काबुल, अफगानिस्तान, २३ माघ – अफगानिस्तानको सरकारले हालै राजधानी काबुलमा भएको आतङ्ककारी हमलामा ११ सैनिकको मृत्युको घटनामा जिम्मेवारी निर्वाह गर्न नसकेको आरोपमा दुई सैनिक जनरलसहित सात सैनिक अधिकारीलाई बर्खास्त गरेको छ ।

जनवरी २९ मा भएको उक्त हमलामा ११ सेनाको मृत्यु भएको र १६ जना घाइते भएका थिए । आक्रमण आफ्नो समूहले गराएको भनी इश्लामिक स्टेट (आइएस) समूहले जिम्मेवारी लिएको थियो ।

अफगानी राष्ट्रपति मोहम्मद असरफ घानीको निर्देशनमा बनेको छानविन समितिले राष्ट्रिय सेनाको राजधानी काबुलबाट नजिकै पश्चिममा रहेको १११ जनाको प्रथम गणमा आइएसले गरेको आक्रमणमा सात सैनिक दोषी भएको ठहर गर्दै अनुसन्धान प्रतिवेदन बुझाएको र यसैको आधारमा उनीहरूको बर्खास्त गरिएको राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गरी जनाएको छ ।

अनुसन्धानले घटनामा दुई उच्च सैनिक अधिकारीसमेत आफ्नो जिम्मेवारीप्रति सजग नभएको बताइएको छ । विज्ञप्तिमा भनिएको छ, “सुरक्षाकर्मीको कामलाई मुल्याङ्कन गरी सजाय र पुरस्कारको व्यवस्था गरिनेछ ।”

सम्पूर्ण सातै सैनिक अधिकारीलाई बर्खास्तपछि थप अनुसन्धानका लागि सम्बन्धित निकायमा पेश गरिएको सरकारले जनाएको छ ।

कडा सुरक्षामा राखिएको भनिएको अफगानिस्तानको राजधानी काबुलमा जनवरीमा भएका तीन छुट्टाछुट्टै आक्रमणमा १०० जनाले ज्यान गुमाएका थिए भने २०० जना घाइते भएका थिए ।

तपाईको प्रतिक्रिया