वीरगञ्ज, १७ माघ – कठ्यांग्रिँदो जाडो, हुस्सु र अत्यधिक चिसोमा चारकोशे झाडीभित्र कखरा सिक्दै ७० जना दलित बालबालिका अभाव पीडामा आफ्नो उज्ज्वल भविष्य कोर्दै छन् ।

जीतपुर सिमरा उपमहानगरपालिका–१७ मा रहेको सहजनाथ साझेदारी वन क्षेत्रको चारकोशे झाडीभित्र रहेको नेपाल दलित प्राथमिक विद्यालय टाढाबाट हेर्दा गाईगोठजस्तो देखिन्छ । खरले छाएको छाप्रो, बाँसले बनेको सो विद्यालयमा अध्ययनरत ७० जना विद्यार्थीमध्ये सात वर्षीय राहुल पाशवान भविष्यमा चिकित्सक बन्ने लक्ष्य लिएर कक्षा २ मा पढ्दै आएका छन् ।

कक्षा १ देखि ४ सम्म अध्ययन अध्यापन हुने सो विद्यालयका सबै विद्यार्थी एउटै कक्षा कोठामा पढ्ने गर्दछन् । दलित तथा सुकुम्बासी परिवारका उनीहरु कखरा सिक्दै आफ्नो उज्ज्वल भविष्य कोरी रहेको विद्यालयकी प्रधानाध्यापिका लक्ष्मी चौधरीको भनाइ छ ।

जिल्ला शिक्षा कार्यालय बाराले विद्यालय सञ्चालनका लागि अध्ययन नै नगरी २०६६ सालमा विद्यालय सञ्चालनको लागि अनुमति दिएको हो । चारकोशे झाडीभित्र सञ्चालनमा रहेको सो विद्यालयमा टेबुल कुर्सीलगायतका फर्निचर नभएकाले बालबालिका घरबाटै ल्याएको बोरा र सुकुलको साहारामा पढ्न बाध्य रहेको विद्यालयकी अर्का शिक्षिका कलपतियादेवी रामको गुनासो छ ।

कक्षा १० सम्म अध्ययन गर्नुभएकी प्रधानाध्यापिका लक्ष्मी चौधरीले जिल्ला शिक्षा कार्यालयबाट बाल विकास अनुदान शीर्षकमा आउने रु छ हजार महिनामा काम गर्दै आउनुभएको छ । डेक्स, बेञ्च कालोपाटीलगायतका पूर्वाधारको अभावमा सञ्चालनमा रहेको सो विद्यालय भगवान्को भरमा चलिरहेको स्थानीयबासी बताउँछन् ।

जिल्ला शिक्षा अधिकारीले विद्यालयको भौतिक पूर्वाधार बढाउन चासो नदेखाएको भन्दै जितपुर सिमरा उपमहानगरपालिका–१७ का वडाध्यक्ष नवराज खड्का आक्रोश पोख्दै भन्नुभयो–‘‘शिक्षा कार्यालयले ध्यान नदिँदा विद्यालयको अवस्था जीर्ण बन्दै गएको छ ।’’

यस विषयमा जिल्ला शिक्षा अधिकारी लालबाबु साहले यस्तो समस्या जिल्लामा धेरै विद्यालयको भएकाले अब आउने स्थानीय सरकारले समाधान गर्ने बताउनुभयो । प्रधानाध्यापक चौधरी नभएको बेला शिक्षिका कलपतियादेवी रामले नै विद्यार्थीलाई कखरा सिकाउने गर्नुहुन्छ । उहाँको तलब मासिक रु चार हजार रहेको छ ।

वन क्षेत्रमा सरकारले लगानी गरेर विद्यालय बनाउन नमिल्ने भएपछि सो विद्यालयको अवस्था दिन प्रतिदिन जीर्ण हँुदै गएको छ । डुबरवाना स्रोत केन्द्रअन्तर्गत रहेको सो विद्यालयको स्तरोन्नति नगरिए थुपै्र बालबालिकाको भविष्य अन्यौलमा रहनेछ ।

जंगलको बाटो, बीचमा खोला तर्नुपर्ने तथा जंगली जनावरको त्रासजस्ता जोखिम उठाएर अध्ययन गर्न जानुपर्ने बाध्यताको कारण कतिपय अभिभावकले आफ्ना बालबालिकालाई पढाइ छोडाएर काममा लगाउने गरेका छन् ।

शान्ति प्रक्रियाको क्रममा जिल्लाको विभिन्न ठाउँबाट आएका सुकुम्बासीले खाली स्थान अतिक्रमण गरी बस्दै आएको र उनीहरुको बालबालिका पनि पढ्न सकून् भनेर जिल्ला शिक्षा कार्यालयले अनुमति दिएपछि उक्त विद्यालय सञ्चालनमा आएको हो । मटियाही गाउँको नामले परिचित सुकुम्बासी बस्तीका दलित बालबालिका पढ्ने सो विद्यालयको अवस्थामा सुधार ल्याउनुपर्ने माग मटियाहीवासीको छ ।

तपाईको प्रतिक्रिया