तेह्रथुम, २० माघ (रासस) : तेह्रथुमको छातेढुंगामा सम्पन्न भगवती रनिङ पुरुष फुटबल प्रतियोगिताको उपाधि घरेलु टोली छातेढुंगाले जितेको छ ।

आज भएको फाइनल खेलमा याशोक पाँचथरलाई २–० ले हराउँदै छातेढुंगाले उपाधि चुमेको हो ।

छातेढुंगाका लागि विकास राईले खेलको ५५ औँ र ६८ औँ मिनेटमा गोल गरेका थिए । उपाधिसँगै छातेढुंगाले रु एक लाख पाँच हजार १११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

हारसँगै उपविजेतामा चित्त बुझाएको पाहुना टोली याशोक पाँचथरले रु ५१ हजार १११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

पुरुष फुटबल प्रतियोगितासँगै यस वर्षको दीपावली मेला र सबै खेलकुद प्रतियोगिताहरू समेत सम्पन्न भएका छन् । सबै प्रतियोगितामा विजयीहरूलाई पुरस्कार वितरण गर्दै यो वर्षको दिपावली मेला सम्पन्न भएको आयोजक मानव कल्याणकारी सेवा केन्द्रका अध्यक्ष तेजमान कन्दङवाले जानकारी दिुनुभयो ।

मेलाको अवसरमा आयोजित पुरुष भलिबलतर्फ विजयी खेलकुद विकास समिति, खाम्लालुङले रु ३० हजार र उपविजेता बनेको ओसिस युनाइटेड, ताप्लेजुङले रु १५ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

महिला फुटबलतर्फ विजयी पोमु केछाङ युवा क्लब, निगुरादिन ताप्लेजुङले रु ३० हजार र उपविजेता बनेको पोखरी मावि, छातेढुंगाले रु २० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

विगतमा हरेक वर्ष तिहारमा लाग्दै आएको दिपावली मेला यो वर्ष चुनावका कारण प्रभावित भएर माघमा मात्रै लागेको हो । मानव कल्याणकारी सेवा केन्द्र र दिपावली मेला समितिको संयुक्त आयोजनामा माघ १४ गतेदेखि मेला सुरु भएको थियो ।

तपाईको प्रतिक्रिया