काठमाडौं, ३ फागुन । एमाले–माओवादी केन्द्रबीच एकीकरण गर्न गठित पार्टी एकता संयोजन समितिले एकीकृत पार्टीमा केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको संयुक्त नेतृत्व रहने मोडालिटी टुंगो लगाएको छ । दुवै अध्यक्षले बैठकको अध्यक्षता र सरकारको नेतृत्व आलोपालो गर्ने मोडालिटी तय भएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

ललितपुरमा बुधबार बसेको संयोजन समिति बैठकले एकीकृत पार्टीको मूल नेतृत्व र तत्कालीन सैद्धान्तिक–वैचारिक कार्यदिशामा पनि सहमति गरेको छ । बहुदलीय प्रतिस्पर्धाको शान्तिपूर्ण बाटोबाट सामाजिक–आर्थिक रूपान्तरण गर्दै समाजवादको आधार खडा गर्ने मूल कार्यदिशामा सहमति भएअनुसार लिपिबद्ध गर्ने प्रक्रिया संयोजन समितिका सदस्य तथा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए । माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्दै जबज र एक्काइसौँ शताब्दीको जनवादका समानता पहिल्याएर नमिलेका विषयलाई महाधिवेशनबाट टुंगो लगाउने दुई दलबीच समझदारी भइसकेको छ ।

प्रधानमन्त्रीको कार्यकालबारे असहमति जारी

त्यस्तै, छलफलमा एमाले नेताहरूले पार्टीको पोजिसनका आधारमा ओलीले कम्तीमा ३ वर्ष सरकारको नेतृत्व गरिसकेपछि प्रचण्डलाई हस्तान्तरण गर्ने कुरा उठाएको छ भने माओवादी नेताहरूले संयुक्त नेतृत्व र आलोपालो सिद्धान्तअनुसार अढाइ–अढाइ वर्ष हुनुपर्ने अडान राखेका छन् । यस विषयमा सहमति हुन बाँकी छ ।

बिहीबार सरकार गठन प्रक्रिया बढाउँछौँ : श्रेष्ठ

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष निर्वाचन प्रतिवेदन बुझाइसकेकाले बिहीबारै नयाँ सरकार गठन प्रक्रिया अघि बढाउने गरी निर्णय गरिने जानकारी दिए । ‘आयोगले परिणाम बुझाइसकेका अवस्थामा तत्काल प्रक्रिया बढाउन भोलि नै निर्णय गरेर अघि बढ्छौँ,’ श्रेष्ठले भने ।

९५ प्रतिशत काम सकियो, बिहीबार टुंग्याउँछौँ

एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता संयोजन समितिले एकतासँग सम्बन्धित ९५ प्रतिशत काम सम्पन्न गरिसकेकाले बिहीबारै सबै टुंगो लगाउने जानकारी दिए । ‘९५ प्रतिशत काम सकिएको छ, बिहीबार सबै टुंगो लाग्छ,’ गौतमले भने ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संयोजन समितिमा एकतासम्बन्धी गम्भीर छलफल भएको जानकारी दिँदै थोरै बाँकी विषयको छलफललाई निरन्तरता दिँदै बिहीबार टुंगो लगाइने बताए । ‘कुराहरू सबै मिल्दै गएका छन्, नमिलेर अड्किएको होइन,’ बैठकपछि श्रेष्ठले भने, ‘समय अभाव भएकाले छलफललाई निरन्तरता दिएर बिहीबार सबै विषय टुंगो लगाइनेछ ।’

तपाईको प्रतिक्रिया