काठमाडौं, १ फागुन । २००३ सालमा स्थापना भएको साथै प्रत्येक परिवर्तनको साक्षी र अग्रभागमा रहेको पार्टी हो कांग्रेस । पुरानो एवं फरक विरासत बोकेको कांग्रेस तीन पटक स्पष्ट बहुमत प्राप्त दल पनि हो । र, दुई कम्युनिस्ट पार्टीलाई आपसमा भिडाएर सत्ताकै सेरोफेरोमा रहेको पार्टी पनि हो । त्यहीँ कांग्रेसलाई यसपटकको निर्वाचनको मतादेश ‘निल्नु न ओकल्नु’ भएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

यसपटक प्रतिनिधिसभामा कांग्रेस प्रदेश–१, ३ र ५ बाट ५/५ सिट, प्रदेश–२ बाट ६ सिट, प्रदेश–४ र ७ बाट १/१ सिट गरी जम्मा २३ सिटमा खुम्चिएको छ । प्रदेश–४ र ७ बाट १/१ सिट जितेर इज्जत धानेको कांग्रेसले प्रदेश–६ बाट भने एक सिट पनि जित्न सकेन । प्रदेश–६ मा वाम गठबन्धनले प्रदेश र प्रतिनिधिसभा दुवैमा ‘क्लिन स्विप’ गर्‍यो ।

१० वर्षे सशस्त्र संघर्षपछि शान्तिपूर्ण राजनीतिमा आएको तत्कालीन विद्रोही माओवादी पहिलोपटक २०६४ मा भएको संविधानसभाको निर्वाचनमा सहभागी भएको थियो । त्यसवेला ६०१ सदस्यीय संविधानसभामा २२० स्थान जितेर पहिलो दल बनेको थियो ।

राजधानी काठमाडौँका १० मध्ये ६ क्षेत्रमासमेत बाजीमा मारेको माओवादी २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौंमा ‘निल’ भएको थियो । यसपटक एमालेसँग ६०/४० को भागबण्डा गरेर उम्मेदवारी दिए पनि काठमाडौंमा माओवादीको प्रतिनिधित्व सून्य नै भयो ।

एमालेले काठमाडौंबाट प्रतिनिधिसभामा ६ र प्रदेशसभामा १९ स्थानमा उम्मेदवारी दिँदा माओवादीले प्रतिनिधिसभामा ४ र प्रदेशसभामा १ स्थानमा उम्मेदवारी थियो । एमालेका ५ उम्मेदवार सांसद बने भने माओवादी शून्य हुन पुग्यो ।

सडक विस्तार, लोडसेडिङ अन्त्यलगायतका पपुलिस्ट काम माओवादी नेतृत्वको सरकारले काठमाडौँलाई केन्द्रमै राखेर गरे पनि जनताको मन जित्न सकेको छैन । माओवादीलाई सहरी क्षेत्रका जनताले उल्लेख्य मात्रामा पत्याएको यसपटक पनि देखिएन ।

तपाईको प्रतिक्रिया