सञ्जय बिष्ट-

आएकै बाटो गएर सधैँ त होइन तर प्राय: जसो देवेन्द्र घर पस्थ्यो। प्राय: जसो यसकारण कि एउटै बाटो हिँड़िरहँदा दिक्क मानेको मनले कुनै-कुनै दिन उसलाई घुमेको अर्कै बाटो घुमाएर घर पुर्याउथ्यो। यस्तो कुनै-कुनै दिन छाड़ेर माथि भनिएकै प्राय: जसो ऊ त्यही बाटो हिँड़्थ्यो। ‘त्यस’-को नाम जान्दैन देवेन्द्र। आकृति अर्थात् शारीरिक बनावटले त्यो देवेन्द्रजस्तै छ। म मान्छे हुँ— को बोध उसलाई यही आकृति अर्थात् शारीरिक बनावटले नै गराएको हुँदा आफ्नै जस्तो आकृतिको त्यसलाई ऊ ‘त्यो मान्छे’ भन्छ।

घाम लागेको थियो न्यानो, घरका छानाहरूतिर।। सुकाइएका लुगाहरूतिर। बाटातिर। चारैतिर।

पुराना मैला लुगाहरूमाथि उत्तानो सुतेको रहेछ त्यो मान्छे देब्रे खुट्टामाथि चढ़ाएको दाहिने खुट्टा हल्लाउँदै टुलुटुलु आकाशतिर हेरेर मस्तसँग। समस्याहरू, दु:खहरू एउटै पनि नभएको जस्तो त्यो मान्छेलाई देखेर नमान्दा नहुने कुरो रहेछ दु:ख भन्ने लागेको थियो देवेन्द्रलाई। हो, त्यही दिन हो याद गरेको देवेन्द्रले त्यसलाई। देखेको कतिचोटि पहिल्यै पनि थियो भने उसले याद नगरेको थियो। त्यसपछिका प्रत्येक दिन बिहान निस्केर अफिस पुग्नलाई त्यो बाटो भएर हिँड़ेन भने पनि बेलुकी घर पस्नलाई त त्यही बाटो हिँड़्यो देवेन्द्रले। अथवा बिहान बेलुकीमा एकपल्ट ऊ त्यो बाटो हिँड़्यो नै। पहिलोचोटि याद गरेपछि जति दिन देवेन्द्र त्यहॉंबाट हिँड़्यो प्राय: जसो उसले त्यसलाई त्यहीँ देख्यो— उभेको, टुक्रुक्क बसेको र अधिकत्तरचाहिँ निस्फ्रिकी सुतेकै।

त्यो दिन दिउँसो त्यो मौसमको पहिलो वर्षा भयो हठात् । अफिसमै थियो देवेन्द्र। ‘‘बर्खा लाग्यो अब।’’कहिले पर्छ र भनूँ भइरहेको जस्तो एकजनाले भनिहाल्यो। तर दस मिनटजति पातुलो परेपछि रोकिई पनि हाल्यो पानी। बेलुकी अफिसबाट निस्किसकेको थियो देवेन्द्र। अँध्यारो थिएन आकाश तर पानी छिटाउन थाल्यो फेरि। केही बेरपछि पानी केही बाक्लियो पनि । छाता ओढ़ेकाहरू दुई-तीनजनाबाहेक देवेन्द्रजस्तै अलइलि भिज्दै हिँड़िरहेका थिए सबै। भिज्दै हिँड़्नु त्यो दिन कसैलाई पनि अप्ठ्यारो लागेको थिएन। त्यहॉं आइपुगेको उसले देख्यो—त्यो मान्छे आफ्नै ठाउँमा भिजेरै बसिरहेको रहेछ, सधैँजस्तै निस्फ्रिकी। कतै ओत नलागी घर पुग्यो देवेन्द्र। भिजेको देखेर ‘‘भिजु भो?’’ अनावश्यक सोधी स्वास्नीले उसलाई। देवेन्द्रले ‘‘अलइलि’’ भन्यो। ‘‘फेर्नोस् लुगा।’’ नभनेकै भए पनि फेरिहाल्थ्यो लुगा उसले। आवश्यक ठानेर स्वास्नीले भनेका यी दुई शब्द देवेन्द्रले आवश्यक मानेरै ग्रहण गर्यो। घर बनाइराख्नुलाई कति आवश्यक अनावश्यक र कति अनावश्यक आवश्यक मान्नुपर्छ भन्ने दुवै जान्दथे। चुह्लाबाट तातो चियाको कपसित आएकी स्वास्नीलाई ‘‘छाता कहॉं छ हँ मेरो?’’ सोधेको थियो देवेन्द्रले। तर अर्को दिन बिहान देवेन्द्र उठ्दा पश्चिमपट्टिको डॉंड़ा-पाखा घामको न्यानो कम्बलभित्र थियो। आकाशका टुक्रे बादलहरूले आफ्ना मौलिक रङ्ग त्यागेका थिए। ‘‘लानोस्,’’ भनी स्वास्नीले। ‘‘होस् जोक्करजस्तो मात्रै देखिन्छु,’’ भन्यो उसले। निकालिदिएकी थिई छाता स्वास्नीले । लगेन देवेन्द्रले। त्यसपछि कुनि कति दिनसम्म घाम लागिरह्यो। कुनि कति दिनसम्म घाम लागेर एक दिन, दिन बिग्रियो। कुनि कतिवटा दिन बिग्रिएर एक दिन पानी पर्यो। त्यो दिन घर फर्किँदा देवेन्द्रले जस्तै थुप्रैले छाता ओढ़ेका थिए। ओत लागिरहेका र भिज्दै हिँड़िरहेकाहरू पनि केही थिए। धेर-थोर दिन बिग्रिरह्यो त्यसपछि। छाता बनाउनेहरू अब घर-घर आउन थाले।

रातभरि थामिएर फेरि बिहानैदेखि थालेको थियो पर्नु पानीले। त्यहॉं पुगेको देवेन्द्रले देख्यो; त्यो मान्छे भिजेकै लुगाहरूमाथि टुक्रुक्क बसेको रहेछ। घाममा जस्तै पानीमा पनि निस्फ्रिकी त्यहीँ बसिरहनु सक्ने त्यो मान्छेलाई देखेर देवेन्द्र एकपल्ट छक्कै पर्यो। त्यसलाई बिर्सिएर परिरहेन। छाता ओढ़ेर ऊ बाटोको छेउछेउ हिँड़्दैथ्यो। एउटा जिप्सी गाड़ीले खाल्डोको हिलो उछिट्याएर गयो देवेन्द्रको पतलुङभरि। देवेन्द्रभित्र एउटा अश्लील शब्दले करायो ड्राइभरलाई। तातो अनुहारको उसले मौन उभेर निक्कै परसम्म त्यो गाड़ीलाई हेरिरह्यो। अब दिन, कुनै दिन एक छिन उघ्रिएर, पानी मात्रै परिरहने भइसकेको थियो। देवेन्द्रले दुई सय तीस रुपियॉंमा डक् ब्याक कम्पनीको एउटा जुत्ता किन्यो। एक दिन त्यहॉं पुग्नुभन्दा केही वरतिरै देवेन्द्रले त्यो मान्छेलाई सम्झयो। आज छैन होला।—मनमनै भन्यो। टाढ़ैबाट त्यसको ठाउँमा हेर्यो उसले। टाढ़ैबाट देख्यो, त्यो त त्यहीँ रहेछ। छक्क परेको देवेन्द्रले ‘रात-दिन भिज्दा पनि नहुँदो रै’छ त बिमार।’ मनमनै भन्यो। भिजेरै बसेको त्यसलाई देखेर देवेन्द्रलाई ‘जा, पर्तिर गएर बस्।’ भन्नु मन लागेको थियो तर भन्नु मन लागेकै देवेन्द्र त्यसलाई नाघेर निक्कै वरसम्म आयो। अब ऊ अर्कै मनको भयो। घाममा, पानीमा, गरममा, जाड़ोमा जेमा पनि देवेन्द्रले त्यो मान्छेलाई ऊ त्यहॉं पुग्दा-पुग्दा त्यहीँ देख्यो। ‘संयोग हो, संयोग’ उसले आफैलाई भन्यो। ‘मान्छेले यसरी सक्तैन बस्नु’ पनि भन्यो। कुनि कुन दिन हो एक दिन, त्यसको छेउमा आइपुग्दा शान्त बसेको त्यसलाई देखेर ‘को होला यो?’ देवेन्द्रमा जिज्ञासा जन्मेको थियो। त्यो दिन जन्मिएपछि त्यो जिज्ञासाले जन्मँदै-मर्दै-जन्मँदै गरिरह्यो ऊभित्र तर आफूभित्रको जिज्ञासा सधैँको निम्ति मार्नलाई उसले केही गरेन। मान्छेको हूलमूलमा उभेर मान्छेको छेउमा, ‘तिमी को?’ सोध्नु उसको निम्ति असम्भव सम्भव नै थियो। बसेको त्यसको छेउमा, सुतेको त्यसको छेउमा कि त कक्रक्क परेका दुई-तीनवटा सुक्खा रोटीहरू कि त भॉंचिएका र सलक्की पनि केही बिस्कुटहरू पनि छरिएको हुन्थ्यो। एक-दुईपल्ट देवेन्द्रले त्यो मान्छेको मैला लुगामाथि बनरोटी पनि देखेको थियो। एक दिनचाहिँ उसले त्यहॉं पानीकागजको थैलीमा अलिकति तरकारी पनि देखेको थियो। घर फर्किरहेको थियो देवेन्द्र। थोत्रे लुगाहरूमाथि गुट्मुटिएर सुतेको रहेछ त्यो। सधैँजस्तो छरपस्टिएका मैला लुगाहरूमाथि केही बिस्कुटहरू छरपस्टिएका थिए। एउटा नयॉं कुरो थपिएको थियो त्यसको टाउकोछेउमा —पुरानो एउटा अल्मुनियमको थाल। देखिरहने, दया भएको र नलजाउने पनि कसले थालमै थापेर खाओस् सोचेर राखिदिएको हुनुपर्छ भन्ने सोच्दै हिँड़िरहेको देवेन्द्रले आफ्ना दुवै हात खाली देख्यो। अघिदेखि खाली-खाली लागिरहेको देवेन्द्रले उभिएरै ‘थुक्क!’ मुखैले पनि भन्यो। वरिपरि हेरेर ‘साला, घाम लाग्यो कि’ भन्यो मनमनमा। फर्क्यो। ‘कहॉं छाडॐे होला?’ सोच्दै फर्क्यो। सुतिरहेकै देख्यो तर ध्यान दिएन यसपल्ट त्यो मान्छेलाई। छिटो-छिटो हिँड़्यो देवेन्द्र। ‘आऽऽऽ ठिकै छ पाइनँ भने, थोत्रे भइसकेको छ त्यो। नयॉं किन्छु।’ सोचु सकेको देवेन्द्रले तर त्यहीँ छाड़े होला लागेकैमा छोड़ेको रहेछ। भित्र राखिदिएको रहेछ। नथापी भनेर थापेर पनि ‘‘धन्यवाद’’ भन्यो उसले दोकानेलाई। त्यही छाता टेक्दै अब बिस्तारै हिँड़्न थाल्यो देवेन्द्र। बिस्तारै हिँड़्दै ऊ त्यहॉं आइपुग्यो। उठेकै छैन रहेछ त्यो मान्छे। त्यहॉं आधा घण्टाजति अघि देवेन्द्रले नयॉं थोक पुरानो थाल देखेको थियो। त्यही पुरानो थालमा अझ नयॉं थोक आठ-दसवटा खुद्रा पैसा देखेर ऊ छक्क पर्यो। एकदम भूल बुझाइ हो मान्छेहरूको।—मनमनै किटान गर्यो। ज्यादै स्वाभिमानी पुरुषको रूपमा बुझेको थियो उसले त्यो मान्छेलाई। उठेपछि, पुरानो थालमा अलिकति खुद्रा पैसा देख्दा त्यसको स्वाभिमानको पुरानो र बलियो दुर्ग भत्किन्छ अब—सोच्यो देवेन्द्रले। फेरि बौरी उठ्यो देवेन्द्रभित्र केही दिनहरूलाई मरेको ‘को होला त्यो?’ लोग्ने होला स्वास्नीले छाड़ेको।—मनमनै सोच्यो। रक्सी खान्थ्यो होला भक्कु।— स्वास्नीले छाड़्नुको कारण पनि बनायो। कुट्थ्यो होला स्वास्नी र मसिना नानीहरूलाई। —थप्यो। भागेको पीरले त होइन माया गरेकी स्वास्नी अर्कैसँग?—सोध्यो आफैलाई। हुनसक्छ नि। आइमाई त हो—उत्तर बनाएर दीपक, दुर्गाबहादुर र आफ्नै मामालाई पनि छाड़ेर भाग्ने माइजू, दीपक र दुर्गाबहादुरका स्वास्नीहरूसँगै सम्झ्यो। गति छाड़ेन त मामाले। दुर्गाबहादुरले अर्की ल्याइहाल्यो। परै दीपकले मसिना छोरा-छोरी हुर्काएन एक्लैले?—पनि सम्झ्यो। राधा भागी भने कसैसँग त्यस्तै हुनु म?—बित्थाको प्रश्न आयो देवेन्द्रको मनमा त्यो मान्छेले गर्दा। ‘काट्छु।’ तर लोग्ने कराइहाल्यो भित्रबाट। सक्तैनस्। तरङ-तरङ झस्किँदै बस्नुबाहेक केई गर्नु सक्तैनस्। न रुनु सक्छस्, न हॉंस्नु सक्छन्। न मर्नु सक्छस्, न बॉंचु नै सक्छस्। निक्कै दिन मरेको जस्तै बॉंचेर तर बिस्तारै तँ बॉंच्छस्। —ऊभित्रको मान्छेले उसलाई भन्यो। हिजोआज कारणबिनै झर्किबस्छे।—सम्झ्यो। झर्केकोहरू चार-पॉंचवटा सम्झ्यो। पहिला निद्राले झ्याप-झ्याप पार्दा पनि ‘अँ-अँ’ भनिबस्नु पर्थ्यो। हल्लाएर उठाउँथी। उत्ता फर्केर सुतिहाल्छे ओछ्यानमा पस्नेबित्तिकै हिजोआज।—कार्यहरू देवेन्द्रले अब ठुलै कारणमा देख्नुथाल्यो। ‘‘क्या हो हन! मान्छे भने बुढ़ो भइसक्यो।’’ भनेर अस्ति राति पनि उत्तै फर्केर सुती।—सम्झेर देवेन्द्रले ज्यादै थाकेको अनुभव गर्यो। ब्यालिसको मान्छे बुढ़ो हुन्छ?—आफैलाई सोध्यो। पहिला सोधेर पकाउँथी। हिजोआज मलाई मन नपर्ने-नपर्ने तरकारी मात्रै पकाउँछे। भिण्डी, पोटल, वैगुण… सम्झेको देवेन्द्रले आर्द्र पायो आफूलाई। जो नै भए पनि अर्को मान्छेको मनभित्र पस्नु सक्तैन मान्छेले।—निष्कर्षसित घर पुगेको उसलाई ‘‘किन आज छिट्टै?’’ दैलैमा सोधी राधाले। ‘‘छिटो आउनु हुँदैन घर म?’’ प्रश्न र प्रश्नमै उत्तर बिचमा व्यवधान थिएनै जस्तै थियो। ‘‘मन पर्दैन तिमीलाई म छिट्टो आ’को?’’ नभन्नु पर्थ्यो लाग्यो देवेन्द्रलाई भनिसकेर। ‘‘मन पर्दैन भनेँ मैले? भनेँ? आफू भने कैले आइपुग्छ भनेर खिड़की खोलेर हेरिरहन्छु…’’कराई राधा पनि। ‘‘खिड़की खोलेर हेरेको मलाई नै हो भनेर कसरी विश्वास गर्नु?’’ रोक्ने कोसिस गरेको थियो देवेन्द्रले। सकेन। बस्, कुरा बढ़्दै गयो। बढ़्दै गयो। यस्तो स्थितिमा अधिकत्तर स्वास्नीहरूले गर्ने नै गरी राधाले। दराजबाट लुगा निकाली रुँदै। त्यहीँ फेरी अनि निस्की कोठाबाट र घरबाट। स्थिति आफ्नो नियन्त्रणबाट बाहिरिसकेको छ भन्ने बुझेको मुढ़ाजस्तो देवेन्द्र मुढ़ामा बसिरह्यो। निहुँ मात्रै चाहिएको थियो उसलाई।—लामो सास फेर्यो देवेन्द्रले। केले केले थिचेको अनुभवको देवेन्द्र आधा घण्टाजत्तिपछि उठ्यो त्यहॉंबाट। उठेर, के भा’को म?—आफैलाई सोधाइजस्तो भन्यो। फेरि त्यहीँ बस्यो। अब बिस्तारै एकपछि अरू सम्भावनामा विषालु सॉंपहरू आएर ठुँग्न थाले उसलाई। निक्कैबेर सहिरह्यो ठुँगाइहरू उसले। भर्खर खोलेको जुत्ता तान्यो र लगायो। लगाएर बसिरह्यो। खोलेर कुनापटि सुल्काइपठायो। उठेर चुह्लामा गयो। कराईको ढकनी उठायो। अन्डा-चाउमिन पकाइदिएकी रहेछ राधाले उसलाई मनपर्ने। एक क्षण हेरिरह्यो कराईको चाउमिनलाई। हातको कराईको ढकनी लगायो। ‘खान्नँ।’ मन-मनै भन्यो। खाएन पनि। रात परिसकेको थियो। आफैले पकाएर पनि केही खाएन उसले। उत्तानो पल्टियो ओछ्यानमा। पल्टिनु निमन्त्रणा भयो फेरि सम्भावनाका साना-ठुला विषालु सॉंपहरूलाई। केही ठुँगाइहरूमा उसले आश्वासनको झारमौरो लगायो। राति दुई-तीनखेप उसले अँध्यारोमा पलङको कुनापट्टि हात पुर्यायो। भित्ताको पुरानो बजे घड़ीमा बाह्रपल्ट बजेपछि एकपल्ट फेरि एकपल्ट र अझै एकपल्ट पनि बजेको सुन्यो देवेन्द्रले। छर्लङ्गै हुनेरहेछ —सोचेको थियो तर दुईपल्ट बजेको भने सुनेन। निदाउनु सकेछ उसले। तर बिहान छिट्टै ब्युँझेको उसले निद्रा ठुलो कुरो रहेछ पीरभन्दा, बुझ्यो। ब्युँझेको उसलाई राधाको अनुपस्थिति र धुमधाम भोक लागेको एकसाथ थाहा भयो। खॉंदिनँ चाउमिन।— सङ्कल्प दोहोर्याएपछि ‘बाहिरै खान्छु’ पनि सोच्यो। नौ बजीतिर दैलो ढक्ढकियो। के-के खबरसित को-को आइपुग्छ होला सोचिरहेको उसले दैलो खोल्यो। अघि सोचेकाहरूमध्येकै सालो रहेछ। सधैँजस्तो भेटिरहने सालोले सधैँजस्तो नमस्ते गरेन उसलाई। ‘‘घरमा आउनुहोस् अरे; आमाले भन्नु भा’को’’ निवेदन वाक्यमा थियो तर लयमा थिएन। जॉंदिनँ, सोचेर ‘‘किन?’’ सोध्यो देवेन्द्रले। ‘‘दिदी सॉंझमा आइपुग्नु भो,’’ भन्यो सालोले। सालोलाई देख्दै ढुक्क पनि भइसकेको देवेन्द्र अब अझ ढुक्क भयो। ‘‘तिमी जाऊ, म आउँछु’’ भन्यो देवेन्द्रले। ‘‘लिएरै आउनू भनेको छ,’’ सालोले भन्यो। ‘‘कसले?’’ अनुहार उज्यालिहाल्यो देवेन्द्रको। ‘‘आमाले’’ सुनेर अँध्यारी पनि हाल्यो। ‘‘हैन, तिमी जाऊ। म आउँछु।’’ फेरि भन्यो देवेन्द्रले। सालो गइसकेपछि उसले अलिक नयॉं पतलुङ र कमेज निकालेर इस्त्री लगायो। जुत्ता तानेर ब्रस र पालिस पनि तान्यो।

‘त्यो मान्छे’ बसिरहेको रहेछ। कहिल्यै त्यसरी नहेर्ने त्यसले, त्यसको नजिक-नजिक पुगिरहेको देवेन्द्रलाई हेरिरह्यो। त्यसको एकदम नजिक पुगेपछि देवेन्द्र, त्यसले त्यसको त्यै थाल समाएको हात अघि बढ़ाएर ‘‘दाजु’’ सुनायो। कसैलाई कर्तव्य सम्झाएको। यत्तिका दिनहरूसम्म एकजना स्वाभिमानी पुरुषको रूपमा बुझेको त्यो मान्छेको सम्बोधनले छक्क पर्यो देवेन्द्र तर नअड़ी ऊ हिँड़िरह्यो। अनेक सम्भावनाहरूको निष्कर्षमा, साह्रै भनेछ भने फुत्त निस्केर आउँछु —को कमजोर विचारसित पुगेको देवेन्द्रलाई पहिले सासूले नै देखी। भएकी नै हो कि बनिएकी हो—खुशी अनुहारकी नै सासूले ‘‘ए! ज्वाइँ, आउनुहोस् न,’’ भनी। सासू उभिरही। ‘‘अफिस?’’ बित्थाको सोधी। ‘‘आजु गइनँ,’’ बसेको उसले भन्यो। उत्ता चुह्लातिर फर्केर सासू कराई, ‘‘राधा ज्वाइँलाई चिया बना।’’ ‘‘एक छिन ज्वाइँ’’ थपेर गई उत्तै। आमा-छोरीहरूको अस्पष्ट के-के बुझ्ने कोसिस गर्यो देवेन्द्रले। बुझेन। निक्कैबेरपछि हातमा चियाको कप र ओठमा ब्यङ्ग्यात्मक मुस्कानसित आई साली। ‘‘म त आउनुहुन्न होला भन्दै थिएँ,’’ चिया टेबलमा राखेर भनी। ‘‘किन?’’ सोध्यो देवेन्द्रले। ‘‘तपाईँलाई दिदी अब पुरानो भएको होलाजस्तो लागेको थियो,’’ भनी। सालीलाई हेरेर मुसुमुसु हॉंसिरह्यो ऊ। ‘‘केमा रिस उठेको थियो?’’ सोधी। मुसुमुसु हॉंसी नै रह्यो ऊ। ‘‘बित्थामा त होइन होला नि भेना।’’ मुस्कुराइरहनु अब बल गर्नुपर्ने भयो देवेन्द्रलाई। ‘‘यस्तै हो सधैँ?’’ ‘‘सोध न तिम्रै दिदीलाई,’’ मौनता तोड़्यो देवेन्द्रले। ‘‘भोलि आइतबार। आजु नजॉंदा पनि हुन्छ।’’ भेनाको टाउको टेक्न अग्रसर सालीले कुरा घुमाई।

लोग्ने-स्वास्नी त्यहॉं आइपुग्दा सॉंझ परेको थियो। मान्छेले माग्ने वृत्ति सिकाएर माग्ने शैलीचाहिँ नसिकाएको त्यो मान्छेले देवेन्द्रलाई हातको थाल बढ़ाएर निवेदनहीन लयमा भन्यो ‘‘दाजु’’। झनक्क रिस उठेको देवेन्द्रले स्वास्नीपट्टि फर्किएर त्यो मान्छेलाई देखाएर, रिसाएरै भन्यो, ‘‘यसले गर्दा पो त।’’ नबुझेर छक्क परेकी राधाले सोधी ‘‘के?’’ ‘‘घरमा भन्छु,’’ देवेन्द्रले भन्यो।

(साभारः समकालीन साहित्य)

तपाईको प्रतिक्रिया