सर्वोच्च अदालतले कृषिजन्य सामग्रीमा जथाभावी हुने विषादीको प्रयोगमा रोक लगाउन परमादेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कृषि मन्त्रालयलगायत नौवटा सरकारी निकायलाई निर्देशनात्मक आदेश दिएको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

देशभर तरकारीमा भएको विषादी प्रयोगले आममानिसको स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएको भन्दै अधिवक्ता तुलसी सिंखडाले रिट दायर गरेका थिए ।

देशभरका आमउपभोक्ताले विषादीरहित तरकारी खान पाउनुपर्ने र उपत्यकामा भित्रने कृषि सामग्रीको परीक्षण हुनुपर्ने माग रिटमा थियो । रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले सरकारका नाममा विषादी नियन्त्रण गर्न आदेश जारी गरेको हो ।

नेपालमा प्रत्येक वर्ष भित्रने साढे तीन सय मेट्रिक टन विषादीमध्ये ८५ प्रतिशत विषादी तरकारीमा प्रयोग हुने गरेको वाली संरक्षण निर्देशनालयको तथ्यांक छ ।

बजारमा जथाभावी बिक्री भइरहेका कीटनाशक विषादी एग्रोभेटबाट सीधै तरकारीमा प्रयोग हुने गरेको छ । किसानले विषादी खाद्यान्नसहित हरियो तरकारीमा प्रयोग गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया