीका कारण असहज बनेको दुई देशको सम्बन्धमा धेरै सहजता ल्याइसकेको स्पष्ट हुन्थ्यो । भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवा र उहाँको भ्रमण दलका सदस्यहरुलाई नेपाली भाषामा नै स्वागत गरेको प्रसंगले पनि केही आपसी सौहार्दता बोलेको थियो ।

प्रधानमन्त्री देउवाको बोल्ने क्रममा खोकी लाग्दा भारतीय विदेशमन्त्री सुष्मा स्वराज आफँै उठेर गई पानी दिनुभएको दृश्यले पनि संयुक्त पत्रकार सम्मेलनस्थल हैदरावाद भवनमा उपस्थित सबैको ध्यान तानेको थियो । यसलाई भारतका अखबारहरुले सुष्माको सरलता र सम्बन्धको सौहार्दताका रुपमा फोटोसहित समाचार लेखेका थिए । त्यसो त यस्तो सामान्य घटनालाई पनि कसरी सम्बन्ध विकासमा मापन गर्ने भन्ने पनि हो । तर कूटनीति, आर्थिक सहयोग र उच्चस्तरको भ्रमण मात्र नभएर सम्बन्धमा सहजता र पाहुनाप्रति दर्साइने सरलता पनि हो भन्ने मतलाई पनि कम आँक्न मिल्दैन ।

द्विपक्षीय वार्ता सौहार्दपूर्णरुपमा भएको छ । भारतीय प्रधानमन्त्री मोदीले संयुक्त पत्रकार सम्मेलनमा गर्नुभएको सम्बोधनमा सम्बन्ध सहज र सौहार्द बन्दै गएको कुरा उहाँको प्रस्तुति र हाउभाउबाट पनि झल्किन्थ्यो । उहाँले कैयौँपटक प्रधानमन्त्री देउवालाई नामै लिएर आदर गर्नुभयो अनि नेपाली जनतालाई पनि पटक–पटक स्मरण गर्नुभयो । साथै सोही समारोहमा दुवै प्रधानमन्त्रीले विद्युतीय प्रसारण लाइनको उद्घाटन गर्नुले पनि कूटनीतिकरुपमा धेरै सकारात्मक सन्देश दिएको छ ।

द्विपक्षीय वार्तामा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र भारतका विदेशमन्त्री स्वराज पनि बस्नुभएको थियो । परराष्ट्र सचिव शंकरदाश बैरागी र उताबाट भारतका विदेशसचिव एस जयशंकर हुनुहुन्थ्यो । त्यो सौहार्दपूर्ण वार्ता र त्यसमा भएका सहमतिपछि लगत्तै संयुक्त पत्रकार सम्मेलन गरियो । वार्तास्थल र पत्रकार सम्मेलनस्थल सँगसँगै थियो । पहिला अरु सदस्यहरु पत्रकार सम्मेलनस्थलमा आउनुभयो र त्यसको करिब २० मिनेटपछि दुबै प्रधानमन्त्री आउनुभयो । एक्लाएक्लै र द्विपक्षीय उच्च राजनीतिक तथा उच्च कूटनीतिक तहमा पनि सौहार्दरुपमा वार्ता सम्पन्न भएको छ । त्यसैगरी सोही दिन नै साँझ दुवै देशका तर्फबाट संयुक्त प्रेस वक्तव्य पनि जारी भएको छ ।

राजकीय भ्रमणका क्रममा यसरी बिना कुनै विवाद र उच्चस्तरको समझदारी एवं ऐक्यबद्धतासहित संयुक्त प्रेस वक्तव्य जारी हुनु मात्रलाई पनि भ्रमणको सफलताका रुपमा मापन गर्ने गरिन्छ । अर्काेतर्फ यस संयुक्त प्रेस वक्तव्यमा गरिएका विगतका आपसी हितका समझदारी र सम्झौताको कार्यान्वयन र आगामी योजनाहरुको सम्पन्नताका लागि व्यक्त गरिएका प्रतिबद्धताले यस भ्रमणलाई सफलताको कसीबाटमात्र मापन गर्न सकिने देखिन्छ ।

भ्रमणका क्रममा जारी भएको ४६ बुँदे संयुक्त प्रेस वक्तव्यमा दुई देशबीच अहिलेसम्म भएका सम्झौताहरुको कार्यान्वयनका साथै आगामी दिनमा गर्न सकिने आयोजनाहरुको बारेमा स्पष्ट प्रतिबद्धता छन् । नेपाल सरकारले मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी आयोजनालाई प्राथमिकतायुक्त आयोजनामा समेटेको विषय प्रधानमन्त्री देउवाले जानकारी गराउनुभएको र उहाँको यो प्रस्तावमा भारतीय प्रधानमन्त्री मोदीले खुशी व्यक्त गर्नुभएको छ । नेपाल सरकारले घोषणा गरेका राष्ट्रिय प्राथमिकतायुक्त आयोजनाका लागि भारतले आवश्यक सहयोग उपलब्ध गराउने पनि सो वक्तव्यमा उल्लेख गरिएको छ ।

त्यसैगरी पूर्वाधार निर्माणका माध्यमबाट अन्तरदेशीय सञ्जालको विकास गरिने र यसका माध्यमबाट दुई देशबीचमा जनताको तहमा सम्बन्ध र सम्पर्कको विकासमा सहयोग पुग्ने र यसमार्फत आर्थिक विकासमा पनि सघाउ पुग्ने बारेमा पनि सो वक्तव्यमा उल्लेख गरिएको छ । त्यस्तै सो संयुक्त प्रेस वक्तव्यमा जलस्रोत क्षेत्रको विकास, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाका बारेमा आवश्यक छलफल भई यसका लागि सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने काम पनि भएको र चाँडो डिपिआर निर्माणका लागि आवश्यक निर्देशन दिइएको उल्लेख छ ।

त्यसैगरी दुई देशबीचको विभिन्न क्षेत्रमा सञ्जालको विकास तथा आपसी सहयोग र साझेदारी, द्विपक्षीय व्यापार तथा लगानी प्रवद्र्धन, विभिन्न क्षेत्रमा सहयोग अभिवृद्धि, नेपालमा सञ्चालित भारतीय आयोजनाहरुको प्रगतिका बारेमा पनि यस विज्ञप्तिमा उल्लेख छ ।

दुई देशबीच सांस्कृतिक सम्बन्धको अभिवृद्धि र यसका माध्यमबाट जनस्तरको सम्बन्धमा विकास, अन्तर्राष्ट्रिय, क्षेत्रीय र उपक्षेत्रीय मञ्चहरुमा दुई देशको सहकार्यजस्ता विषयमा पनि सो वक्तव्यमा उल्लेख छ । यस भ्रमणका क्रममा आठवटा सम्झौतामा हस्ताक्षर भएको विषयप्रति खुशी व्यक्त गर्दै तिनको कार्यान्वयनमा समेत यसमा जोड दिइएको छ ।

अहिले पनि नेपालले भारतबाट ४०० मेघावाटको हाराहारीमा विद्युत् खरिद गरिरहेको छ । यस्तो बेलामा प्रधानमन्त्री देउवाले अरुण तेस्रोजस्तो महत्वपूर्ण जलविद्युत् आयोजनामा देखिएका विवाद समाधान गरेको मात्र नभई भारतीय प्रधानमन्त्रीलाई शिलान्यासका लागि नै आमन्त्रण गर्नु हाम्रा लागि खुशीको कुरा हो । संयुक्त पत्रकार सम्मेलनका क्रममा मोदीले भन्नुभएको थियो, “अरुण तेस्रोको निर्माणका लागि आवश्यक सहमति जुटिसकेको मात्र नभई उक्त आयोजनाको शिलान्यासकै लागि मलाई आमन्त्रण गर्नुले निकै खुशी लागेको छ ।”

यसरी कूटनीतिकरुपमा मात्र नभएर आर्थिक, सामाजिक र राजनीतिकरुपमा पनि यो भ्रमण सफल भएको छ । प्रधानमन्त्री मोदीले नेपालले हालै सम्पन्न गरेका स्थानीय निर्वाचनका लागि लोकतान्त्रिक नेपाललाई धन्यवाद ज्ञापन गर्नुभएको छ । उहाँले निर्वाचनमार्फत नेपालले जारी राखेको लोकतान्त्रिक अभ्यासका लागि विशेष धन्यवाद ज्ञापन गर्छु भन्नुभएको छ । यससँगै भारतले नेपालको संविधानप्रति विगतमा राखेको भनिएको असन्तुष्टि पनि समाप्त भएको स्पष्ट बुझ्नुपर्छ ।

तपाईको प्रतिक्रिया