काठमाडौं । ताहचलको बैदेशिक रोजगार कार्यालय छेउमा पसल राख्ने सम्बन्धी विवाद भएको ‘ग्याङफाइट’मा एकजनाको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्।

आक्रमणमा बाफलका राजु भनिने रामबहादुर श्रेष्ठको मृत्यु भएको हो। ताहचलको बैदेशिक रोजगार कार्यालयमा श्रम भर्न जानेहरुका लागि विमा गर्ने तथा फर्म भन्ने पसल संचालन गर्ने तयारीमा थिए श्रेष्ठ।

तर, साथीहरुले नै गत शुक्रबार बेलुका खुकुरी हानेर उनको हत्या गरे। योजनाबद्ध रुपमा भेट्न बोलाएर उनको हत्या भएको छ।

घटनामा अन्य चारजना घाइते भएका छन्। घाइतेमध्ये विकास गुरुङ र विवेक खत्री अस्पतालमा उपचार गराइरहेका छन्। अन्य दुई जना सामान्य घाइते छन्।

ताहचलमा विमाको एजेन्टका रुपमा काम गर्ने सुवेदी ‘खैरे’को समूहले श्रेष्ठको हत्या गरेको प्रहरीले जनाएको छ।

सुवेदी र उनका सहयोगीहरु राम दर्जी र लक्ष्मण दर्जीविरुद्ध मृतकका परिवारले प्रहरीमा किटानी जाहेरी दिएका छन्। हत्यामा संलग्न तीनैजना फरार छन्। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।

तपाईको प्रतिक्रिया