सुडान -गणतान्त्रिक दक्षिण सुडान (आरएसएस) इस्टर्न गेट गाउँका जोन बिदालको परिवारले भोकभोकै धेरै रात बिताएको छ । बिदालको परिवारले मात्र होइन सो गाउँका झन्डै चार सय परिवार अशिक्षा, भोकमरी र कुपोषणमा बाँच्न बाध्य छ । इस्टर्न गेट राजधानी जुबा नजिकको गाउँ हो । गाउँमा पिउने पानीको समस्या छ । नजिकै स्वास्थ चौकी र विद्यालय पनि छैनन् । खेतीपाती गर्न बीउ छैन । खेती गरिहाल्यो भने पनि अरूले लुटिदिन्छन् ।

जोन बिदालको विवाह सन् २००५ मा भएको थियो । विवाह हँुदा उनको उमेर २० र उनकी जहान सुजना बिदाल १५ वर्षीया थिए ।सुजनाले आफू १६ वर्ष हुँदै मनोबल बिदाललाई जन्माइन् । उनको छोरा मनोबल अहिले कुपोषण पीडित छ भने काखमा अर्का नौ महिनाको युसिक बिदाल पनि छ । इस्टर्न गेटमा मात्र होइन दक्षिण सुडानमा बालविवाह गर्नेलाई कुनै कानुन लाग्दैन ।

जस्ले केटी पक्षलाई वा केटीका परिवारलाई धेरै गाई दिन्छन् उसैसँग उस्को विवाह गरिदिने चलन छ । जुबा सुडानको एक प्रान्त पनि हो । त्यसो त लेक्स प्रान्तमा पर्ने रुम्बेकका स्थानीय पिटर याक विलले पनि विवाह गर्न खोजेका छन् । उनलाई केटी पक्षका मानिसले न्यूनतम एक सय गाईको माग गरेका छन् । झन्डै एक सय गाईको नेपाली मूल्य रु १० लाख पर्छ ।

गाई दिन नसक्नेले लगभग गाईको सङ्ख्याका आधारमा केटी पक्षलाई सुडनिज पाउन्ड उपलब्ध गराउनुपर्छ । यद्यपि केटी भगाएर लगेमा केटाको ज्यान लिनेसम्मको कार्य गरिन्छ । संसारका धेरै कालो छाला भएका मानिस बसोबास गर्ने देश साउथ सुडान हो ।यहाँ सबैभन्दा धेरै कालो मानिसलाई सुन्दर भनिन्छ । साउथ सुडानमा धेरै महिलासँग विवाह गर्ने मानिसलाई समाजको प्रतिष्ठित व्यक्ति मानिन्छ ।

तपाईको प्रतिक्रिया