काडमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पार्टी एकीकरणपछि सहअध्यक्ष बन्न सहमत भएका छन् । दुई अध्यक्षबीच मात्र सोमबार भएको वार्तामा पार्टी एकीकरणपछि दुवैजना सह–अध्यक्ष बन्न सहमत भएका हुन् ।

यो सहमतिसँग अब दुई कम्प्युनिस्ट पार्टीबीचको एकता प्रक्रिया अघि बढेको छ । दुई दिनभित्रै पार्टी एकताको प्रारूप घोषणा गर्ने, त्यसपछि सरकार निर्माण गर्ने अनिमात्रै पार्टी एकीकरण गर्ने सहमति दुई नेताबीच भएको छ । नयाँ सरकारमा दुई नेताले आलोपालो नेतृत्व गर्ने सहमति भएको छ। आजको नागरिक दैनिकमा खबर छ ।

‘सुरुमा पार्टी एकताको प्रारूप सार्वजनिक गर्नेछौं अनि सरकार निर्माण गर्नेछौं र त्यसपछि मात्रै पार्टी एकीकरण घोषणा गर्नेछौं,’ माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नागरिकसँग भने, ‘पार्टी एकीकरणमा आशंका गर्ने ठाउँ हिजो पनि थिएन र भोलि पनि हुने छैन ।’ उनका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनमा जनताको म्यान्डेट नै दुई पार्टीबीच एकीकरण र राजनीतिक स्थिरताका लागि भएकाले त्यसबाट दुवै पार्टी दायाँबायाँ लाग्ने छैनन् ।

दाहाल निकट स्रोतका अब दुवै अध्यक्ष एकता प्रारूप निर्माणमा जुटेका छन् । त्यस क्रममा दुवै नेताबीच आलोपालो गरी बैठकको अध्यक्षता गर्ने सहमति भएको छ।

तपाईको प्रतिक्रिया