काठमाडाैं, २ फागुन। कृषि विकास मन्त्रालयका उच्च अधिकारीहरु अहिले मन्त्रालयलाई रित्तो बनाएर वैदेशिक भ्रमणमा सहभागी हुन अष्ट्रेलिया पुगेका छन्। आयोजनादेखि मन्त्रालयसम्म सुनसान बनाएर वैदेशिक भ्रमणमा सहभागी हुने चलन पछिल्लो समय निकै बढेको छ।

आगामी चैतमा उमेर हदका कारण अनिवार्य अवकाश पाउन लागेका मन्त्रालयका सचिव डा. सुरोज पोख्रेल मन्त्रालयको तर्फबाट श्रीमतिसहित अष्टे«लिया पुगेका छन्। अन्तराष्ट्रिय कृषि विकास कोष (आईफाड) को ऋण अनुदान सहयोगमा सञ्चालित ‘किसानका लागि उन्नत वीउ विजन कार्यक्रम’ (केयुवीके) आयोजनाको तर्फबाट सचिव पोख्रेल श्रीमतीसहित एक कार्यक्रममा सहभागी हुन अष्ट्रेलिया पुगेका हुन्।

गत् शुक्रबार सचिव पोख्रेलको नेतृत्वमा कृषि राज्यमन्त्री सरिता प्रसाई, मन्त्रालयका सहसचिब तथा प्रवक्ता डा. योगेन्द्र कार्की, कृषि विभागका महानिर्देशक डा. डिल्लीराम शर्मासहित एक दर्जन उच्च अधिकारी केयुवीकेको स्थलगत भ्रमण अवलोकन कार्यक्रममा सहभागी हुन अष्ट्रेलिया पुगेका छन्। टोलीमध्ये सबै अधिकारी आगामी शुक्रबार फिर्ता हुने कार्यतालिका भएपनि सचिब डा. पोखरेल श्रीमतिसहित अष्ट्रेलियामा हुने ‘ईवाटर एण्ड म्यानेजमेण्ट फर एग्रीकल्चर’ तथा ‘क्लाइमेट एक्सट्रिम र सिजनल क्लाइमेट आउटलुक’ कार्यक्रममा सहभागी भएर फर्कने कार्यतालिका छ।

दातृ निकायको अनुदान र ऋणमा सञ्चालित कृषिसम्बन्धी ठूला आयोजनाहरु व्यवसायिक कृषि तथा व्यापार आयोजना(प्याक्ट), प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि तथा खाद्य सुरक्षा आयोजना, उच्च मूल्य शृंखला परियोजना, किसानका लागि उन्नत वीउ विजन कार्यक्रम’ (केयुवीके), जलवायु प्रकोप समुत्थान निर्माण आयोजनालगायतका आयोजना पछिल्लो समयमा मन्त्रालय र सरोकारवाला निकायको लागि वैदेशिक भ्रमणमा जाने ‘बदनाम’ कमाएको संस्थाको रुपमा परिणत भएको छ।

यस्ता आयोजनाहरुबाट एकै पटक ९० जनासम्म वैदेशिक भ्रमणमा विदेश पुगेका छन्। किसानलाई राखिने यस्ता स्थलगत भ्रमणमा भने किसानको नाममा कर्मचारीहरुले पहुँचको भरमा शुभचिन्तक र श्रीमतिहरुलाई सहभागी गराउँदै आएका छन्। वीनरक, इरी, खाद्य तथा कृषि संगठन, मिक्का, डिफिड, इफ्री, एपीओ, डब्लुएफपी, एपीओ, विश्व बैंक, एशियाली विकास बैंक, रेनप्याप, आइएईए, एपीपीपीसी, डेभटेक नेपाल, जाइका, इरी, रिम्स, आइटिपिजीआरएफए, सिमिट, जिआइजेड, कोइका, आइफाड, क्याप्सा, ब्रोका, कोडेक्स, सिप्रेड, सिर्डाप, आईडब्लूआरएमपीलगायतको संस्थाको सहकार्यमा सञ्चालित कृषि आयोजना र स्वदेशी आयोजनाले गर्ने यस्ता भ्रमण कार्यक्रममा मन्त्रालयका सिमित उच्च अधिकारीहरुको सहभागिता हुने गरेको छ।

अधिकांश कर्मचारीको रोजाईमा थाइल्यान्ड, बंगलादेश, श्रीलंका, मंगोलिया, कम्बोडिया, मेक्सिको, भुटान, अस्ट्रेलिया, फिलिपिन्स, जर्मनी, इटाली, भियतनाम, इन्डोनेसिया, इटली, चीन, जेनेभा, मलेसिया, भारत, कोरिया, अमेरिका, जापान, रोम, स्विजरल्यान्डलगायत मुलुक पर्ने गरेको छ। औलामा गन्न सकिने मन्त्रालयदेखि आयोजनाका प्रमुखहरु १२ महिनामा करिब तीन महिनासम्म वैदेशिक भ्रमणमै समय बिताउने गरेका छन्। अन्नपूर्ण पोस्टमा खबर छ ।

तपाईको प्रतिक्रिया