एमाले स्थायी कमिटी बैठकले सातै प्रदेशका प्रदेश प्रमुखबाट सम्बन्धित प्रदेशसभाहरूको पहिलो बैठक आह्वान भइसकेको हुँदा प्रदेशसभाको प्रथम बैठकअगावै प्रदेशसभा संसदीय दलको बैठक आयोजना गर्ने र प्रदेशसभामा दल तथा दलका सदस्यहरूका तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकाका सम्बन्धमा छलफल गर्ने र आवश्यक निर्णय गर्ने तय गरेको छ ।

बैठकले संसदीय दल नेताको निर्वाचन सम्पन्न भएको प्रदेशमा दल नेताको अध्यक्षतामा र दल नेताको निर्वाचन सम्पन्न हुन बाँकी रहेका प्रदेशमा ज्येष्ठ सदस्यको अध्यक्षतामा प्रदेशसभा संसदीय दलको बैठक बस्ने तय गरेको छ ।

पार्टीले प्रदेशसभा संसदीय दलको नेता चयन हुन बाँकी रहेका प्रदेशहरूमा यही माघ २४ गते राष्ट्रियसभा सदस्यको निर्वाचन सम्पन्न भएलगत्तै ज्येष्ठ सदस्यको अध्यक्षतामा प्रदेशसभा संसदीय दलको बैठक बस्ने र दल नेताको चयन गर्ने भएको छ ।

ज्येष्ठ सदस्यको अध्यक्षतामा सञ्चालित प्रदेशसभा संसदीय दलको बैठकले दल नेताको चयनसम्बन्धी विधि र प्रक्रिया तय गर्ने छ । दल नेताको निर्वाचनका लागि दलको बैठकबाट तीन सदस्यीय निर्वाचन कमिटी गठन गर्नेछ ।

प्रदेशसभा संसदीय दलको नेताका लागि एकभन्दा बढीको उम्मेदवारी परेमा गोप्य मतदानद्वारा निर्णय गरिनेछ । दलका नेता वा सभामुखको निर्वाचनलगायत निर्वाचनको सिलसिलामा कुनै पनि प्रकारका अनुचित र अस्वस्थ गतिविधि नगर्ने÷हुन नदिने निर्णय पनि बैठकले निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया