डा. जयेन्द्र प्रधानांग नाक, कान, घाँटी रोग विशेषज्ञ बच्चा र वयष्कको कानको एनोटोमीमा फरक हुन्छ । कानबाट घाँटीमा जाने एउटा ट्युब हुन्छ । त्यसलाई हामी स्टुयाच्युट ट्युब भन्छौ । कानको मध्य भागबाट नाकको पछाडि घाँटीसम्म जान्छ । बच्चाको सानो, मोटो र सीधा (तेर्सो) हुन्छ । तर, वयष्कमा भने मसिनो, सानो र ठाडो हुन्छ ।

तरल पदार्थ (दूध) पनि माथिबाट तल जाने हो । बच्चालाई सुताएर दूध खुवाउँदा सीधै कानमा होइन कि घाँटीमार्फत कानसम्म जान्छ । त्यसैले बच्चालाई सुताएर दूध खवाउनु हुन्न भनिएको हो । स्टुयाच्यूट ट्युबबाट दूध जाँदा कानमा इन्फेक्सन हुन्छ । कहिलेकाहीँ कानबाट पिप बाहिर आउँछ । यस्तो अवस्थामा बच्चाहरु कान समातेर रोइरहने र कान कोट्याउने गर्छन् ।

दूध कानमा जाने र इन्फेक्सन हुने समस्या दुई वर्ष उमेरसम्मका बच्चामा बढी देखिन्छ । यो उमेर समूहका बच्चामा आधाजसो दूध कानमा पुगेर इन्फेक्सन हुन्छ । कानको जालीमा पर्दा बाहिरको धूलो पस्छ र इन्फेक्सन हुन्छ । कहिले जाली टालिँदै जान्छ । तर, हिलिङ भएमा प्वाल परेको जाली टालिँदैन । कान पाक्दा हामी बाहिरी रुपमा मात्र इन्फेक्सनको उपचार गर्छौं । तर, भित्र पनि इन्फेक्सन हुँदा कान पाकिरहन्छ । कान पाक्ने समस्यालाई हल्का रुपमा लिनु उचित होइन ।

जालीमा प्वाल भएपछि सुन्ने शक्तिमा कमी आउँछ । पटकपटक इन्फेक्सन हुन्छ र कान पाक्छ । क्रोेनिक हुँदा सुन्ने क्षमतामा निकै कम हुन्छ । कानको माथिल्लो भागको हड्डी खिइँदै जान्छ । ब्यारियर ब्याक खिइँदा फेसियल नर्भमा असर परी आँखा बन्द नहुने र फेसियल एक्सप्रेसनमा समस्या देखिन्छ । ब्रेनमै पनि पुग्न सक्छ । जुन कानमा समस्या हुन्छ त्यही भागको आँखा बन्द नहुन सक्छ । ब्यालेन्स अर्गान र हेयरिङ अर्गानमा पनि समस्या हुन्छ । यस्तो अवस्थामा चक्कर लागिरहन्छ । कान पाकेको छ र नराम्रो गन्ध आइरहेको छ भने अन्य रोगको लक्षण पनि हुन सक्छ । जालीका प्वाल नटालिए र इन्फेक्सन भइरहे शल्यक्रिया गर्नुपर्ने हुन सक्छ ।

कसरी बच्ने ? बच्चालाई सुताएर दूध नखुवाउने । बच्चाको कानमा समस्या देखिएका समयमै उपचार गर्ने । बच्चाको कानमा तेल नराख्ने । तेल राख्दा बाहिरको फोहोर भित्र गएर इन्फेक्सन हुन्छ । औषधि पसलमा गएर कान पाकेको छ भन्दैमा जे पायो त्यही औषधि नराख्ने । नाक, कान, घाँटीका डाक्टरलाई देखाउने ।स्वास्थ्य खबरपत्रिकाबाट

तपाईको प्रतिक्रिया