काठमाडौं – अभिनेता एवं निर्देशक रमेश बुढाथोकी विगत साढे तीन दशकदेखि कलाकारितामा अनवरत छन् । ०३७ सालदेखि आफ्नै लेखन, निर्देशन र अभिनयमा नाटक मञ्चन सुरु गरेका उनले त्यसपछि थुप्रै नाटक गरे । कलाकारितामा अति मोह राख्ने बुढाथोकी नेपालको पहिलो टेलिशृंखला ‘वाचा बिर्सेको छैन’का निर्देशक हुन् ।

रंगमञ्च, टेलिभिजन हुँदै ठूलो पर्दाका फिल्म अभिनय, निर्देशनमा पनि आफूलाई अब्बल प्रमाणित गरेका बुढाथोकीले अहिलेसम्म झन्डै एक दर्जन फिल्म निर्देशन गरेका छन् । उनले निर्देशन गरेका अधिकांश फिल्म सफल छन् । उनी शीर्ष भूमिकामा अभिनीत फिल्म भुइँमान्छे शुक्रबारदेखि प्रदर्शन भइरहेको छ । चलचित्र कलाकार संघको दुई कार्यकाल अध्यक्षको जिम्मेवारी पूरा गरेका बुढाथोकीले आफ्नो कलायात्रा, संघर्ष, सफलतालगायतका विविध विषयमा नयाँ पत्रिकाका लक्ष्मण सुवेदीसँग कुराकानी गरेका छन् :

रमेश बुढाथोकी
अभिनेता/निर्देशक
स्कुल बंक गरेर फिल्म हेर्न जान्थेँ
मलाई बच्चैदेखि सिनेमाप्रति औधी मोह थियो । नयाँ फिल्म लाग्नेबित्तिकै अनेक तरिका अपनाएर हेर्न गइहाल्थेँ । कहिलेकाहीँ त स्कुलबाट भागेर पनि फिल्म हेर्न गइयो । फिल्म जति हेर्दै गयो, अझ रुचि बढ्दै गयो । फिल्ममा जे–जे देखिन्थ्यो, साथीहरूसँग पनि त्यस्तै–त्यस्तै खेल खेलिन्थ्यो । फिल्ममा चोर–पुलिस देख्दा, हामीहरू चोर–पुलिसको खेल खेल्थ्यौँ । कहिले डाक्टर–बिरामी भएर पनि खेल्थ्यौँ । होमओर्क सकेर जति खेल खेल्थ्यौँ, सबै फिल्मबाट प्रभावित हुन्थे । कलाकारिमामै जीवन बिताउन लेखेकाले त्यसो भएको रै’छ, सायद । अहिले विचार गर्दा त्यस्तो लाग्छ ।

अभिनयमा झुकाव बढ्दै गएकाले एसएलसी परीक्षापछिको खाली समयमा म दियालो परिवार नामक नाट्य संस्थामा आबद्ध भएँ । ‘द्रोही’ नामक नाटकमा एक सिन अभिनय गर्ने मौका पाएँ । मेरो त्यो अभिनयले तारिफ पायो । सबैले चर्चा गरे । बधाई दिए । मलाई प्रेरणा मिल्यो । त्यसपछि अर्को नाटकमा अलि लामो रोल पाएँ । गर्दै जाँदा सिक्दै गएँ । ०३७ सालमा पहिलोपटक आफ्नै लेखन र निर्देशनमा ‘विधवाको सिन्दूर’ नामक नाटक मञ्चन गरे । त्यो नाटक निकै चर्चित भयो । त्यसपछि अभिनयका साथै लेखन र निर्देशनयात्रा पनि
अघि बढ्यो ।

छानिएर काठमाडौँ आएँ
पूर्वमा चर्चित नाट्यकर्मी भइसकेको थिएँ । नाटक, अभिनयसम्बन्धी औपचारिक ज्ञान लिने इच्छा मनमा थियो । त्यतिवेला तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले नाटक, अभिनयसम्बन्धी एकवर्षीय तालिम दिने गर्दथ्यो । म पूर्वाञ्चलबाट छानिएर काठमाडौँ आएँ ।

त्रिचन्द्र कलेजमा स्नातक पढ्न थालेँ । प्रज्ञा प्रतिष्ठानमा तालिम पनि सुरु भयो । तालिमसँगै प्रतिमहिना तीन सय रुपैयाँ भत्ता पाइन्थ्यो । सोही क्रममा मेरो पहलमा रंगकर्मी जमात गठन भयो । त्यसबाट ‘रोमियो जुलियट’, ‘उसको कवितामा को रुँदैन’, ‘अन्ततः मीरा गइन्’, ‘ऋचा’, ‘मृगतृष्णा’लगायतका नाटक मञ्चन गरियो । त्यो क्रम ०४२ सालसम्म चल्यो । ती नाटकबाट मैले थुप्रै पुरस्कार जितेको थिएँ ।

नेपालकै पहिलो सिरियलः वाचा बिर्सेको छैन
एकपटक गोदावरी एलुम्नाइ एसोसिएसन ९जिएए०ले एकांकी नाटक प्रतियोगिता गरेको थियो । त्यसमा मैले ‘दन्त्यकथा’ नामक नाटक गरेको थिएँ । त्यसको निर्णायकमा चेतन कार्की र नीर शाह हुनुहुन्थ्यो । त्यसमा मैले बेस्ट एक्टर र डाइरेक्टरको पुरस्कार जितेको थिएँ । ०४२ सालमा नेपाल टेलिभिजन स्थापना भयो । नीर शाह टेलिभिजनको प्रमुख हुनुहुन्थ्यो । उहाँले मेरो काम देखेकाले सिरियल बनाउँछौ रु भनेर अफर गर्नुभयो । रंगमञ्चमा नाटक गरिरहेको म, सिरियल कसरी बनाउँछन्, केही थाहा थिएन । तर, पनि ‘गर्छु’ भनेँ । गर्छु त भनेँ, तर मलाई त्यससम्बन्धी केही पनि आउँदैनथ्यो । सुन्धारास्थित भारतीय पुस्तकालयमा धेरै दिन बिताएँ । फिल्म निर्माण, निर्देशनसम्बन्धी केही पुस्तक भेटेँ । ती पुस्तक गहनताका साथ अध्ययन गरेँ । त्यतिवेला पुतलीसडकमा बस्थेँ । रातभरि कथा सोचेँ । क्यामेराम्यान गौरीशंकर धुजूसँग फिल्म कसरी खिचिन्छ भनेर सोधपुछ गरेँ ।

टेलिफिल्मको नाम थियो– वाचा बिर्सेको छैन । आधा घण्टा लामो टेलिफिल्म खिच्न झन्डै १५ दिन लाग्यो । सम्पादन गर्न पनि त्यति नै दिन लाग्यो । त्यतिवेला अहिलेको जस्तो प्रविधि थिएन, त्यसैले बहुत मिहिनेत गर्नुपर्दथ्यो । कसोकसो एक भाग तयार गरेर नीर शाह सरलाई देखाएँ । उहाँले निकै तारिफ गर्नुभयो । उहाँले ‘अब अगाडिका भाग पनि सुटिङ गर्न थाल्नू’ भन्नुभयो ।

वाचा बिर्सेको छैन नै नेपालको पहिलो टेलिसिरियल बन्यो । तीन भाग लामो त्यो सिरियलमा म आफैँ, बद्री अधिकारी, अशोक शर्मा, सुभाष गजुरेललगायतले अभिनय गर्‍यौँ । भर्खर नेपालमा टेलिभिजन प्रशारण सुरु भएको, सिरियलले निकै राम्रो तारिफ पायो ।

त्यसपछिका दिनमा मैले नेपाल टेलिभिजनमा ‘निमित्त नायक’, ‘राप’, ‘अलिखित’, ‘भावना’, ‘जीवनयात्रा’, ‘प्रतिद्वन्द्वी’, ‘दुई दिनको जिन्दगानी’, ‘पुष्पाञ्जली’लगायतका थुप्रै टेलिसिरियल निर्माण, निर्देशन तथा अभिनय गरेँ । सबैबाट दर्शकको अपार माया पाएँ । अहिले पनि कति दर्शकले ती सिरियलको कुरा गर्छन्, खुसी लाग्छ ।

सर्वाधिक लामो सिरियल– कसलाई आफ्नो भनूँ
नेपाल वान टेलिभिजनबाट प्रशारण हुने मेरो निर्देशनको ‘कसलाई आफ्नो भनूँ’ नेपालको अहिलेसम्मको सबैभन्दा लामो ९धेरै भागको० टेलिसिरियल हो । कसलाई आफ्नो भनूँ ९८० भाग प्रशारण भएको थियो । नयनराज पाण्डेजीले स्क्रिप्ट लेख्नुहुन्थ्यो । मलाई सिरियल निर्माणमा भाइ महेन्द्र बुढाथोकीले सहयोग गरेको थियो । त्यो सिरियल निकै चर्चित भएको थियो । धेरैजना कलाकार त्यो सिरियलले जन्मायो । आर्थिक रूपमा पनि त्यो सिरियल मेरा लागि निकै लाभप्रद भएको थियो । अहिले पनि मान्छेहरू कसलाई आफ्नो भनूँ सम्झन्छन् ।

मोहनीबाट फिल्म निर्देशन सुरु
सिरियल गर्दा गर्दै नीर शाह सरसँग राम्रो सम्बन्ध भयो । उहाँले ०४५ सालमा निर्देशन गर्नुभएको ‘२५ वसन्त’ फिल्ममा मैले सहायक निर्देशक भई काम गरेँ । ‘संकल्प’ फिल्ममा श्याम राईको सहायक भएर पनि काम गरेको थिएँ । टेलिसिरियल, नाटकमा व्यस्त भइरहेको थिएँ । सोही क्रममा गणेश उप्रेतीजीले फिल्म गरौँ भन्नुभयो । उहाँ एकदम राम्रो कलाकार, शिव रेग्मीजीले स्क्रिप्ट लेख्नुभएको थियो । मैले पहिलो फिल्म निर्देशन गरेँ, ‘मोहनी’ । त्यो फिल्म निकै हिट भयो । गीतहरू पनि निकै चले । मोहनीपछि मैले ‘छोरो’, ‘जूनतारा’, ‘अप्सरा’, ‘लगनगाँठो’, ‘फेरि तिम्रो याद आयो’, ‘जिद्धी’, ‘बाबुसाहेब’, ‘जीवनमृत्यु’, ‘दी ग्याम्बर’ र ‘पल’ फिल्म निर्देशन गरेँ । मैले निर्देशन गरेका अधिकांश फिल्म व्यावसायिक रूपमा सफल छन् । केही भने असफल भए । आफ्ना सन्तानझैँ मलाई सबै फिल्मको उत्तिकै माया लाग्छ । तर, निर्माताको प्रेसरमा काम गर्नुपरेकाले र आफ्नो सोचअनुरूप नभएकाले केही फिल्म भने वाहियात लाग्छन् ।

प्रतिभाग– ८ सयदेखि ९० हजारसम्म
पहिलो टेलिसिरियल वाचा बिर्सेको छैन प्रतिभाग आठ सय रुपैयाँमा गरेको थिएँ । त्यतिवेला एक भाग तयार गर्न झन्डै एक महिना लाग्दथ्यो । पछि कसलाई आफ्नो भनूँको सुरुवातको केही समय ९० हजार रुपैयाँ प्रतिभागमा काम गरियो । पछि रकम घट्दै गयो । पछिपछि त दिनमा दुई भागसम्म पनि खिचिएको थियो । समय, परिस्थिति र प्रविधिको विकासले गर्दा पछिल्लो समय काम गर्न निकै सहज भएको हो ।

स्टेजमा करोडपति, कोठामा भोकै
रंगकर्म गर्दाखेरिका दिनहरू निकै स्मरणीय छन्, मेरा । प्रज्ञा प्रतिष्ठानमा ट्रेनिङ गर्दाखेरि हरेक महिनाको तीन सय रुपैयाँ भत्ता आउँथ्यो । त्यसले एक वर्ष काठमाडौँमा राम्रै बित्यो । ट्रेनिङ सकिएपछि भने आर्थिक समस्याले निकै घेर्‍यो । कमाइ हुँदैनथ्यो । कोठा भाडा तिर्न नै गाह्रो हुन्थ्यो । महिना नमरे हुन्थ्यो भन्ने लाग्थ्यो । नाटकमा करोडपतिको भूमिका निर्वाह गरिन्थ्यो । नाटक सकेर कोठामा पुग्दा रात परिसकेको हुन्थ्यो । होटेलमा खानलाई पैसा हुँदैनथ्यो । उधारो चल्ने होटेल पनि बन्द भइसकेको अवस्थामा कति रात त पानी मात्रै पिएर सुतेको छु । नुन चाट्यो, एक जग पानी घटघट पियो । अनि पेट च्यापेर सुत्यो । धेरै रात त्यसरी बितेका छन् ।

पुतलीसडकतिर होटेल, रेस्टुरेन्ट प्रशस्तै । त्यतिवेला अहिलेको जस्तो सवारी, मान्छेको भिडभाड हुँदैनथ्यो । साँझपख खानेकुराको मगमग वासना आउँथ्यो । आफूसँग पैसा हुँदैनथ्यो । त्यसकारण म साँझमा सकभर पुतलीसडकको बाटो हिँड्दैनथेँ । तीता घटना धेरै छन् ।

मैले आफ्नै लेखन, निर्देशन र अभिनयमा ‘दुई लास एक चिहान’ नाटक गरेको थिएँ । त्यसमा शिव श्रेष्ठ हिरो हुनुहुन्थ्यो । काम गर्‍यो, गर्‍यो निर्माताले पैसै नदिने । मेरो पीडा थाहा पाएपछि शिवजीले निर्मातासँग मागेर मलाई पाँच सय रुपैयाँ दिलाउनुभयो । दसैँको वेला थियो, म त्यही पाँच सय लिएर घर गएँ । यस्ता स्मरणीय पल धेरै छन्, मेरो जीवनमा । जतिसुकै अभाव, तनाव हँुदा पनि मैले यो क्षेत्रको विकल्प कहिल्यै पनि सोचिनँ । कलाकारिताको म अत्यन्तै सम्मान गर्छु । जहाँ जे गर्छु, कलाकारितामै गर्छु भनेर लागिपरँे । अहिले पनि ममा उत्तिकै ऊर्जा छ । बाँचुन्जेल यही क्षेत्रमा रहनेछु ।

यसरी बनेँ भुइँमान्छे
मैले थुप्रै फिल्ममा अभिनय गरेको छु । सुरुवातीका दिनमा म खलअभिनेताका रूपमा पर्दामा आउने गरेको थिएँ । थुप्रै सिरियलमा हिरो तथा सकारात्मक भूमिकामा प्रस्तुत भएको छु । केही फिल्ममा भने चरित्र भूमिका निर्वाह गरेको छु । तर, अहिले आएर भने मैले भुइँमान्छे फिल्ममा शीर्ष भूमिका निर्वाह गर्ने अवसर पाएँ । फिल्म शुक्रबारदेखि प्रदर्शनरत छ । हेरेका जति दर्शकले अत्यन्तै राम्रो प्रतिक्रिया दिनुभएको छ ।

भुइँमान्छेमा समाजले हेयको दृष्टिले हेर्ने मान्छेको मनोविज्ञान, उसमा रहेको प्रेमको चाहना, आत्मीयताको आभासलगायत जीवनप्रतिको दृष्टिकोण देखाइएको छ । राजनीतिक पहुँचका कारण क्षमता भएर पनि डाक्टर बन्न नपाएको युवक, जसले बाँच्नका लागि लास चिर्ने पेसा अपनाउन बाध्य हुन्छ, त्यो विषयमा फिल्म बनाइएको छ । यो फिल्मले हिम्मत हारेर जीवन समाप्त गर्न खोज्नेलाई बाँच्ने आश जगाउँछ । फिल्ममा एउटा दर्शन छ । यो भूमिका निर्वाह गर्नु आफैँमा निकै चुनौती थियो ।

मलाई निर्देशक नवराज बुढाथोकी भाइले यो मौका दिए । मैले केही समयअघि शैली थिएटरमा नवराजको निर्देशनमा सरकारी निरीक्षक नामक नाटकमा प्रमुख भूमिका निर्वाह गरेको थिएँ । पछि उनले नै मलाई भुइँमान्छेको अफर गरे । कथा निकै राम्रो लाग्यो । आफ्नो भूमिका दुरुस्त बनाउनका लागि मैले धेरै खोज र मिहिनेत गरेको छु ।

लास चिर्नेकै संगत गरेँ
भुइँमान्छेको शीर्ष भूमिका निर्वाह गर्नका लागि मैले साँच्चै नै लास चिर्ने मान्छे खोज्दै हिँडे । भेटेका केही बोल्नै चाहेनन् । मेरा कुरा पूरा सुन्दा नसुन्दै तर्किहाल्थे । काठमाडौंमा रियल पात्र भेट्न नसकेपछि म गण्डकी अञ्चल अस्पताल पुगेँ । त्यहाँ एकजना लास चिर्ने मान्छे भेटिए । सुरुमा त उनले पनि मसँग कुरा गर्न मानेनन् । मैले धेरै प्रयत्न गरेर मनाएपछि उनले कुरा गर्न थाले । बेवारिसे लासको पोस्टमार्टम गर्दा उनले मलाई मुर्दाघर भित्रै लैजान्थे । अरू वेला भने असम्बन्धित मान्छेलाई भित्र जान दिँदैनथ्यो । उनीसँगको कुराकानी र संगतले त्यस विषयका धेरै रहस्य थाहा पाएँ ।

म भरसक मलामी पनि जान नपरे हुन्थ्यो भन्ने कामना गर्ने मान्छे, परिआएपछि लास चिरेको पनि प्रत्यक्ष हेरेँ । हल्का चिरेँ पनि । सुरुका दिनमा त मैले खप्नै सकिनँ । कुदेर बाहिर गएँ । एकोहोरो भमिट आयो । मबाट यो काम हुन्न भन्ने लाग्यो । तर, हिम्मत जुटाएर फेरि भित्र पसेँ । पछिपछि अलि सहज लाग्न थाल्यो । सुटिङअघि मैले आफूलाई लास चिर्ने भूमिकाका लागि पूर्ण रूपले तयार पारिसकेको थिएँ ।

सुटिङ गर्दा आँखामा चोट, टाउको काट्यो
एकचोटि सुटिङका क्रममा सिपोरा ९गुरुङ०ले मलाई हानेको फुल ९प्लास्टिकको०ले मेरो देब्रे आँखामा लाग्यो । आँखाबाट तरतरि रगत बगेर झन्डै एक हप्ता सुटिङ नै रोक्नुपर्‍यो । फाइटको सिनमा पनि मेरो हातमा लागेको थियो । सुरुमा त भाँचियो भन्ने लागेको थियो, तर मर्किएको मात्र रहेछ । केही दिनमा नै ठीक भयो । ऐना फुटाउने सिनमा मेरो घाँटीको पछाडिपट्टि सिसाले राम्रैसँग काटेछ । म अभिनयमा यति डुबेछु कि मलाई पत्तै भएन । पछि यसो हेर्दा त ह्वालह्वाल्ती रगत बगेको, कपालसहित मासुको चोक्टो उप्किएको देखेपछि सबै आत्तिए । यस्ता घटना धेरै भएका छन् । अहिले दर्शकबाट पाइरहेको प्रतिक्रियाबाट भने खुसी लागेको छ ।

चित्तबुझ्दो कथा पाएको छैन
बीचमा केही फिल्म निर्देशनका अफर आएका थिए । तर, मलाई फेरि पनि व्यावसायिक फिल्म बनाइरहन मन लागेन । त्यसैले गरिनँ । अब म अलि विशेष विषयमा फिल्म बनाउन चाहन्छु । जसमा कलाको गाम्भीर्य प्रस्तुत गर्न पाइयोस् । नेपाली समाजको गहन तस्बिर त्यो फिल्ममा देखियोस् । तर, यस्तो खालको कथा भेटेको छैन, मैले । भेटेँ भने फिल्म निर्माण गर्छु ।

मैले निर्देशन गरेका सबै फिल्मका आ–आफ्नै विशेषता छन् । चाहे मोहनी होस् या छोरो, अप्सरा होस् या बाबुसाहेब नै । म सबैमा आ–आफ्नै लय पाउँछु । तर, पनि मलाई बाबुसाहेब र पल फिल्म अलि विशेष लाग्छन् । जूनतारा सुपरहिट भएको थियो । तर, मलाई त्यो फिल्म त्यति उम्दा लाग्दैन । झन्डै एक दर्जन फिल्म निर्देशन गरेँ, चार दर्जनभन्दा बढी नाटक, १२ सयभन्दा बढी टेलिसिरियल गरेँ, सबैबाट केही न केही कुरा सिकेको छु । आखिर मान्छेको जिन्दगी सिकाइ नै रहेछ । चितामा नपुगुन्जेलसम्म सिक्ने क्रम सकिँदो रहेनछ । नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया