काठमाडौँ । दुवै मिर्गौला फेल भएर उपचाररत् गायिका जलजला परियारलाई उपचारका लागि आर्थिक सहयोग उपलब्ध हुने क्रम जारी छ । देश विदेशबाट जलजलाको उपचारका लागि सहयोगी हात र मनहरु एकजुट भइरहेका बेला अमेरिकामा बस्दै आएका गायक किशोर सिवाकोटीको संयोजनमा संकलन भएको एक लाख ५६ हजार रुपैयाँ काठमाडौँको टिचिङ अस्पताल पुगेर गायिका परियारलाई हस्तान्तरण गरिएको छ । अमेरिकाबाट पठाइएको उक्त रकम संगीतकार सुनिल मास्के, रेकर्डिस्ट तथा साउण्ड इञ्जिनियर किशोर थापा र संचारकर्मी सार्थक महराले गायिका परियारलाई हस्तान्तरण गरेका हुन् ।

उक्त रकम मुख्य रुपमा अमेरिकामा बस्ने नेपाली भाषी भुटानी दाजुभाइ, अष्ट्रेलियामा बस्ने नेपाली दाजुभाइ तथा दिदीबहिनी एवम् कलाकारहरुले जलजलाको उपचारमा सहजता होस् भन्ने उद्देश्यले संकलन गरेर नेपाल पठाएको र तत्कालै हस्तान्तरण गरिएको जानकारी दिए । लामो समयदेखि अमेरिकामा बस्दै आएका कलाकार तथा नेपालीहरुले गीत संगीतका लागी मात्रै नभएर भूकम्प पीडित, शितलहर पीडितलगायत नेपालमा भइपरी आउने समस्यामा साथ दिँदै आइरहेका छन् ।

तपाईको प्रतिक्रिया