डा. निरञ्जन आचार्य, न्युरोलोजिस्ट, सिभिल अस्पताल निद्रा मस्तिष्कका कोषहरुले आराम गर्ने अवस्था हो । काम गर्दाको थकान मेटाउन शरीरलाई जसरी आरामको आवश्यकता हुन्छ त्यसरी नै ब्रेनलाई पनि आराम गर्नुपर्ने हुन्छ । त्यो आराम ब्रेनले सुत्दा पूरा गर्छ । एक अध्ययनका अनुसार मानिसले जीवनको एक तिहाई समय सुतेरै बिताउने गर्दछ । तर, राम्ररी निद्रा नलाग्नु वा धेरै निद्रा लाग्नुजस्ता समस्याले हामीलाई तनाव दिइरहेको हुन्छ।

केही व्यक्ती राम्ररी सुत्न सक्दैनन् । केहीलाई जति सुत्दा पनि निद्रा पुग्दैन । मेडिकलको भाषामा धेरै सुत्नेलाई नार्कोलेप्सी भनिन्छ भने निद्रा नलाग्नेलाई इन्सोम्निया भनिन्छ । सिभिल अस्पतालमा उपचार गराउन आउनेमध्ये दैनिक १० देखि १५ प्रतिशत बिरामी निद्रासम्बन्धी समस्या लिएर आउँछन् । बदलिँदो जिवनशैली र व्यस्तताका कारण अधिकांशमा यस्ता समस्या देखिएको पाइन्छ । सामान्यतया निद्रा दुई किसिमका हुन्छन् । एउटा हल्का निद्रा र अर्को गहिरो निद्रा ।

हल्का निद्राः राम्ररी सुत्न नसक्नु अथवा सुतेको अवस्थामा थाहै नभई धेरै पटक ब्युँझिनुलाई हल्का निद्रा भनिन्छ । यस्तो समस्या भएका मानिसहरु निद्रामा धेरै पटक ब्युँझिन्छन् तर थाहा पाउँदैनन् । यस्तो निद्रामा सपना धेरै देखिने, निद्रामा बोल्ने, लामो समयसम्म निदाउन नसक्ने र छोटो समयका लागि गहिरो निद्रा लाग्ने र फेरि ब्युझिँने आदि समस्या देखिन्छन् । राति मस्त निदाउन नसकेका मानिसलाई दिउँसो निद्रा लागिरहने, जिउ दुख्ने, स्फुर्ती नबढ्ने, अल्छी लाग्ने आदि हुन्छ ।

गहिरो निद्राः मस्त सुत्नुलाई गहिरो निद्रा भनिन्छ । यो स्वस्थ प्रकारको निद्रा हो । यसलाई ‘साउन्ड स्लिप’ पनि भन्ने गरिन्छ । यस्तो निद्रा पर्नेहरु घरी उठ्ने घरी निदाउने गर्दैनन् । गहिरो निद्रा पर्नेहरु एकचोटि निदाएपछि निद्रा पूरा भएपछि मात्र ब्युँझन्छन् । यस्तो निद्रामा सपना उतिसाह्रो देखिन्न ।

डा. निरञ्जन आचार्य

निद्रा गडबड हुने कारण

१. उठ्ने र सुत्ने समयको टुंगो नभएमा । निदाउने र उठ्ने भनेको हाम्रो शरीरमा हुने विभिन्न हर्मोनहरुको घटबढले हुन्छ । जसलाई ‘सक्र्याडियन रिदम’ भनिन्छ । एउटै समयमा सुत्ने र उठ्ने मानिसको हर्मोनहरुको सन्तुलन पनि त्यही अनुसार मिलेको हुन्छ र निदाउन सजिलो हुन्छ।

२. घुर्ने बानी भएमा । घुर्ने बानी भएका मानिसहरुको रगतमा अक्सिजनको मात्रा घट्छ र कार्वनडाइअक्साइडको मात्रा बढ्छ । त्यसले गर्दा मानिस थुप्रैपटक ब्युँझिरहेको हुन्छ, तर उसलाई थाहा हुँदैन । यस्तो अवस्थालाई ‘स्लिप एप्निया सिन्ड्रोम’ भनिन्छ ।

३. मोटोपन, थाइराइड र डिप्रेसनको समस्या भएमा ।

४. मधुमेह र प्रोस्ट्रेट सम्बन्धी समस्या भएकाहरु, जसलाई राति छिनछिनमा पिसाब लाग्ने हुन्छ ।

५. लागूऔषध दुव्र्यसनीहरुमा ।

६. शरीरका भित्री अंगमा अप्ठेरो भएमा (जस्तैः लिभर, किड्नी, मुटुरोग, दम आदि) ।

७. हर्मोनका कारण पनि धेरै निदाउने वा निदाउन नसक्ने हुन सक्छ ।

उमेरले २० वर्षको हाराहारीमा रहेको एक स्वस्थ व्यक्ति दिनमा आठ घण्टा सुत्नुपर्ने हुन्छ । तर, जति उमेर बढ्दै जान्छ त्यति निद्रा घट्दै जान्छ । उमेर अनुसार मस्तिष्कको परिपक्वता बढ्दै जाने भएकाले निद्रा पनि उमेर अनुसार फरक पर्ने हुन्छ । स्वास्थ्य खबर पत्रिकाले छापेको छ ।

निद्रा लगाउने उपाय

१. आफूलाई सहज हुनेगरी सुत्ने र उठ्ने समय सँधै एउटै बनाउने ।

२. बेलुकी खाना खाइसकेपछि कम्तिमा दुई घण्टा आराम गरेर मात्र सुत्ने ।

३. सुत्ने बेला वा राति उठेर पानी खाने बानी छ भने त्यसलाई कम गर्ने ।

४. घुर्ने समस्या भएकाहरुले उत्तानो परेर नसुत्ने ।दायाँ कि बाँयातिर कोल्टे परेर सुत्ने ।

५. दिउँसो सुत्ने बानी हटाउने ।

६. धूमपान, मध्यपान र लागूपदार्थको सेवन नगर्ने ।

७. स्वस्थ आहार लिने ।

८. मोटोपन घटाउने ।

९. नियमित व्यायाम गर्ने ।

तपाईको प्रतिक्रिया