नेपालको सन्दर्भमा केटा मान्छेहरू भान्सामा कमजोर हुन्छन् । छोरी मान्छे सानैदेखि भान्सामा सक्रिय हुनुपर्ने, तर छोरा मान्छेलाई भान्साको जिम्मेवारी नै नपर्ने नेपालको पुरानै चलन हो ।

बद्री पंगेनी, गायक तर, मेरो सवालमा भने केही फरक छ । सानैदेखि भान्साको काम सिकेँ । स्कुल पढ्दादेखि नै भान्साको सबैजसो काम जानिसकेको थिएँ ।

श्रीमतीलाई परिकार बनाउन सिकाएको मैले नै हो । उनी सानै छँदा भगाएर ल्याएँ । उनलाई खाना तथा परिकार बनाउन आउँदैनथ्यो । मैले नै सिकाएर सबै जानिन् । अहिले त मभन्दा मीठो पकाउँछिन् । मैले सबैभन्दा मीठो पकाउने मासु हो, अहिले त मैलेभन्दा श्रीमतीले नै मीठो पकाउँछिन् ।

त्यसो त अहिले पनि नयाँ–नयाँ परिकार बनाउन निकै रहर लाग्छ । फुर्सद भएपछि भान्सामै सक्रिय हुन मन लाग्छ । मासुका नयाँ–नयाँ परिकार बनाएर समय बिताउँछु । बाहिर कार्यक्रममा हिँड्दा पनि बसेको ठाउँमा मासु बनाउनुपर्‍यो भने म अघि बढिहाल्छु । धेरै कलाकारले मैले पकाएको खानुभएको छ । पाहुना लाग्न जाँदा पनि पछि हट्दिनँ । मासु भनेपछि त होटेलमा समेत पकाउन तम्सिने मान्छे हो । मासु देखेपछि त्यसै पकाऊँ–पकाऊँ लागिहाल्छ ।नयाँ पत्रिकाले छापेको छ ।

घरबाहिर होटेल तथा विदेशमा नयाँ–नयाँ परिकार खाँदा त्यसको स्वाद मीठो लाग्यो भने पकाउने तरिका सिक्न मन लाग्छ । विदेशमा जाँदा सकेसम्म नेपाली खाना खान्नँ । फरक स्वाद नै चाखौँ भन्ने लाग्छ । कोरियन, चाइनिज खाना बढी मन पर्छ । सबैभन्दा मन नपरेको चाहिँ सुडानी खाना हो । माछाका परिकार भने मन परे पनि पकाउन आउँदैन । श्रीमतीलाई पनि आउँदैन ।

भान्सामा खाना पकाउन मात्रै होइन, भाँडा माझ्न पनि अल्छी लाग्दैन । घरबाहिर खाना खाँदा पनि आफूले खाएको भाँडा आँफै माझ्छु । ०५१ सालदेखि यो काम जारी छ ।

तपाईको प्रतिक्रिया