काठमाडौं, २४ माघ । क्रमभंगता माहिर प्रचण्डसँग दह्रो संगत बढाएका केपी ओलीले एकैसाथ दुईवटा क्रमभंग गर्न लागेको देखिएको छ । एउटा- मधेसीलाई सम्बन्ध सुधारेर सरकारमा भित्र्याउने । त्यसो त उनले महन्थ ठाकुरलाई ‘उपराष्ट्रिपति बन्न तयार हुनोस्’ भनेर प्रस्ताव नै पठाइसकेका बताइन्छ ।

उपेन्द्र यादवलाई पनि रोजेको मन्त्रालय लिन भनिएको छ । उता, माओवादी नेता देव गुरुङ भने मधेसीसँग मिलेर हामीलाई साइजमा ल्याउने र ‘बार्गेनिङ पावर’ पनि घटाउने योजनामुताबिक एमालेले चलखेल शुरु गरेको गुनासो पोख्दै हिँडेका छन् ।

जब दुई कम्युनिष्ट नेताहरु बस्छ्न, बाहिर निस्केका सबै कुरा सकारात्मक भन्ने अनि, बाँकी कार्यदल बसेर विस्तृत कुरा टुंग्याउन बाँकी छ पनि भनिदिने गरिएबाट एमाले र माओवादीका केही नेता एकताप्रति संवेदनशील र इच्छुक छैन् कि भन्ने निश्कर्ष पनि निकाल्न थालिएको छ ।

राष्ट्रियसभाको अध्यक्ष रामबहादुर थापा (बादल)लाई बनाउने हो भने माओवादी संगठन विभागको जिम्मा कसले लिने भन्ने समस्या आफ्नो ठाउँमा छ । उता केपी ओलीले, ‘ओहो, बादल साँच्चै सहज मान्छे पो रहेछन् । उनी सिट तालमेलको निम्ति माओवादी कार्यदलको संयोजक भएर आएको बैठकमा १५ मिनेटमै कुरा मिल्छ ।’

भन्दै प्रशंसा गरेपछि कथंकदाचित बादल नै एकीकृत पार्टीको महासचिव हुने हुन् कि भन्ने तरंगसमेत दुवैतिर फैलिएको छ । त्यसो त, ओलीको ‘मन परुञ्जेल बोक्ने र मन पर्न छाडेपछि ठोक्ने’ प्रवृत्तिबारे जानकारहरुले यस्तो चिन्ता राख्नु स्वभाविक पनि हो । अहिले मधेस कार्ड प्रयोग गरेर हामीलाई दबावमा राख्ने केपी ओलीको रणनीति हो भन्ने केही केही माओवादीमा बुझाई पाइन्छ ।

यसैबीच, उपेन्द्र यादवले पनि नयाँ सरकार गठनमा संवैधानिक अड्चन देखिएर ढिलाई भएपछि ‘आखिर एमालेले पनि संविधान संशोधनको औचित्यता र आवश्यकता त देख्यो नि ! अनि हामीले भन्दै आएको प्रादेशिक स्वरुप पनि बनेरै छाड्यो’ भन्न थालेका छन् । यही विषयलाई आधार बनाएर संविधान संशोधनमा तयार छौं भन्दै एमालेबाट बचन लिने र आफ्नोसमेत ‘फेस सेभिङ’ हुने गरी सरकारमा जाने कि भन्ने विषयमा मधेसी दलहरु विशेषगरी उपेन्द्र यादवले छलफल सुरु गरेको स्रोतले बताएको छ । जनआस्था साप्ताहिकमा खबर छ ।

तपाईको प्रतिक्रिया