काठमाडौं, १९ माघ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालमा बन्ने नयाँ सरकारसँग भारतनिकट रहेर काम गर्न आतुर रहेको सन्देश दिएकी छिन् । प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रूपमा बिहीबार काठमाडौं ओर्लिएलगत्तै ‘भावी प्रधानमन्त्री’का रूपमा हेरिएका एमाले अध्यक्ष केपी ओलीसँग ‘वन अन वन’ पहिलो भेटवार्ता गर्दै स्वराजले यस्तो सन्देश सुनाएकी हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

तीन साताकै बीचमा ओलीको नेतृत्वमा वाम गठबन्धनको सरकार बन्ने सम्भावना देखिएका वेला नयाँ सरकारसँग सहकार्य गर्न भारत इच्छुक रहेको उनको सन्देश थियो । विमानस्थलबाट ओलीसहित एमाले नेतृत्वसँगको भेटवार्ताका लागि सीधै होटेल सोल्टी क्राउन प्लाजा पुगेकी स्वराजले प्रदेश र प्रतिनिधिसभामा गठबन्धनले बहुमत जनसमर्थन प्राप्त गरेर दुवैतिर सरकार बनाउन लागेकोमा बधाईसमेत दिइन् ।

‘मेरोतर्फबाट मात्रै होइन, मेरो दल र भारत सरकारका तर्फबाट प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा प्राप्त गर्नुभएको बहुमत जनसमर्थनप्रति तपाईंहरूलाई धेरै–धेरै बधाई छ,’ स्वराजको भनाइ उद्धृत गर्दै एमाले नेता डा. राजन भट्टराईले भने, ‘प्रधानमन्त्री नरेन्द्र मोदीजीले त टेलिफोन गरेरै बधाई भनिसक्नुभएको छ, तर पनि उहाँले मलाई मेरैतर्फबाट बधाई दिनुहोस् भन्दै सन्देश पठाउनुभएको छ, केन्द्र र प्रदेशमा प्राप्त गर्नुभएको जनसमर्थनप्रति भोलिको कामका लागि तपाईंहरूलाई थप शुभकामना छ ।’ स्वराजको अभिव्यक्तिलाई नयाँ सरकारसँग भारत सुमधुर सम्बन्धका साथ अघि बढ्न चाहिरहेको कूटनीतिक सन्देशका रूपमा लिइएको छ ।

भेटवार्तामा विदेशमन्त्री स्वराजले नेपालको विकास र समृद्धिका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएकी थिइन् । जवाफमा ओलीले नेपालको लोकतान्त्रिक प्रक्रियामा भारतको सहयोग र सद्भाव रहेको भन्दै नेपालको समृद्धिका लागि भारतसँग सहकार्य र घनिष्ट सम्बन्धका साथ अघि बढ्न तयार रहेको बताएका थिए । भारतीय वायुसेनाको विशेष विमानमार्फत अपराह्न साढे ३ बजे काठमाडौं ओर्लिएलगत्तै स्वराजले एमाले अध्यक्ष ओलीसँग पहिलो ‘वन टु वन’ भेटवार्ता गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया