नवलपरासी, ११ भदौ । पर्यटकीयस्थल रामग्राम– ७ स्थित गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तूप संरक्षण स्थानीयस्तरबाट शुरु गरिएको छ ।

रामग्राम स्तूप क्षेत्र संरक्षणका लागि गत आवमा अर्थ मन्त्रालयले पठाएको रु ७८ लाख बजेट केही स्थानीय व्यक्तिले कमिसन माग्ने कामले फ्रिज भएपछि अहिले वडाध्यक्ष शिवशंकर हरिजनको अगुवाइमा संरक्षण थालिएको हो ।

वडा समितिले बाँस संकलन गरी स्तूप क्षेत्रमा गाईवस्तु पसेर चरिचरन नगरुन् भनी बार लगाउने कार्य थालेको छ । स्तूप परिसरमा गाउँलेले गाईभैँसी लगेर चराउँदा त्यहाँका बोटबिरुवा चरनले नष्ट हुनाका साथै चरिचरनले पुरातात्विक महत्वका वस्तु नष्ट हुने र चोरी हुने हँुदा तत्काल स्थानीय साधनस्रोतको प्रयोग गरी संरक्षणमा लागिएको वडाध्यक्ष हरिजनले बताउनुभयो ।

“वडाभित्रको पुरातात्विकस्थलको संरक्षण गर्नु अहिले नवनिर्वाचित जनप्रतिनिधिकै उत्तरदायित्व भएको हुँदा वडा सदस्यसँग सल्लाह गरी बाँसले बार लगाएर तत्कालका लागि गाईवस्तु नछिरुन भनी अस्थायी उपाय अपनाएका छाँै”, हरिजनले भन्नुभयो, “गाउँस्तरमा जे–जस्तो स्रोतसाधन छ, त्यसको प्रयोग गरेका छौँ ।”

स्तूपको दक्षिण, पश्चिम र उत्तरतर्फबाट गाईवस्तु स्तूप परिसरमा छिर्ने हुँदा गाईवस्तु छिर्ने बाटोमा खाँबा गाडेर बाँसले बार्न लागिएको छ । “तत्काल अस्थायी र स्थानीय साधनस्रोतले संरक्षण गर्छौं”, हरिजनले भन्नुभयो, “स्थायी प्रकृति र राम्रोसँग जाली तारका लागि पुनःजिल्ला समन्वय समिति, लुम्बिनी विकास कोष र नगरपालिकासँग बजेट माग गरेर काम गर्छौं ।”

विश्वसम्पदामा सूचीकृत प्रक्रियामा रहेको रामग्राम स्तूपको संरक्षण गर्नु सबैभन्दा पहिलो दायित्व स्थानीय वडा र टोलवासीको भएको बताउँदै हरिजनले पछि सरकार वा विश्व समुदायले विस्तृत योजना बनाई काम गरे पनि अहिले संरक्षण गरी बचाइराख्नुपर्नेमा जोड दिनुभयो ।

प्राचीन कोलीय गणराज्यभित्र कोलीय राजाले गौतम बुद्धको मल्ल राज्यको कुशीनगर (हाल भारत उत्तर प्रदेशभित्र रहेको कुशीनगर)मा इशापूर्व ५०० वर्ष परिनिर्वाण लिएपछि उहाँको अस्तुबाट कोलीय राजाले पाएको भाग रामग्राम स्तूपका रुपमा स्थापना गरेका थिए । बुद्धको मावली राज्य कोलीय गणराज्यका राजाले गणराज्यको राजधानी रामग्राम (हाल पण्डितपुर) देखि चार माइल पूर्वदक्षिण दिशामा स्तूपको स्थापना गराएका थिए । त्यसको संरक्षण परापूर्वकालदेखि नै नागवंशीले गर्दै आएका थिए । पछि मगधका सम्राट् अशोक बुद्धका अनुयायी भएपछि मगधलगायत सात स्तूप उत्खनन गराई विश्वको ८४ हजार स्थानमा वितरण गरी स्तूप र विहारको स्थापना गर्न लगाएका थिए । रामग्राम स्तूपको उत्खनन गराउन खोज्दा नागवंशीको आग्रहमा रामग्राम स्तूप उत्खनन नगराई जस्ताको तस्तै छाडिदिएका कारण अहिले विश्वको एक मात्र वास्तविक रामग्राम स्तूप अवस्थित छ ।

स्तूप पत्ता लागेको शताब्दी बितिसक्दा पनि यसको पर्याप्त मात्रामा उत्खनन र संरक्षणमा सरकारी ध्यान गएको छैन । लुम्बिनी विकास कोषअन्तर्गत रहेका स्तूप क्षेत्रको संरक्षणमा कोषले पनि चासो नदेखाएकाले स्थानीय विकास अधिकारी युवराज कट्टेलको प्रयासमा बजेट माग गरी तारजालीले बार लगाएर संरक्षण गर्ने योजना बनाइएको थियो । स्थानीय केही विकास विरोधी तत्वले अवरोध सिर्जना गरेपछि सो रकम असारभित्र खर्च हुन नसकी फ्रिज भएको थियो ।

असारको अन्तिम समयमा समन्वय समितिले भ्रष्टाचार र अनियमित गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिलाउने र संरक्षण कार्यमा विरोध गरेका कारण सो रकम फ्रिज भएको रामग्राम स्तूप संरक्षणमा काम गर्दै आएका रामग्राम स्तूप संरक्षण तथा पर्यटन विकास संस्थाका अध्यक्ष शम्भु उपाध्यायले बताउनुभयो । अहिले वडा तहबाट वडाध्यक्ष हरिजनको कार्य सराहनीय रहेको उहाँले बताउनुभयो । ती कार्यमा आफ्नो संस्थाले पनि सहयोग गर्ने उहाँले जनाउनुभयो ।

नवलपरासी रामग्राम नगरपालिकाको सांस्कृतिक सल्लाहकारका रुपमा काम गर्दै आएका रामग्राम–३ निवासी डा कौशलेन्द्रबहादुर श्रीवास्तवले नगरपालिकामा निर्वाचित जनप्रतिनिधिलाई रामग्राम स्तूपको उत्खननमा लाग्न सुझाव दिनुभएको छ । लामो समयदेखि पुरातत्व र रामग्राम स्तूप क्षेत्रको सोधखोज र विभिन्न लेखा रचना गरी प्रचारप्रसारको अभियानमा निरन्तर कार्य गर्दै आएका डा श्रीवास्तवले स्तूप पत्ता लागेको शताब्दी बितिसक्दा पनि स्तूपको उत्खनन र व्यवस्थापनका कार्यको बेवास्ता गरिँदै आएको हुँदा उत्खनन अब स्थानीय सरकारको मान्यता पाएको रामग्राम नगरपालिकाले नै कदम उठाउनुपर्ने बताउनुभयो ।

रामग्राम स्तूपको परिचय दिइने पुस्तकसमेत लेखेका तथा विभिन्न शोधकर्ताका स्रोत रहेका ८४ वर्षीय डा श्रीवास्तवले आफ्नो पूरै जीवन रामग्राम स्तूपको प्रवद्र्धनमा बिताएको बताउनुभयो ।
पेशाले श्रीवास्तव पहिला चिकित्सक भए पनि रामग्राम स्तूपबारे केही जानकारी पाएपछि श्रीवास्तवले इतिहासमा स्नातकोत्तर गरे र बुद्ध साहित्यको खोज गर्दै अहिले रामग्राम स्तूप नेपाल र रामग्रामका लागि ठूलो ऐतिहासिक र सांस्कृतिक धरोहर भएको अनुभव सुनाउनुभयो ।

श्रीवास्तवका अनुसार बुद्धको एक मात्र सिंगो अष्टधातु रहेको रामग्राम स्तूपको खोजी गर्नका लागि सबभन्दा पहिले अंग्रेजी विद्वान् जनरल कलिघंमले सन १८६१ मा भारत उत्तर प्रदेशको बस्ती जिल्लामा रहेको देवकली भन्ने गाउँलाई रामग्राम भनी अनुमान गरेका थिए तर यसको पुष्टि हुन सकेन ।

रामग्रामको उत्खनन रोकिएको आज १३ वर्ष बितेर जाँदा पनि थप उत्खननका लागि पुरातत्वविद् शुक्रसागर श्रेष्ठको सिफारिस बेवास्ता नै गरिएको छ । अब आएका जनप्रतिनिधिलाई डा श्रीवास्तवले वर्तमान स्थानीय तहमा रामग्रामकै नामले नामकरण गरिएको रामग्राम नगरपालिकामा रहेका रामग्राम स्तूप र प्राचीन कोलीय गणराज्यको राजधानी रामग्राम(हालको पण्डितपुर) को उत्खनन अगाडि बढाउन सुझाव दिनुभयो ।

तपाईको प्रतिक्रिया