विराटनगर- प्रदेश नं १ बाट राष्ट्रियसभाका दुई सदस्यका लागि आज भएको निर्वाचनमा दुवैमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।

विराटनगरस्थित वीरेन्द्रसभा गृहमा आज अपराह्न सम्पन्न मतगणनामा दलित समूहबाट एमालेका खेमराज नेपालीले छ हजार २७० मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटम प्रतिद्वन्द्वीे नेपाली काँग्रेसका विनयकुमार विश्वकर्माले दुई हजार २३२ मत प्राप्त गर्नुभएको थियो ।

अल्पसंख्यक समूहबाट एमालेकै अगमप्रसाद बान्तवा विजयी हुनुभयो । बान्तवाले छ हजार १३८ मत प्राप्त गरी विजयी हुनुभएको हो । नेपाली काँग्रेसका महेश जाजुले दुई हजार ८९८ मत मात्रै प्राप्त गर्नुभएको प्रदेश नं १ का सहायक निर्वाचन अधिकृत नवराज दुलालले जानकारी दिनुभयो ।

यसअघि, महिलाको तीन पद र खुलाको तीन पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । कूल आठ स्थानमा एमालेका पाँच, काँग्रेसका दुई र नेकपा (माओवादी केन्द्र) को एकजना निर्वाचित भएका छन् ।

यसअघि निर्विरोध निर्वाचित हुनुहुनेमा खुला समूहबाट एमालेका पर्शुराम मेघी गुरुङ, हरिचरण शिवाकोटी र काँग्रेसबाट रमेशजंग रायमाझी हुनुहुन्छ । त्यस्तै, महिला समूहबाट एमालेका नैनकला ओझा, माओवादी केन्द्रका विना पोखरेल र काँग्रेसका सरिता प्रसाईं हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया