डा. वेन लिम्बू अकुलोप्लास्टिक सर्जन ग्लोबल आँखा केन्द्र मोतीबिन्दु यस्तो रोग आँखाको भित्री भागमा एउटा पारदर्शी लेन्स हुन्छ । यो लेन्सले काम गर्न छाड्नु अर्थात् अपारदर्शी हुँदै जाने अवस्था नै मोतीबिन्दु हो । मोतीबिन्दुले एक्कासि आँखाको ज्योति गुम्दैन ।

बिस्तारै ज्योति कमजोर गराउँदै लगेर नदेख्ने अवस्थामा पुर्‍याउँछ । क्रमशः आँखाको ज्योति धमिलो हुँदै जान्छ भने मोतीबिन्दु भएको अनुमान लगाउन सकिन्छ । मोतीबिन्दु लागेको आँखाले रातको समयमा बत्ती या टर्चलाइटमा हेर्दा थोप्लोको आकृति देखिन्छ । आँखा चिलाउने र दुख्ने समस्या भने मोतीबिन्दुले गराउँदैन ।

सचेत व्यक्तिले लक्षणकै आधारमा आफूलाई मोतीबिन्दु लागेको थाहा पाउन सक्छन् भने अधिकांश झुक्किन सक्छन् । बिस्तारै–बिस्तारै नजानिँदो ढंगले असर गर्ने भएकाले पनि अधिकांशलाई मोतीबिन्दुले झुक्याउँछ । आँखा गुमेपछि मात्रै थाहा हुन्छ । उमेर ढल्किँदै जाँदा यो समस्या बढी देखिए पनि बालबालिकासमेत यसको सिकार बन्छन् । यो समस्या वंशाणुगत पनि हुन्छ । समयमै उपचार नगरे आँखाको ज्योति पूर्ण रूपमा बन्द हुन्छ ।

यस्ता व्यक्तिलाई बढी सम्भावना उमेरले पाका व्यक्तिलाई मोतीबिन्दुको सम्भावना बढी हुन्छ । तर, वंशाणुगत पनि हुने भएकाले जन्मजात पनि समस्या देखिन सक्छ । आँखाको नानीमा चोटपटक लाग्ने तथा पीडादायी दबाब पर्नाले पनि मोतीबिन्दु हुन सक्छ । आँखामा जथाभावी औषधि प्रयोग गर्ने व्यक्तिलाई पनि यसको सम्भावना बढी हुन्छ । आँखासँग सम्बन्धित नदेखिने जस्तै: हाडजोर्नीसम्बन्धी रोगका बिरामी, सुगर र प्रेसरका बिरामी बढी जोखिममा हुन्छन् । धूम्रपान र मध्यपान धेरै गर्ने तथा लामो समयसम्म घामको संसर्गमा रहने व्यक्तिलाई पनि मोतीबिन्दु हुने खतरा रहन्छ । नयाँ पत्रिकाले छापेको छ ।

उपचार सम्भव छ अधिकांशलाई मोतीबिन्दुको उपचारबारे थाहै हुँदैन । चेतनाको अभाव नै मुख्य समस्याको रूपमा देखिएको छ । तर, यसको उपचार पद्धति सजिलो छ । सामान्य अप्रेसनबाट मोतीबिन्दुको उपचार गर्न सकिन्छ । मोतीबिन्दु भएर आफूलाई असहज भएपछि मात्रै अप्रेसन गर्दा पनि हुन्छ । एकपटक अप्रेसन गरेपछि फेरि समस्या दोहोरिँदैन । तर, सुगर र प्रेसरलाई नियन्त्रणमा राखिसकेपछि मात्रै मोतीबिन्दुको उपचार गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया