काठमाडौं, २९ माघ । अर्घाखाँची र प्युठानको सिमानामा पर्ने २४५ मेगावाट क्षमता भएको नौमुरे जलविद्युत् आयोजना वर्षौँदेखि चर्चामै सीमित छ ।

दुई वर्ष लगाएर ०४६ मा अध्ययन गरिएको आयोजनाको निर्माण कार्य सुरु भएको केही समयमै बन्द भयो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

तत्कालीन विद्युत् समिति संयोजक पीताम्बर सारूले पञ्चायतकालमा सुरु भएको काम बहुदल आएपछि रोकिएको बताए । अर्घाखाँचीको जलुके–२ स्थित नौमुरे गाउँको नामबाट नामकरण गरिएको यो आयोजनाको प्युठानको हंसपुर पनि आयोजना क्षेत्र हो । त्यतिवेला ९० मिटरको बाँध बाँधेर विद्युत् उत्पादन गर्ने तयारी भएको थियो ।

०६५ मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीका रूपमा भारत भ्रमण जाँदा यो चर्चामा आएको थियो । त्यतिवेला भारतले यो आयोजना बनाइदिने प्रस्ताव गरे पनि नेपाल तयार भएन ।

त्यसपछि ०७१ साउनमा आफैँले बनाउने सरकारले निर्णय गर्‍यो । यो आयोजनाबाट बिजुली उत्पादनसँगै कपिलवस्तुको ४० हजार हेक्टर जमिनमा सिँचाइ हुने योजना थियो । सन् २००७ मा ३२ करोड अमेरिकी डलर लाग्ने अनुमान गरिएको थियो ।

अर्घाखाँचीमा अघोषित लोडसेडिङले उपभोक्ता मारमा परेका छन् । विद्युत् लाइनमा गडबढी आउने गरेका कारणले लोडसेडिङ गर्नुपरेको प्राधिकरण अर्घाखाँची शाखा प्रमुख वीरमान रास्कोटीले बताए ।

तपाईको प्रतिक्रिया