तीन सय शय्याको अस्पताल सञ्चालनमा आएपछि कर्णालीका बासिन्दाले आफ्नै क्षेत्रमा विशेषज्ञ चिकित्सा सेवा पाउने भएका छन् । आइतबार जुम्लामा प्रधानमन्त्री शेरबहादुर देउवाले अस्पतालको उद्घाटन गरेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ७६ करोडको लागतमा अस्पताल भवन निर्माण गरिएको हो । यसको लागत ९१ करोड अनुमान गरिएको भए पनि रसुवा कन्स्ट्रक्सन कम्पनीले ७६ करोडमै ठेक्का लिएको थियो ।

प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले तोकिएको समयभन्दा तीन महिनाअघि नै निर्माण सम्पन्न भएको बताए । नयाँ भवनमा एक सय ५० किलोवाट क्षमताको सौर्य ऊर्जा जडान गरिएको छ ।

अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले कर्णालीमा तीन सय शय्याको अस्पताल बनेपछि पश्चिम नेपालका जनताको स्वास्थ्य सेवामा पहुँच पुग्ने विश्वास व्यक्त गरे । उनले प्रतिष्ठानलाई आवश्यक सहयोग गर्न तयार रहेको बताए ।

उद्घाटन समारोहमा स्वास्थ्यमन्त्री दीपक बोहराले स्वास्थ्य क्षेत्रमा कर्णालीको परनिर्भरता हटेको बताए । उनले भने, ‘अब यहाँका नागरिकले स्वास्थ्य उपचारका लागि दुःख पाउनेछैनन् ।’

कर्णालीवासीमा उत्साह अस्पताल सञ्चालनमा आएपछि कर्णालीवासी उत्साहित बनेका छन् । पत्नी गर्भवती हुँदा उपचार नपाएर मृत्यु भएको सुनाउँदै तातोपानी गाउँपालिका–२ का निलो कामीले भने, ‘अब यहाँका दिदीबहिनीले अकालमै ज्यान गुमाउनु नपर्ला । अस्पताल खुलेपछि खुसी लागेको छ ।’

प्रतिष्ठानका उपकुलपति डा। राजेन्द्रराज वाग्लेले यस क्षेत्रका बासिन्दालाई सुलभ स्वास्थ्य सेवा दिन प्रयासरत रहने बताए । उनले भने, ‘स्तरीय सेवा दिन तथा व्यवस्थापन गर्न चुनौती छ, तापनि सुलभ स्वास्थ्य सेवा दिने प्रयास रहनेछ ।’

अहिले पनि अस्पतालमा सिटिस्क्यान, एक्स–रे मेसिनलगायतको अभाव छ । त्यसका लागि सरकार र दातृ निकायलाई गुहारिरहेको उपकुलपति डा। वाग्लेले बताए । यसअघि पनि प्रतिष्ठानले सय शय्याको अस्पताल, २५ जना विशेषज्ञ चिकित्सकसहित एक सय ५० जना जनशक्तिले सेवा दिँदै आएको थियो ।नयाँ पत्रिकाले छापेको छ ।

प्रतिष्ठानका अनुसार गत वर्ष २९ हजार नौ सय ३४ बिरामीले सेवा लिएका थिए भने दुई हजार चार सय ९१ जनाको शल्यक्रिया गरिएको थियो । एमबिबिएसको पढाइ, फार्मेसी सञ्चालन गर्ने, ब्लड बैंक स्थापना गर्ने, अक्सिजन प्लान्ट राख्नेलगायतका काम एक महिनाभित्र हुने उपकुलपति डा। वाग्लेले बताए ।

तपाईको प्रतिक्रिया