सरकारी बजेट वितरण गर्दा एक विद्यार्थीको नाममा १३ हजार ४८९ रुपैयाँ खर्च हुन्छ, तर त्यसका भागीदार विद्यार्थीको नियति यस्तो छ

टिनको टहरा, ह्वांगै कोठा । चिसो ढुंगामा बसेर ससाना नानीहरू कापीमा आफ्नो भविष्य कोर्दै छन् । शिक्षाका नाममा वर्षमा सवा खर्ब खर्च गर्ने देशका बालबालिकाको यो नियति देख्ने जोकोहीलाई पनि आश्चर्य लाग्छ ।

सिन्धुलीको घ्याङलेक गाउँपालिका–५ बगरटोलस्थित माटोखानी बालज्योति प्राथमिक विद्यालयमा पाँचदेखि ९ वर्षका ३३ बालबालिका अध्ययनरत छन् । पुस–माघको चिसोमा पनि उनीहरू बगरको ढुंगामा बसेर पढ्न विवश छन् । यहाँ पढ्ने अधिकांश बालबालिका दलित समुदायका छन ।

३५ घरधुरी रहेको दलित बस्तिका बालबालिका खुल्ला बगरको ढुंगामाथि बसेर पढ्दै आएको पनि ७ बर्ष बितेको शिक्षिका बर्षा विकले बताईन् । ‘हाम्रो यो बस्ती रहेको बगरटोल नजिकै अरु विद्यालय छैन र नजिकैको विद्यालय पुग्न एक घण्टा लाग्छ । साना बालबालिका हिड्न नसक्ने भएकाले गाउँमै टहरा बनाएर माटोखानी बालज्योती विद्यालय स्थापना गरेका हौँ,’ उनले भनिन् ।

अभिभावक रुपेश विकका अनुसार साविकको गाविस हुँदा विद्यालयको लागि वार्षिक ४० हजार छुट्याइएको थियो । सोही रकमले शिक्षकलाई तलब खुवाउने र विद्यालयको लागि टिन र अन्य शैक्षिक सामग्री किनेको उनले बताए । ‘यसरी पढ्दै आएका बालबालिकाका लागि न त जिल्ला शिक्षाले नै देख्यो न त अन्य सरोकारवाला निकायले नै ?’ उनले भने । टहरो माथि घोप्ट्याएको टिन बतासले उडाएर बच्चाहरु घाइते हुन्छन् कि भन्ने निकै डर हुने उनको भनाई छ ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

तपाईको प्रतिक्रिया