काठमाडौं – पुनाराम न्यौपाने । पेसाले सवारीचालक । ०४६ पछि उनी जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा सवारीचालकको जिम्मेवारीमा छन् । यो अवधिमा उनले ३२ सिडिओ (प्रमुख जिल्ला अधिकारी)को सवारीचालकको जिम्मेवारी पूरा गरिसकेका छन् । तर, मौकाले उनलाई जिम्मेवारी अझै थपियो । पूर्वराजा वीरेन्द्रदेखि कैयौँ प्रधानमन्त्री तथा शीर्ष नेतालाई आफ्नो गाडीमा राखेर यात्रा गराउने अवसर उनलाई मिल्यो । यो अवसरमा उनले नेताका बानी-स्वभाव बुझ्ने मौका पनि पाए । बुटवलस्थित नयाँ पत्रिकाकर्मी विष्णु घिमिरेलाई उनले ती अनुभव यसरी सुनाए :

०४६ पछि जिप्रका रुपन्देहीमा ०४६ देखि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा सवारी चालकको जिम्मेवारीमा छु । यो बीचमा ३२ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ)को चालक बनिसकेँ । सिडिओ अत्यन्तै व्यस्त रहने हुँदा हामी चालकलाई पनि कतिवेला कहाँ जानुपर्छ, ठेगान हुँदैन । रुपन्देहीको सिडिओको चालक भएपछि त झन् व्यस्तता बढी हुनु स्वाभाविक रहेछ ।

गौतम बुद्ध विमानस्थल हाम्रै जिल्लामा छ । त्यसैले जिल्लामा आउनुभएका उच्च ओहोदाका व्यक्तिलाई विमानस्थलमा लिन र पुर्‍याउन जाने काममा व्यस्त हुनैपर्‍यो । तीन दशकदेखि सिडिओको चालकका रूपमा जागिरे भए पनि मैले तत्कालीन राजा वीरेन्द्रदेखि प्रधानमन्त्री तथा दलका शीर्ष नेतासम्मलाई आफ्नो गाडीमा यात्रा गराउने अवसर पाएँ ।

सूर्यबहादुर थापादेखि केपी ओलीसम्मका उच्च ओहोदाका व्यक्तिहरूको चालक बनेको छु । गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई गाडीमा हुइक्याउँदाका कतिपय क्षण रमाइला छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराईलाई कहिले भैरहवादेखि लुम्बिनी त कहिले लुम्बिनीदेखि भैरहवासम्म यात्रा गराएको छु । सूर्यबहादुर थापालाई त भैरहवाबाट लखनउसम्म यात्रा गराएँ । तत्कालीन सिडिओ पुरुषोत्तम भट्टराईको आदेशमा थापालाई लखनउ पुर्‍याएको थिएँ । कैयौँ मन्त्रीलाई पनि यसरी नै यात्रा गराएको छु ।

हुन त म सरकारी जागिरमा ०३६ देखि नै थिएँ । ०३६ देखि ०४३ सम्म परिवार नियोजन संघमा सेवा गरेँ । ०४४ मा सरकारी सेवामा स्थायी भएपछि जिल्ला कृषि कार्यालयमा चालक बनेँ । त्यसपछि कोलोनिका (कोष तथा लेखा नियन्त्रण कार्यालय)मा सरुवा भयो । तर, त्यहाँ सवारीसाधन नै नभएपछि ०४६ बाट जिप्रकामा काजमा आएँ । ०५२ देखि मात्रै यहाँ दरबन्दी मिल्यो ।

जब राजा वीरेन्द्रलाई यात्रा गराउनुपर्ने भयो राजा वीरेन्द्रलाई यात्रा गराउँदाको स्मरण ताजै छ । त्यो कुनै लामो यात्रा भने थिएन । केवल पाँच मिनेटजति मैले यात्रा गराउनुपर्ने भयो । रुपन्देहीको आर्मी क्याम्पबाट कार्यक्रम स्थलसम्म पुर्‍याउन पाँच मिनेटभन्दा बढी लागेन ।

राजा वीरेन्द्र बुटवल आउने भनेपछि सवारी चालक कसलाई बनाउने भन्ने भयो । त्यहाँ रहेका सरकारी चालकमध्ये एकजना रोज्नुपर्ने थियो । त्यो जिम्मा आर्मीका हाकिमहरूको थियो । आर्मीले विभिन्न चालकको परीक्षा लियो । म वीरेन्द्रको चालक बन्न लायक भएँ, अर्थात् पास भएँ । आर्मीका हाकिमलाई गाडी चलाएर देखाउनुपर्ने परीक्षा थियो । त्यतिवेला पानी परिरहेको थियो । मैले सवारीको सिसा नखोली अर्थात् टाउको बाहिर ननिकाली गाडी चलाएर देखाएँ । तर, अरू चालकले भने सिसा खोलेर टाउको बाहिर निकाल्दै साइडको ऐना हेरेर चलाएका थिए ।

तर, मैले सिसा नखोल्नु र टाउको बाहिर ननिकाल्नुको अर्थ पानीले भिजिन्छ कि भनेर थियो । आखिर परीक्षामा पास हुने मुख्य कारण पनि यही बनेछ । पछि, थाहा पाउँदा म आफैँ अचम्ममा परेँ । पास भएपछि मलाई डर बढ्यो । आर्मीले कडा तालिम दिएका थिए । सवारी रोकेपछि पछाडि फर्केर नहेर्नू भनेका थिए । सरकार (राजा)सँग केही नबोल्नू भनेका थिए । आर्मीको कडा आदेशका कारण मनमा बढी डर थियो । राजालाई सवारी गराउने चालकका रूपमा पास भएपछि तत्कालीन अञ्चलाधीशले दौरा, सुरुवाल, कोट र कालो जुत्ता दिए । सवारी चलाउन आउँदा यही लगाएर आउनू भनेका थिए । भनेअनुसारै गरेँ । छोटो दूरी भए पनि मैले राम्रोसँग सवारी चलाएँ । त्यतिवेला अञ्चलाधीशले दिएको कपडा र जुत्ता अहिले पनि सुरक्षित राखेको छु । बुढो हुँदा लगाउनुपर्ला ।

चालकलाई माया गर्ने कृष्णप्रसाद सिटौला मैले धेरै प्रधानमन्त्री, मन्त्री र शीर्ष नेतालाई यात्रा गराएँ । धेरै समय यात्रा गराएकामध्ये एकजना हुनुहुन्छ, कांग्रेस नेता कृष्णप्रसाद सिटौला । त्यतिखेर उहाँ गृहमन्त्री हुनुहुन्थ्यो । उहाँलाई प्युठान र रोल्पा लिएर जाँदा त निकै रमाइलो भएको थियो । जहाँ गए पनि पिकनिकजस्तै । प्रहरीका माथिल्ला स्तरका हाकिम पनि धेरै थिए । स्वागत सम्मान बढी हुने, सवारीको लाम उत्तिकै । यी यात्रामा सिटौलासँग मैले गफ गर्ने मौका पनि पाएँ । उहाँ यात्रामा निदाउनुहुँदो रहेछ । गफ गर्न रुचाउने, अनि गफ गर्दागर्दै निदाउने ।

मैले चलाएको गाडीमा उहाँ मात्रै हुनुहुन्थ्यो । अरूलाई अर्को गाडीमा बस्न भन्नुभएको थियो । त्यो यात्रामा उहाँलाई निद्रा लागेपछि मलाई सुन्तला दिएर आफू सुत्नुभयो । सुन्तला दिँदा उहाँले भन्नुभएको थियो, यो खाँदै गर्नू, ननिदाउनू है । प्युठानबाट नारायणगढसम्म रातारात यात्रा गरियो । उहाँ यात्रामा रमाइलो मान्नुहुन्थ्यो । मप्रति प्रेम पनि दर्शाउनुभयो । विभिन्न जिल्लामा सवारी चालकका रूपमा जाँदा राति बस्नुपर्ने भयो भने त्यहाँका सिडिओलाई भनिदिनुहुन्थ्यो, ‘यो निकै थाकेको छ, यसलाई राम्रो ख्याल गर्नु है ।’ बस्न खानका लागि राम्रो व्यवस्था गर्नू भन्दै मेरा लागि गृहमन्त्रीले सिडिओलाई निर्देशन दिँदा निकै खुसी हुन्थेँ ।

मसँग स्टेरिङ मागेर ज्ञानेन्द्रले आफैँ हाँकेपछि पूर्वराजा ज्ञानेन्द्रलाई पनि यात्रा गराउने मौका मिल्यो । उहाँ राजा बनेको वेलाको प्रसंग हो । उहाँलाई राखेर पाल्पाको आर्मी क्याम्पबाट भैरवस्थानसम्म सवारी चलाउने जिम्मेवारी मलाई दिइएको थियो । आर्मी क्याम्पबाट एकछिन चलाएपछि मन्दिर पुगियो । मैले नै चलाएँ ।

तर, मन्दिरमा पूजाआजा र दर्शन गरेर फर्किंदा उहाँले अचम्मको जोस देखाउनुभयो । त्यतिवेला राजाको अभिनन्दन चलिरहेको थियो । अभिनन्दन चलेका वेला उहाँले आफैँ चलाउनुभयो । तर, धेरैबेर होइन । एकछिन चलाएपछि फेरि मलाई नै स्टेरिङ जिम्मा लगाउनुहुन्थ्यो । उहाँ ओर्लेपछि गाडी अगाडि–पछाडि गराउने काम मेरो हुन्थ्यो । उहाँले सवारी चलाउँदा म पछाडि बस्थेँ ।

बिस्तारै हाँकेको पारसलाई मन परेन पारस शाह युवराजधिराज भएपछि एकपटक रुपन्देही आउनुभएको थियो । देवदहमा कार्यक्रम थियो । मैले नै सवारी हाँकेर लैजानुपर्ने भयो । आर्मी क्याम्पदेखि पारसलाई लिएर सवारी अगाडि बढाए । विशिष्ट व्यक्तिहरूलाई राखेर चलाउँदा बढी संवेदनशील हुनैपर्‍यो । मैले सामान्य गतिमा चलाएको थिएँ । तर, मैले बिस्तारै हाँकेको मन परेनछ । उहाँले मुख खोल्नुभयो, छिटो जानुपर्छ है, छिटो । यसको अर्थ रफ्तारमा चलाऊ भनेको त हो नि !

पैसा टिप्स दिने शेरबहादुर देउवाको बानी देशका शीर्ष नेताहरूको सवारी चालक बन्ने क्रममा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि यात्रा गराएको छु । उहाँ कांग्रेस सभापति बनेपछि यात्रा गराएँ । यस्तो अवसर पटक–पटक आएको छ ।

एकपटक उहाँसहितको टोली टनकपुर निरीक्षण गर्न जाने क्रममा मैले नै जिम्मा पाएँ । भैरहवाबाट प्युठान, नेपालगन्ज हुँदै टनकपुरसम्मको यात्रा थियो, त्यो । गाडीभित्र रहँदा उहाँ मसँग बोल्दै बोल्नुभएन । उहाँको बानी नै त्यस्तै होला । तर, यात्रा सकाएर गाडीबाट झरेपछि टिप्स दिने उहाँको बानी रहेछ । हरेक यात्राको अन्त्यमा उहाँले मलाई टिप्स दिनुभयो । केही खानू भन्दै पाँच सय या सोभन्दा बढी रकम दिनुभएको थियो । उहाँलाई पटक–पटक यात्रा गराए पनि प्रधानमन्त्री भएका वेलाचाहिँ यस्तो अवसर जुरेको छैन ।

प्रचण्ड र ओलीसँग बोली मिसिएन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि यात्रा गराएको छु । भैरहवाबाट गौतम बुद्ध विमानस्थलसम्म प्रचण्डलाई एकपटक यात्रा गराएको छु । ओलीलाई पनि भैरहवा यात्रामा रहेका वेला नै बोकेको हो । उहाँहरूसँग छोटो मात्रै यात्रा भयो । उहाँहरू गाडीमा रहेका अरूसँग गफगाफमा व्यस्त हुनुहुन्थ्यो । मैले बोल्ने मौकै पाइनँ । नयाँ पत्रिकाले छापेको छ ।

३२ सिडिओ कोही सजिला, कोही अप्ठ्यारा ३२ वटा सिडिओको चालक बन्न पाउनु पनि जीवनको रमाइलै पाटो लाग्छ । हालका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीसहित ३२ वटा सिडिओलाई बोकेर हिडेँ । विशिष्ट व्यक्तिसँग छोटो यात्रा हुन्थ्यो, तर सिडियोसँग त धेरै नजिकबाट उठबस भयो । धेरैको स्वभाव जानियो । कुनै सिडिओ निकै रमाइला आए, कोही असजिला लाग्यो । सिडिओमा ललितबहादुर थापा मलाई निकै रमाइला लाग्थे । ज्ञानकाजी श्रेष्ठचाहिँ केही असजिला । यसबारे धेरै कुरा नगरौँ ।

सेवापदक पाएर खुसी सरकारी चालकका रूपमा तीन दशकभन्दा बढी समय बिताएँ । योपटक सेवापदक पाउने भएको छु । सेवा पदक पाउने जानकारी प्राप्त भए पनि वितरण भएको छैन । राष्ट्रपतिको हातबाट सेवापदक पाउने भएपछि खुसी लागेको छ । अब भने चालकबाट राजीनामा दिने सोच पनि बनाएको छु ।

तपाईको प्रतिक्रिया