काठमाडौं- ०६३ को इन्स्पेक्टरको ब्याचको चर्चित जोडी हो, दिप्ती कार्की र कौशल बुढाथोकी । उनको प्रेमसम्बन्ध एउटा रमाइलो संयोगबाट गाँसिएको छ । ०६३ को माघमा इन्स्पेक्टरमा नाम निस्किएपछि सिटरोल भर्न उनीहरू प्रहरी एकेडेमी पुगेका थिए । एकेडेमीमा तालिमपूर्व चाहिने सामान खरिदका लागि लिस्ट दिइएको थियो । त्यो लिस्ट फोटोकपी गर्न उनीहरू नजिकैको फोटोकपी पसलमा गएका थिए ।

दिउँसोको समय थियो, दिप्तीसँग घडी थिएन, नजिकै रहेका कौशलसँग उनले सोधिन्, ‘कति बज्यो ?’ प्रश्नको जवाफ सामान्य थियो, तर जवाफ दिने तरिका असामान्य । कौशलले घडी नै नहेरी कति बजेर कति मिनेट गयो भनिदिएका थिए । जसले दिप्तीलाई चकित बनायो । ‘घडी नै नहेरी कसरी यति मिनेट गयो भन्नुहुन्छ ?’ उनले सोधिन् । कौशलले आफूसँग भएको डिजिटल घडी देखाए । नभन्दै उनको भनेकै समय थियो । घडी नहेरे पनि आफूलाई समय ठ्याक्कै थाहा हुने कौशलको भनाइ थियो । तर, दिप्तीलाई विश्वास लागिरहेको थिएन । र, केही समयपछि फेरि घडी नहेरी समय भन्न लगाइन् । कौशलले ठ्याक्कै मिलाए । कौशलको समय याद गर्ने शैली दिप्तीलाई अजीव लाग्यो । कुराकानीकै क्रममा उनीहरूले चिनजान गरे ।

अर्काे संयोग के भने दुवैजनासँग सवारीसाधन थिएन । एकेडेमीबाट कौशल साथीहरू भेट्न ठमेल आउँदै थिए, दिप्ती पनि सामाखुसी जान लागेकी थिइन् । बाटो एउटै प¥यो । दुवै हिँड्दै लैनचौरसम्म आए । पहिलो भेटमै उनीहरूको मित्रता गाँसियो ।

त्यसपछि इन्स्पेक्टरको बेसिक तालिम सुरु भयो । सुरुको तीन महिना परिवारसँग पनि भेट्न दिइन्न । त्यसपछि हप्तामा एक दिन छुट्टी हुन्छ । त्यही छुट्टीमा उनीहरूबीच कहिलेकाहीँ फोनमा कुराकानी हुन्थ्यो । संयोग कस्तो भने तालिममा दुवै एउटै समूहमा परे । जसकारण थप नजिकिने मौका पाए । उनीहरूबीच अलि बढी नै कुरा हुन्थ्यो । ‘त्यसवेला नै साथीहरूले हामीलाई जिस्क्याउन थालिसकेका थिए,’ दिप्ती भन्छिन्, ‘सुरु–सुरुमा रिस उठ्थ्यो, तर पछि रमाइलै लाग्न थाल्यो ।’ तर, त्यतिवेलासम्म उनीहरू प्रेमीप्रेमिका भने भइसकेका थिएनन् ।

०६४ को चैतमा संविधानसभा निर्वाचन थियो । जसकारण उनीहरूको पास आउट एक महिना छिटो भयो । चुनावमा खटाउनका लागि छिटो पास आउट गरिएको थियो । चुनाव सकिएपछि सबैलाई दरबन्दीमा पठाइयो । इन्डोर तालिममा उत्कृष्ट भएकाले दिप्तीको पोस्टिङ प्रहरी एकेडेमीमै भयो । कौशलको धनगढीमा भयो । कौशल पोस्टिङमा जान बिदा भए । दिप्ती उनलाई बिदाइ गर्न गइन् । ‘जब कौशल पोस्टिङमा टाढा जाने भए, त्यतिवेला मात्र मलाई ऊसँग प्रेम छ भन्ने महसुस भयो,’ दिप्ती भन्छिन्, ‘त्यसपछि फोनमा हाम्रो कुरा बाक्लियो ।’ संगठनमा बिस्तारै उनीहरूको जोडीबारे चर्चा सुरु भइसकेको थियो । तर, आफूहरूले ‘आई लभ यु’ भनेर माया नगरेको र डेटिङ नगएको दिप्ती बताउँछिन् । प्रेमको तीन वर्षपछि उनीहरूले ०६८ मा बिहे गरे । बिहे मागी बिहेजस्तै भयो । दिप्ती हाल प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छिन् भने कौशल प्रहरीको इन्टरपोल शाखामा छन् । गज्जब साप्ताहिकले छापेको छ ।

‘प्रहरीको जागिर अरूभन्दा फरक छ, २४सै घन्टा काममा खटिनुपर्ने हुन्छ,’ दिप्ती भन्छिन्, ‘सिभिलियनसँग बिहे गरेको भए, प्रहरीको जागिरको प्रकृति बुझाउन गाह्रो हुन्थ्यो होला, तर हामीबीच राम्रै समझदारी छ ।’ पेसा र व्यक्तिगत जीवनलाई छुट्याउन सक्दा नै आफूहरूको दाम्पत्य जीवन सफल भएको उनी बताउँछिन् ।

तपाईको प्रतिक्रिया