नागबेली झार त हामी प्रयाःले देखेकै छौं । गाउँघरतिरको वनपाखामा पाईने यो झारलाई हामीले खासै वास्ता गरिँदैन । तर यो झारको उपयोगिता जानियो भने मनग्य कमाउन पनि सकिन्छ ।

नागबेली झारबाट कस्मेटिक सामान, यौन सम्पर्कका लागि प्रयोग हुने कण्डम लगायतका सामान पनि बनाईन्छ । र पछिल्लो समय यसको राम्रै खरिदबिक्री पनि हुन थालेको छ । वनमा खेर गइरहेको नागबेली झारबाट मनग्य आम्दानी हुन थालेपछि पर्वतको उत्तरी क्षेत्रका बासिन्दा नागबेली सङ्कलनमा व्यस्त छन् । जिल्लाका वनौँ, क्याङ, लेखफाँटलगायत गाविसका बासिन्दा नागबेली सङ्कलनमा जुटेका हुन् । स्थानीय वनमा प्रसस्त मात्रामा पाइने नागबेली झारको उपयोगिता बुझ्दै गएपछि उपभोक्ताले सामूहिक रुपमा नागबेली सङ्कलन गरी बिक्री वितरण गर्न थालेका छन् । विगतमा त्यत्तिकै कुहिएर गएको नागबेली अहिले यस क्षेत्रका उपभोक्ताका लागि आम्दानीको गतिलो स्रोत बनेको छ ।

स्थानीयस्तरमा लहरे झार, सिन्धुरे, वनमाला, सिमाललगायत झारलाई विगतमा विवाह व्रतबन्धलगायतका कार्यमा मात्र प्रयोग हुने गरेको थियो । अहिले त्यही झारको कोसाबाट आम्दानी हुने थाहा पाएपछि आफूहरु त्यसको संरक्षणमा जुटेको कमेरे तथा छहरे पाखा सामुदायिक वन उपभोक्ता समूह क्याङका सदस्य श्यामप्रकाश पुर्जा पुनले बताए ।

अहिले क्याङ गाविसका तीनवटा सामुदायिक वनमा छुट्टाछुट्टै रुपमा नागबेली कोसा सङ्कलन गर्न थालिएको छ । सङ्कलन गरिएको कोसालाई घाममा सुकाएर प्रशोधन गरी धुलो बनाएर बिक्री गरिँदै आएको छ । लोहोसे सामुदायिक वनबाट २०० किलो तथा छहेरे र कमेरा पाखा वनबाट करिब १५० किलो पाउडर उत्पादन हुने अनुमान गरिएको छ ।

विदेशमा निर्यात हुने नागबेली झारको कोसाबाट निस्कने मसिनो पाउडरबाट यौन सम्पर्कका लागि प्रयोग हुने कण्डम, अस्पतालमा प्रयोग गरिने पातला प्लास्टिकका सामान, ब्युटीपार्लरका सामान, पाउडरलगायत निर्माण हुने बताइएको छ ।

 

तपाईको प्रतिक्रिया