ताजा खबर काठमाडौं । गर्मी मौसमसँगै स्क्रब टाइफसका बिरामी देखिन थालेका छन् । स्क्रब टाइफसका बिरामी देखिन थालेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सर्वसाधारणलाई यसबारे सजगताका लागि आग्रह गरेको छ । गोरखापत्र दैनिकले समाचार छापेको छ ।

यसबारे सामान्य जानकारी भए एक डोज एन्टिबायोटिकले पूर्ण ठीक हुने स्क्रब टाइफसलाई बेवास्ता गर्दै बसिरहे मृत्युको मुखसम्म पुग्ने हुनाले सावधानी अपनाउन इपिडिमियोलोजी तथा रोेग नियन्त्रण महाशाखाको अनुरोध छ ।

सन् २०१५ बाट नेपालमा देखा पर्न थालेको स्क्रब टाइफसबाट हालसम्म २२ जनाको मृत्यु भइसकेको छ भने झन्डै एक हजार व्यक्ति स्क्रब टाइफसबाट सङ्क्रमित भएको पुष्टि भइसकेको छ । गत वर्षमात्र नेपालका ४७ जिल्लामा ८३१ जना स्क्रब टाइफसका बिरामी देखिएकामा तीमध्ये १४ जनाको मृत्यु भएको थियो ।

सानो आकारको किर्ना (माइट)ले मानिसलाई टोकेपछि स्क्रब टाइफसको सङ्क्रमण हुन्छ भने मानिसमा क्रमशः सर्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका इपिडिमियोलोजी प्रमुख डा. गुणनिधि शर्माले नेपालमा सन् २०१५ बाट स्क्रब टाइफसका बिरामी फेला पर्न थालेको जानकारी दिनुभयो ।

उहाँका अनुसार सन् २०१५ मा १६ जिल्लामा देखिएको टाइफसबाट आठ जनाको मृत्यु भएको थियो भने त्यसको एक वर्षपछि सन् २०१६ मा १६ जिल्लाबाट बढेर ४७ जिल्लाका ८३१ जनामा स्क्रब टाइफस पुष्टि भएको थियो ।

डा. शर्माले यो वर्ष चितवनमा चार जना र राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा एक जना स्क्रब टाइफसका बिरामी पुष्टि भइसकेको जानकारी दिँदै मुख्यतया कृषि पेसा अँगाल्ने व्यक्तिले यो रोगबारे जानकारी राख्नुपर्ने बताउनुभयो ।

असारबाट सुरु भएर भदौसम्म स्क्रब टाइफसका बिरामी देखा परिरहने जानकारी दिँदै उहाँले स्क्रब टाइफस सङ्क्रमित माइटले टोकेर मानिसमा सर्ने हुनाले सतर्कता अपनाउन सुझाव दिनुभयो ।

उक्त माइट (किर्ना) अति सानो आकारमा हुने भन्दै उहाँले सेतो कागजमा राख्दासमेत देख्न कठिन हुने जानकारी दिनुभयो । यो ब्याक्टेरियालाई माइक्रोस्कोपमा राखेर हेर्दामात्र राम्रोसँग देखिन्छ, इपिडिमियोलोजी प्रमुख डा। शर्माले भन्नुभयो, “मध्यम आकारका रूख, घाँस, खेलकुद मैदानजस्ता स्थानमा स्क्रब टाइफस सार्ने ब्याक्टेरिया हुने हुनाले यस्ता स्थानमा जाँदा मानिसले ध्यान पु-याउनैपर्छ । ”

शुक्रराज ट्रपिकल तथा सरुवा रोेग अस्पतालका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले पाटन अस्पतालमा विदेशी चिकित्सकको टोलीले सन् २००४ मा गरेको अनुसन्धानमा स्क्रब टाइफस देखा परेको जानकारी दिनुभयो । “त्यसपछि स्क्रब टाइफस देखा परे पनि वास्ता गरिएन वा चासो भएन”, पुनले थप्नुभयो, “सन् २०१५ मा धरानमा एकैपटक आठ जनाको मृत्यु भएपछि त्यसको अनुसन्धान हुँदै जाँदा स्क्रब टाइफसको सङ्क्रमण भएको पुष्टि भयो, यो रोगबारे थप चर्चा र चासो गरिएको हो । ”

डा. पुनले यो रोग मुसाबाट मानिसमा सर्छ भन्ने भ्रम रहेको भन्दै स्क्रब टाइफस कहिल्यै मुसाबाट नसर्ने बताउनुभयो ।

समयमै उपचार गर्न सकियो भने स्क्रब टाइफस पूर्ण रूपमा निको हुने भन्दै डा. पुनले अलिअलि शङ्का लाग्दैमा उपचार गराए पूर्णतः ठीक हुने जानकारी दिनुभयो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार कैलाली, सङ्खुवासभा, भोजपुर, धनकुटा, चितवन, सुनसरी लगायतका जिल्लामा गत वर्ष स्क्रब टाइफसका बिरामी देखा परेका थिए ।

स्क्रब टाइफसको लक्षण कस्तो हुन्छ ?

सामान्यतया माइटले मानिसलाई टोकेपछि ज्वरो आउने, आँखा रातो हुने, टाउको दुख्ने, श्वासप्रश्वासमा समस्या आई सास फेर्न गाह्रो हुने, समयमै ध्यान नदिए मिर्गौला, कलेजो, ब्रेनमा समेत असर गर्ने, ग्रन्थीहरू सुन्निने, कामज्वरो आउने, निमोनिया हुने लगायतका लक्षण देखिन्छन् ।

उपचार के छ ?

इपिडिमियोलोजी प्रमुख शर्माका अनुसार स्क्रब टाइफसको सुरुआती अवस्थामै उपचार गरेमा सामान्य औषधिले ठीक गर्न सकिन्छ । स्क्रब टाइफसका लक्षण देखिँदा पनि यसलाई सामान्य मानेर बसेको खण्डमा भने मानिसलाई ठूलो समस्या भएर आईसीयूमा भर्ना गर्नुपर्नेसम्म अवस्था आउनसक्छ । शर्माका अनुसार डक्सिसाइक्लिन नामक एन्टिबायोटिक पाँच दिन सेवन गरेमा स्क्रब टाइफस पूर्णतः ठीक हुन्छ । उहाँका अनुसार हेल्थपोस्टमा समेत डक्सिसाइक्लिन एन्टिबायोटिक पाउन सकिन्छ ।

तपाईको प्रतिक्रिया