डा.मुस्तफा मन्सुरी मुख हाम्रो शरीरको एउटा महत्वपूर्ण अंग हो । हाम्रो शरीरको मुख्यद्वार पनि हो र हाम्रो शरीरको सधंै फोहोर रहने अंगमध्येको एक पनि हो । यहाँ सामान्यतया जतिखेर पनि लाखौं किटाणु रहिरहन्छन् । यी किटाणुलाई नर्मल फ्लोरा भनिन्छ । यसले सामान्यतया हामीलाई केही हानि गर्दैन । तर जब हाम्रो रोग प्रतिरोधात्मक क्षमता घट्छ वा हामीले दाँत तथा जिब्रो सफा नगरेको खण्डमा यी किटाणुको संख्या एकदमै बढेर आउँछ र विभिन्न खतरनाक रोग लाग्न सक्छ । यी किटाणु सजिलै हाम्रा मुख्य अंग मुटुदेखि मिर्गाैलासम्म पुगेर विभिन्न खतरनाक रोग निम्त्याउन सक्छन् । जस्तै: हृदयघात, मधुमेह, बच्चा तुहिनेलगायत रोग । नेपाली जनमानसमा पाइने केही महत्वपूर्ण अन्धविश्वास निम्न प्रकार छन् :

१) दाँतको उपचार एकदमै महँगो हुन्छ

– दाँतको उपचार गराउनु एउटा महत्वपूर्ण लगानी गर्नु हो । जसले हाम्रो शरीरलाई चाहिने पौष्टिक तत्व प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्छ । खानेकुरा चपाउनका लागि दाँत नभई नहुने अंग हो । यसको उपचार गराउनाले दाँतको दुखाइबाट छुटकारा पाउनुका साथै हृदयघात, मिर्गाैलाका रोग, मधुमेह, मुखको दुर्गन्धवाट बचाउने अनि सुन्दरता बढाउने, राम्रो नोकरी, राम्रो सम्बन्ध तथा खुसी प्रदान गर्न मद्दत गर्छ । नेपालमा दाँत तथा मुखको उपचार अमेरिका, अस्ट्रेलिया, इङ्ल्यान्डजस्ता देशमा भन्दा एकदमै सस्तो छ ।स्वाथ्य  पत्रिकामा खबर छ ।

२) दाँतको उपचार गराउँदा हुन सक्ने डर (डेन्टलफोबिया)

– अहिले दन्तचिकित्सा क्षेत्र अत्यन्तै विकसित हँुदै गएको छ । साधारणतया दाँतको उपचारमा दुखाई नहोस् भनी लठ्याउने सुई (लोकल एनेस्थेसिया) लगाइसकेपछि दुखाइको अनुभव हुँदैन । यतिमात्र होइन कि आवश्यकता अनुसार चाहिएको खण्डमा पूरै शरीर निदाउने (जनरल एनेस्थेसिया) अवस्था बनाएर पनि केही सर्जरी गरिन्छ । अतः दाँतको उपचार गराउँदा दुखाइ हुन सक्छ भनेर डराउनु हँुदैन । समयमै दन्तचिकित्सककहाँ गई उपचार गराई मुख तथा दाँतको रोगबाट हुन सक्ने दुःख तथा समस्याबाट बच्न सकिन्छ ।

३) दाँत दुखेपछि मात्र चिकित्सक कहाँ जाने

– प्रायः मानिस दन्तसडन सुरु भइसकेको अवस्था थाहा हुँदाहुँदै पनि दन्तचिकित्सककहाँ उपचारका लागि जाँदैनन् । दाँत दुख्न थालेपछि मात्र समस्या भएको बुझ्छन् । कतिपय त दुखाइ सहनै नसक्ने नभएसम्म उपचारका लागि जाँदैनन् । बिरामीले समयमै दन्तचिकित्सककहाँ गएर आफ्नो मुख तथा दाँतको उपचार गराउनुपर्छ । समयमै उपचार गराउनाले दाँतलाई दन्तसडनबाट बचाउन सकिन्छ तथा अरु मुख तथा दाँतको रोगबाट हुन सक्ने समस्याबाट समयमै जोगिन सकिन्छ । नियमित रुपमा कम्तीमा तीन, तीन महिनाको अन्तरालमा दन्तचिकित्सककहाँ गई आफ्नो मुख तथा दाँत जँचाउनु र दन्तचिकित्सकको सल्लाह अनुसार दाँत सफा (स्केलिङ) गराउनु तथा अरु उपचार गराउनुलाई उत्तम हो ।

४) दाँत फुकालेपछि आँखा कमजोर हुन्छ र दिमागमा असर गर्छ

– यो नेपाली जनमानसमा विद्यमान मुख्य अन्धविश्वास हो । आँखा र दाँतलाई फरक फरक नशाले हाम्रो मस्तिष्कसँग जोडेको हुन्छ । दाँत फुकालेमा आँखा कमजोर हुन्छ भन्नु वा दिमागमा असर गर्छ भन्नु एउटा भ्रम मात्र हो । अतः यो कुरा सत्य होइन र डराउनु हुँदैन।

५) दाँत दुखेका बेला फुकाल्नु हुँदैन

– धेरै जसो मानिस दाँत दुखिरहेका बेलामा दाँत निकाल्न नहुने भ्रम लिएर दुखाइ सहेर बस्छन् र दुखाइ कम होस् भनेर पर्खिबस्छन् । दुखाइ कम भएपछि मात्र दन्तचिकित्सककहाँ पुग्छन् । त्यसरी दुःख सहेर बस्नु हुँदैन र जतिसक्दो चाँडो दन्तचिकित्सककहाँ जँचाउन जानुपर्छ ।

६) दाँत सफा गराउँदा कमजोर हुन्छ, हल्लेर आउँछ तथा सिरिंग हुने समस्या हुन्छ र दाँत फाटिन्छ

– यो एउटा भ्रम मात्रै हो । दाँत सफा एउटा अल्ट्रासोनिक मेसिनले गरिन्छ जसले कम्पनद्वारा दाँतमा जमेर बसेका फोहोरलाई हटाउँछ । यो कुनै धारिलोे मेसिन होइन, त्यसैले यसले दाँत खिइँदैन । मानिसले सिरिंग सिरिंग केही दिनका लागि अनुभव गर्न सक्छ तर त्यो जमेको फोहर सफा भएपछि फलस्वरुप दाँतको जराको भाग देखिन गएर भएको हो । जुन कि त्यही फोहोरु जमेर गिजा तल–तल जरातिर सर्नुको कारणले भएको हो । त्यो फोहोर नै सफा भएपछि दाँतहरुबीच खाली–खाली ठाउँको महसुस गरेर फाटेको जस्तो लाग्नु भ्रममात्र हो । दाँत सफा गराउनाले कमजोर हुने वा हल्लिने हुँदैन । दाँतमा जमेका फोहोर किटाणुको घर हो, त्यो नियमित रुपमा तीनदेखि छ महिनाको अन्तरालमा दन्त चिकित्सकको सल्लाहअनुसार सफा गराइरहनुपर्छ । यसो गर्नाले दाँतलाई समातेर राख्ने हाड तथा गिजा स्वस्थ रहन्छ र यसले मुखको दुर्गन्धको समस्याबाट पनि छुटकारा पाउन सकिन्छ ।

लेखक डा.मुस्तफा मन्सुरी

७) गुलियो खानेकुरा खायो भने मात्र दन्तसडन हुन्छ

– हामीले खाएको खानेकुरा जुन दाँतमा अड्किन्छ, त्यसलाई किटाणुहरुले खाएपछि बनाएको अम्लले गर्दा बिस्तारै दाँतको कडा भाग सड्ने हुन्छ । खानेकुरामा पाइने कार्बोहाइडे«ट र किटाणुको अन्तरक्रियाले त्यो अम्ल उत्पादित हुन्छ । गुलियो खानेकुरामा कार्बोहाइड्रेटको मात्रा बढी हुन्छ । अतः चकलेट र मिठाइजस्ता खानेकुराले दन्तसडनमा बढी भूमिका खेल्छ तर अरु खानेकुरा पनि भात, रोटी, आलु वा अरु तरकारीमा पनि कार्बोहाइडे«ट पाइन्छ र यी खानेकुराले पनि दन्तसडन गराउन भूमिका खेल्छ । अतः खाना खाइसकेपछि दाँत माझ्नु अति जरुरी हुन्छ ।

८) दुधे दाँत अन्ततः झर्ने नै हो । त्यही भएर दुधे दाँतको वास्ता गर्नु अनावश्यक हो

– प्रायः आमाबुबा आफ्नो बच्चाको दन्त सड्न हुँदाहुँदै पनि दाँत भर्न चाहँदैनन् । यो सोचेर कि यी दुधे दाँत अन्ततः झरेर स्थायी दाँत त्यो ठाउँमा आई नै हाल्छ । यदि दन्तसडन भएर केही गरी संक्रमण भयो र सुन्निएर आयो वा दुख्यो भने त्यो दाँत बचाउनुभन्दा पनि निकाल्ने पक्षमा देखिन्छन् । दन्त चिकित्सकको सल्लाह अनुसार दुधे दाँत पनि हाम्रो स्थायी दाँतजस्तै महत्वपूर्ण हुन्छ । ती दाँतले बच्चालाई खान चपाउन मद्धत गर्छ र पछि आउने स्थायी दाँतको ठाउँ निर्धारण गर्छ । अतः स्थायी दाँत उम्रने समय नभएसम्म दुधे दाँत बचाउन सके राम्रो हुन्छ । त्यो दाँत केही गरी समयभन्दा पहिले नै झर्‍यो भने पछि आउने स्थायी दाँत समयभन्दा ढिलो आउने तथा नमिलेर आउने हुन्छ । जसले गर्दा दन्तसडन र गिजासम्बन्धी रोग लाग्ने सम्भावना बढेर आउँछ र ती दाँत मिलाउन पछि अर्थोड्रोन्टिक उपचार तथा सर्जिकल उपचार गर्नुपर्ने हुँदा खर्च पनि निकै लाग्छ । अतः दुधे दाँतको पनि महत्व बुझेर त्यसको हेरचाह र उपचार गरी समयसम्म बँचाउन सके राम्रो हुन्छ ।

९) सबै दाँत झरेपछि मात्र दाँत हाल्ने

– प्रायः मानिस एक–दुइटा दाँत झरेको खण्डमा त्यहाँ दाँत नहालीकनै अरु दाँत पनि झर्ने बेलासम्म पर्खिन्छन् । सबै दाँत एकैचोटि हाल्ने भनेर बस्छन् । यी भ्रम प्रायः जसो बुढापाका उमेरका मानिसमा विद्यमान देखिन्छ । यदि हाम्रो एउटा दाँत झरेर गयो भने पनि त्यो ठाउँमा नक्कली दाँत हाल्न सकिन्छ र हाल्नुपर्छ । अचेल त दाँत रोप्ने (इम्प्लान्ट) प्रविधिको विकाससँगै दाँत राख्न झनै राम्रो भएको छ । समयमै दाँत हालेपछि हाड तथा गिजा सुकेर जाने प्रक्रिया सुरु हुन्छ र हाडको मात्रा राम्रो भएपछि लगाएको दाँत राम्ररी अड्ने हुन्छ । दाँत झरेर खाली भएको ठाउँको विपरीत जव्रामा रहेको दाँत माथि सर्ने तथा छेउछाउको दाँत पनि सरेर खाली ठाउँतिर आउँछ । यसले गर्दा हाम्रो सामान्य रुपले दाँत जुड्ने प्रक्रिया बिग्रिन्छ र फलतः टेम्पोरोमान्डिबुलर जोर्नीेको समस्या हुन सक्ने खतरा हुन्छ । अतः हाम्रो कुनै दाँत केही गरी झर्न गएको खण्डमा सक्दो चाँडो त्यो ठाउँमा दाँत हाल्नुपर्छ ।

१०) दन्तसडन बच्चामा बढी सम्भावित रोग हो

– बच्चाहरु जन्मजात रुपमा दन्तसडनको सम्भावित हुने होइन । यो रोग बच्चामा अधिक मात्रामा देखिनुको कारण हो कि उनीहरु आफ्नो दाँत राम्ररी माझ्न सक्दैनन् । उनीहरुलाई हामीले राम्ररी दाँत माझ्न सिकायौं र उनीहरुले राम्ररी आफ्नो मुख तथा दाँत सफा राख्न सके भने यो रोग धेरै हदसम्म रोकथाम गर्न सकिन्छ । बच्चाहरुलाई घुमाउरो विधि (फोन्स मेथड) सिकाउन सजिलो हुन्छ र उनीहरुका लागि सिक्न पनि सजिलो हुन्छ । अतः दन्तसडन बच्चादेखि बूढासम्म सम्भावना बोकेको रोग हो र यसको सम्भावनालार्इृ मुख, दाँत तथा जिब्रोको नियमित र प्रभावशाली तरिकाले सफा गर्नाले घटाउन सकिन्छ ।

११) गिजाबाट रगत आयो भने दाँत माझ्नु हुँदैन

– मानिसहरु गिजाबाट रगत आउन थालेपछि दाँत माझ्नै बन्द गरिदिन्छन् । यो सोचेर कि रगत खेर गइरहेको छ । तर त्यो सबै गिजाको संक्रमण भएर सुन्निएर निम्त्याएको अवस्था हो । यो सबै राम्ररी दाँत नमाझेर जमेका फोहोरमा रहेका किटाणुको संक्रमणको उपज हो । यस्तो अवस्थामा दाँत हल्का रुपले राम्ररी सवैतिर माभ्mनुपर्छ र दन्तचिकित्सककहाँ गएर उपचार गराउनुपर्छ ।

१२. दन्तचिकित्सक दाँतसम्बन्धी मात्र हो

– धेरैजसो मानिस दन्तचिकित्सक भन्नेबित्तिकै दाँतसम्बन्धी मात्र बुभ्mछन् । तर यो सही बुझाइ होइन । दन्तचिकित्सकहरु दाँत मात्र नभई पूरा मुख, गिजा, जिब्रो, अनुहार, तल्लो र माथिल्लो जव्रा टेम्पोरोमान्डिबुलर जोर्नी, मुखको क्यान्सर, ओठ तथा तालु काटेको वा खुडेको आदि सबैका विशेषज्ञ हुन् ।

यी सबै अन्धविश्वासले गर्दा हामी सक्षम उपचारबाट वञ्चित भइरहेका छौं । जनमानसलाई यो भ्रमबाट निकाल्न सकियो भने दन्त उपचारमा लाग्ने समय र खर्चलाई न्यूनीकरण गर्न सकिन्छ तथा यसबाट मानिसहरुले भोग्नुपर्ने दुःख र समस्याबाट बच्न सकिन्छ ।

तपाईको प्रतिक्रिया