काठमाडौँ । किरण केसीको कलाकारिता जीवन तीन दशक हाराहारीको छ । धेरै फिल्म, टेलिफिल्म र स्टेजमा उनले प्रस्तुति दिएका छन् । उनको अभिनय हास्यव्यंग्यमा बढी जमेको छ । हँसाएरै उनले दशकौँ समय बिताए । यो अवधिमा तीता–मीठा धेरै अनुभव सँगाले । कतिपय अनुभव भुलेर पनि भुल्न नसक्ने खालका हुन्छन् । केसीका जीवनमा पनि यस्ता थुप्रै अविस्मरणीय घटना छन् ।

बोल्दाबोल्दै डाइलग गायब
०७१ सालतिरको घटनाजस्तो लाग्छ । जे होस्, धेरै पुरानो होइन । भैरहवा महोत्सवमा हँसाउन पुगेका थियौँ । दर्शक हँसाउन शिवहरि पौडेल र म स्टेजमा थियौँ । कार्यक्रम सुरु भयो । दर्शक खुब हाँसिरहेका थिए । तर, डाइलग बोल्दै र हँसाउँदै जाँदा मैले त बीचको डाइलग नै भुलेँ । फसादै भयो, सम्झिन खोजेँ, तर स्मरण नै भएन । दिमाग त पूरै शून्य भयो । तर, डाइलग भुल्दैमा स्टेज छाड्न मिल्ने थिएन, जे पायो त्यही भन्न पनि मिल्थेन । मैले तत्काल जुक्ति लगाएँ । अब आफू पनि हाँसेर दर्शक हँसाउनुको विकल्प छैन । म डाइलग नभनी हाँस्न थालेँ । अगाडि एक लाख दर्शक थिए । झनडै एक मिनेटजति दिमाग शून्य भयो । म निरन्तर हाँसिरहेँ । एक्लै डाइलग अगाडि बढाउन नमिल्ने भएपछि शिवहरि पनि हाँस्न थाले । उनले मेरो समस्या बुझे ।

झन्डै एक मिनेटपछि झ्वाट्ट डाइलग याद आयो । अनि फेरि डाइलगबाटै हँसाउन सुरु भयो । खासमा त्यो ‘स्वास्थ्य परीक्षण’ भन्ने कमेडीको प्रहसन थियो । डाक्टरको विषयमा बोल्नुपर्ने मेरो रोल थियो । डाइलग भुलेर पनि हाँसोले परिस्थितिलाई सल्ट्याएको त्यो स्टेज कहिल्यै भुल्दिनँ । कलाकारिता जीवनमा सबैभन्दा बढी पीडाबोध भएको पनि त्यही वेला हो ।

हुन त यसरी डाइलग भुलेर समस्या धेरैलाई पर्ने रहेछ । पछि आफ्नो कहानी सुनाउँदा अरू कलाकारले पनि आफूले भोगेका अनुभव सुनाएका थिए ।

हरिवंशले बक्सिङ ग्लोबले हान्दा मैले त छल्नै सकेनछु । मेरो त नाकमै पच्याक्क भयो । रगत झरिहाल्यो । दर्शकले खासै मेसो पाएनन् । मैले नाकबाट निस्केको रगत तत्काल सिँगान पुछेझैँ पुछेर हरिको जिउभरि छर्किदिएँ । नाटक गर्दा साँच्चिकै बनेर निम्तिएको यो घटना पनि भुल्न सक्दिनँ ।

मुखमा गहना लुकाउनुपर्‍यो
गलामा सिक्री र आैँलामा औँठी लगाउने मेरो पुरानै बानी हो । यी गहना प्रायः छुटाउँदिन । बानी परेपछि घडी लगाएजस्तै त हो नि ! झन्डै ७ वर्षअघिको घटना हो । शिवहरि पौडेल र म झापा जाँदै थियौँ, कार्यक्रमका लागि । भोलिपल्टको कार्यक्रमका लागि रातिमा यात्रा गरेका थियौँ । निजी गाडीमा थियौँ । सर्लाहीको लालबन्दी नपुग्दै हाइवेकै होटेलमा खाना खायौँ । खाना खाने क्रममा त्यहाँ मलाई धेरैले चिने । लालबन्दीमा त डाँका लाग्छन् भन्दै शुभचिन्तकले त्यतिखेरै सचेत गराए । जोगिएर जान भने ।

हामी खाना खाएर हिँड्यौँ । खाना खाने होटेलमा सुनेका कुराले मन दच्किरहेको थियो । कतै डाँकाले आक्रमण गर्ने हुन् कि भन्ने पीर प¥यो । त्यतिवेला मैले सिक्री र औँठी फुकालेर मुखभित्र हालेँ । डाँकाले झट्ट हेर्दा नदेखून् र तारो नभइयोस् भन्ने थियो । त्यसपछि लालबन्दी एरियामा हामी चुपचाप जोडले हुइँकियौँ । कलाकारिताकै यात्रामा जोडिएको यो सन्दर्भ पनि अविस्मरणीय छ ।

हरिवंशले पन्चले नाकै फ्याक्चर
घटना झन्डै १५ वर्षअघिको हो । हरिवंश आचार्यसँग एउटा नाटक खेलेको थिएँ । नाटकको नाम के हो याद भएन । तर, मैले र हरिवंशले बक्सिङ खेल्नुपर्ने सिन थियो । नाटक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (अहिलेको संसद् भवन)मा भएको थियो ।

नाटकमा अभिनयबारे पहिला रिहर्सल भएको थिएन । हामीले बक्सिङको तयारी गरेका थिएनौँ । सीधै गर्न सकिहालिन्छ नि भन्ने भयो । तर, जब त्यो रोल सुरु भयो, परिस्थिति नसोचेको भयो ।

एकचोटि हान्ने र छल्ने भन्ने थियो । हरिवंशले बक्सिङ ग्लोबले हान्दा मैले त छल्नै सकेनछु । मेरो त नाकमै पच्याक्क भयो । रगत झरिहाल्यो । दर्शकले खासै मेसो पाएनन् । मैले नाकबाट निस्केको रगत तत्काल सिँगान पुछेझैँ पुछेर हरिको जिउभरि छर्किदिएँ । नाटक गर्दा साँच्चिकै बनेर निम्तिएको यो घटना पनि भुल्न सक्दिनँ ।

स्टेज छोडेर ट्वाइलेटतिर दौडिएँ
यो घटना ५–६ वर्षअघिको हो । प्रज्ञा भवनमा प्रस्तुति दिइरहेको थिएँ । शिवहरि पौड्याल, मनोज आचार्य, सविता गुरुङ र म स्टेजमा थियौँ । त्यो दिन बिहानैदेखि मलाई पखालाले सताएको थियो । तर, पनि गाइजात्राको कार्यक्रम भएकाले सकेसम्म खेल्नै पर्ने थियो । अनि स्टेजमा जाने निर्णय गरेँ ।

मेरो गोडा भाँचिएको थियो । बैसाखीको भरमा थिएँ । गुन्डाहरु मेरी भान्जीलाई अपहरण गर्न आए । म भान्जीकै सामुन्ने थिएँ । जब गुन्डाहरुले भान्जीलाई अपहरण गर्न लागे, तब मैले सकिनसकी बैसाखी निकालेर प्रहार गरेँ । मेरो प्रहारबाट एकजना गुन्डाको हातै भाँचियो

तर, स्टेजमा हँसाउँदै गर्दा ट्वाइलेट लागेर औधी गाह्रो भयो । केहीबेर त खपेँ । तर, धेरैबेर खप्न सकिएन । कुनै विकल्प नै नभएपछि स्टेज छाडेर ट्वाइलेटतिर दौडिएँ । हतार–हतार ट्वाइलेटको काम सकेर फेरि स्टेजमा फर्किएँ । बीचबाट फेरि अभिनय सुरु गरेँ । अडियन्सलाई पत्तै भएन, नाटक नै त्यस्तै होला भन्ने लागेछ क्यारे ! स्टेजका कलाकार साथीलाई त मेरो समस्या थाहै थियो ।

बैसाखीले हान्दा भिलेनको हात भाँचियो
धेरै पहिलेको घटना हो । २०–२२ वर्षअघिजस्तो लाग्छ । ‘गोपिकृष्ण’ फिल्ममा मेरो पनि अभिनय थियो । फिल्ममा भिलेनसँग भिड्नुपर्ने मेरो रोल थियो । तर, म शारीरिक रूपमा अशक्त हुन्थेँ ।

फिल्ममा मेरी भान्जी (स्वर्गीय सुशीला रायमाझी)लाई भिलेनहरूले अपरहण गर्न खोज्छन् । मेरैसामु भएको यस्तो घटना मामाले स्विकार्ने कुरै भएन । तर, म गोडा भाँच्चिएर बैसाखी टेकेको अवस्थामा हुन्छु । रोल नै त्यस्तै थियो । भान्जीलाई भिलेनहरूले अपहरण गर्न खोजेपछि म सकिनसकी उठेर बँचाउन खोज्छु । यही क्रममा बैसाखीले भिलेनहरूलाई बजाउनुपर्ने थियो ।

मैले बैसाखी निकालेर भिलेनमाथि प्रहार गरेँ । यो सब नाटकीय नै थियो, तर परिस्थिति त साँच्चिकै भयो । मैले हानेको बैसाखीले जोडले लाग्दा एकजना भिलेनको हातै भाँचियो । ती भिलेन को हुन् भन्ने सम्झना भने अहिले मलाई छैन ।

नेपालबन्दमा कार्यक्रम गर्नुपर्दा
६ वर्षअघिको घटना हो । हामी केही कलाकार बुटवल गएका थियौँ । महोत्सवकै लागि हो । अघिल्लो दिन बुटवल पुगियो । भोलिपल्ट कार्यक्रम गरियो । तर, कार्यक्रम सकेर हतारमा काठमाडौं फर्किनुपर्ने थियो ।

हामीले काठमाडौंमा ल्होसार साँझमा हँसाउनु थियो । त्यसको पैसा पनि लिइसकेका थियौँ । त्यसैले बुटवलबाट त्यही दिन नहिँडे हुँदै नहुने थियो । तर, त्यो दिन नेपालबन्द थियो । कसरी काठमाडौं पुग्ने भन्ने डरैडरमा हामी पाल्पाको बाटो फर्किंदै थियौँ ।

कसैले केही गर्छ कि भन्ने डर हुने नै भयो । त्यसैले समस्या पर्नेजस्तो ठाउँमा हामी एकजना ओर्लिएर केही अगाडि जाने, कुरा मिलाउने अनि यात्रा पार गर्ने गरेका थियौँ । गाडीबाट ओर्लिएर समस्या सल्ट्याउने जिम्माचाहिँ सविता गुरुङको थियो । बल्लतल्ल काठमाडौं आइपुगियो । कलाकारिता जीवनमा भोगेको त्यो कष्ट पनि कहिल्यै बिर्सिन नसक्ने खालको छ ।

दूधमा ढिका नुन हालेर उमालेछु
महिलाहरू सुत्केरी हुँदा गुँद बनाएर खुवाउने चलन थियो, हाम्रोतिर । भाउजू सुत्केरी हुँदा आमाले बनाएर खुवाएको देखेको थिएँ । त्यो गुँद भन्ने चिज ढिका नुनजस्तै देखिन्थ्यो ।

एकपटक मैले पनि दूधमा गुँद पकाएर खानुपर्‍यो भन्ने योजना बनाएँ, पकाएँ पनि । तर, तयार गरेर खाँदा त पूरै नुनिलो । पछि पो थाहा भयो, गुँद राखेँ भनेर मैले त ढिका नुन पो राखेछु । कलाकारिताबाहिरको यो घटना पनि स्मरणीय छ । नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया