काठमाडौँ । नेपालका ‘प्रतिक्षित’ प्रधानमन्त्री केपी ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भएको पौने घण्टा लामो ‘वन(अन(वन’ वार्ता को एक उल्लेख्य अंश मिर्गौला प्रत्यारोपण गरेका बिरामीहरूले लिनुपर्ने सावधानी, खानपान र औषधी आदिबारे खर्च भयो । ओली र स्वराज दुवै मिर्गौला प्रत्यारोपण गरेका बिरामीसमेत भएकाले, त्यो स्वभाविक पनि थियो । स्वास्थ्य चर्चाको यो प्रसंग एमालेले दिएको रात्रिभोजमा पनि केहीबेर दोहोरियो ।

भोजमा सहभागी एक एमाले नेताका अनुसार भारतीय विदेशमन्त्रीको भाषा र भावभंगिमा हेर्दा भारत नयाँ तरिकाबाट नेपालसित सम्बन्ध सुधार्न तयार रहेको बुझ्न सकिन्थ्यो । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

भारतीय विदेशमन्त्री कसको निमन्त्रणमा नेपाल आउनुभएको हो ?भन्ने यो पंक्तिकारको जिज्ञासामा एक वरिष्ठ भारतीय अधिकारीले भने, ‘एक मित्र आफ्नो निकटतम मित्रको घरमा ड्रप बाइ गरेजस्तै हो यो भ्रमण । हामी दुई देशका नेता वा जनतालाई एकअर्काकोमा आउन-जान खास कारण हुनै पर्छ भन्ने छैन । सुष्माजीले भेटघाटको इच्छा व्यक्त गर्नुभयो, नेपाली मित्रहरूले स्वागत गर्नुभयो ।’

के भारत अब नेपालमा आफूले विगतमा गरेका गल्तीहरूको ‘कोर्स करेक्सन’ गर्ने निर्णयमा पुगेको हो त? ती वरिष्ठ भारतीय अधिकारीले थपे, ‘तपाईं आफ्नो सुविधाका निम्ति चाहेको शब्दावली प्रयोग गर्न सक्नुहुन्छ । हामी नेपालमा अब नयाँ बन्ने सरकारसँग नयाँ तरिकाबाट सम्बन्धको विकास गर्न तयार र खुला छौं भन्ने सन्देश दिन चाहन्छौं ।’

तपाईको प्रतिक्रिया