अमेरिका – कुरा अमेरिकाको क्यालिफोर्निया राज्यको सेन जसको हो । यहाँको एउटा बिरालो स्कुल जाने गरेको छ । आधिकारिक रूपमा भर्ना भएर बुब्बा नामको यो बिरालोले स्कुल प्रशासनबाट आइडी कार्ड पनि प्राप्त गरेको छ ।

यति पढेपछि दंग पर्नुभयो होला, बिरालो पनि स्कुल जान्छ रु हो, यो बिरालो हरेक दिन स्कुल जान्छ । ऊ स्कुलको हरेक खेलकुद कार्यक्रममा सहभागी पनि हुन्छ र अन्य विद्यार्थीसरह कक्षामा उपस्थित पनि हुन्छ । स्कुल प्रशासनले उसका लागि आइडी कार्ड पनि बनाइदिएको छ ।

बुब्बा आफ्ना मालिक एम्बर मेरेन्थल र उनका परिवारका साथमा एक स्कुलनजिकैको घरमा बस्छ । मालिक एम्बरले भनेका छन्, ‘म चाहन्छु कि ऊ घरभित्रै रहोस् तर, सँधैबाहिर घुम्नका लागि उत्सुक हुन्छ । घरनजिकैको स्कुलमा हरेक दिन जान थालेपछि स्कुल प्रशासनले उसलाई एउटा विद्यार्थीकै हैसियतमा स्विकारेको छ । कार्ड पनि बनाइदिएको छ ।’

स्कुलमा बुब्बाको उपस्थितिबाट कुनै पनि शिक्षक र विद्यार्थीले झन्झट मानेका छैनन् । उसको स्वभावका कारण सबैले प्रेम गर्छन् । निकै इमान्दार छ, बुब्बा । उसलाई स्कुलमा जहाँ जान पनि छुट छ, जुन कक्षामा बस्न पनि अनुमति छ । तर, बसिरहेको कक्षाबाट बाहिर जानुपर्यो भने उसले अन्य विद्यार्थीले झैँ पन्जा उठाउँछ र म्याउँ गर्छ । यसपछि उसका लागि ढोका खुल्छ । नयाँ पत्रिकाले छापेको छ ।

बुब्बा घर त्यतिखेर फर्किन्छ, जब स्कुल छुट्टि भएर सबै विद्यार्थी घर फर्किन्छन् । ‘म उसको गतिविधि देखेर अचम्म हुन्छु । अन्य बिरालोजस्तो कसैसँग डराउँदैन, सामाजिक स्वभावको छ,’ मालिक एम्बर भन्छन् । यो बिरालोको चर्चा स्कुलमा मात्रै छैन, उसको एउटा फेसबुक पेज पनि छ जसमा लगभग तीन हजार फ्यान छन् ।

तपाईको प्रतिक्रिया