दोलखा । बुद्ध नेपालमा जन्मिएको हो भन्ने कुरामा कुनै आशंका छैन तर केहि भारतियहरुले बुद्धको जन्मथलो भारतमा हो भनेर भ्रम छर्ने कोसिस गरिरहेका छन् ।

वैदेशीक रोजगारीको सिलसिलामा ४ बर्ष दक्षिण कोरिया बसेकी दोलखाकी छोकी शेर्पाले शान्तिका अग्रदूत बुद्धको जन्म भारतमा भएको कुरा भियतनाम, चिनिया, कोरियन तथा भारतीय साथीहरुको मुखबाट सुनिन् । यसले उनलाई साह्रै पीडा भयो र उनी बुद्ध नेपालमा जन्मिएको कुरा विश्वलाई सुनाउन विश्वको सर्वोच्च शिखर सगरमाथाबाट अभियान थाल्ने सङ्कल्प लिएर नेपाल फर्किईन ।

दोलखा गौरीशङ्कर गाँउपालिका वडा नम्बर ९ सिमिगाँउकी छोकी शेर्पा सर्वोच्च शिखरमा बुद्ध नेपालमा जन्मिएको हो भनेर लेखिएको झण्डा र नेपालको झण्डा फहराउने सपना सहित अभियानमा लागेकी छन् । नेपाल समाचारपत्रमा खबर छ ।

२७ बर्षकी छोकी शेर्पा आगामी चैत्र २५ गतेबाट सगरमाथा आरोहणको अभियानमा निस्कदै छिन् । अभियानको लागि झण्डै ३० लाख खर्च हुने भएकोले उनी अहिले सहयोगी दाताको खोजिमा छिन् ।

उनको अभियानमा अहिले पाएनियर एड्भेन्चर प्रालिले ब्राण्ड स्पोन्सर गरिदिएको छ । उक्त कम्पनिले छोकी र उनीसंगै सगरमाथा अभियानमा संलग्न काभ्रेपलाञ्चोककी सर्मिला तमाङलाई माउण्टेनियरिङ गियर लगाएत क्लोथिङ ब्राण्ड सामानहरु उपलब्ध गराई दिने भएको छ ।

छोकी र सर्मिलाले आफुहरुले सुरु गरेको अभियानले बुद्धको जन्मथलो नेपाल हो भन्ने कुरा विश्वलाई जानकारी गराउने र विदेशमा रोजगारीको लागि पुगेका महिलाहरुले बिभिन्न खाले हिंसा भोग्नु पर्ने भएकोले उनीहरुलाई नेपालमै फर्किएर पर्यटकीय विकास र रोजगारी सिर्जना गर्ने अभियानमा लाग्न उत्प्रेरीत गर्ने विश्वास लिएका छन् ।

तपाईको प्रतिक्रिया