अधिवक्ता सुजित केसी

सहिद भन्ने बित्तिकै व्यक्तिगत स्वार्थ बिना राष्ट्र, राष्ट्रियता र जनहितमा आफ्नो ज्यानको समेत बलिदान दिने व्यक्ति भन्ने बुझ्ने गरेका छौं । सहिदहरुले बिना स्वार्थ देश र जनताको हितमा सहादत प्राप्त गरे । उनीहरुले कहिले शासन गरेनन्, न त शासन गर्ने लालचा नै राखे । नेपालको ईतिहासमा राजनितिक स्वतन्त्रताको लागि लड्ने र आफ्नो अमुल्य जिवन त्याग गर्ने व्यक्तिलाई मात्र सहिदको रुपमा बुझिने गरिएको छ । तर वास्तवमा सहिद त ति व्यक्तिहरु प्नि हुन जसले देशलाई विदेशी पराधिनताबाट बचाउन सहादत प्राप्त गरे । देशको सुरक्षाको लागि बिना स्वार्थ लड्दा जिवन त्याग गर्ने सुरक्षा कर्मीहरु समेतलाई सहिदको कोटिमा राखिनु पर्दछ । तर नेपालमा सहिद शब्द नै सस्तो भएको छ । एउटा राजनितिक विचारको लागि लड्दा मर्ने समेतलाई सहिदमा सुचिकृत गरिएको छ । राजनितिक विद्रोहमा मर्ने विद्रोहीलाई कसरी सहिद मान्न सकिन्छ । कि त राज्यले नागरिक अधिकारलाई कुठित गरेको अवस्था हुनु पर्यो कि त राज्यको निरङ्कुश शासनको विरुद्ध लडेर मारिएको हुनुप¥यो । होइन भने जुनसुकै अवस्थामा जुनसुकै राजनितिक विचार बोकेका कार्यकर्ता समेत मर्दा वा मारिदा सहिद घोषण गर्ने हो भने देशमा हजारौं सहिद हुनेछन् । वास्तविक र सच्चा सहिदको अवमुल्यन हुनेछ ।

नेपालको इतिहासमा लखन थापालाई पहिलो सहिद मानिन्छ । सहिद लखन थापालाई राणा शासनको विरुद्धमा बोलेकोे आरोपमा वि.सं. १९३३ सालमा गोरखाको मनकामना मन्दिर अगाडि रूखमा झुन्डाएर मारिएको थियो । राणा शासनमा यसरी धेरैले ज्यान गुमाउनु परेको थियो । वि.स. २००७ देखि २०६२-०६३ सम्मका नेपालको प्रजातान्त्रिक आन्दोलनलाई हेर्दा हाम्रा थुप्रै ज्ञातअज्ञात शहीदहरूले सहादत प्राप्त गरे। १९९७ साल माघ १० गते राति १२ बजे काठमाडौंको पचलीमा एउटा बकाइनोको रुखमा शहीद शुक्रराज शास्त्रीलाई झुण्ड्याएर मारिएको थियो । शहीदको रूपमा शहीद धर्मभक्त माथेमाको हत्या गरियो, त्यस्तै १९९७ साल माघ १४ गते शहीद दशरथ चन्दलाई काठमाडौंको शोभा भगवतीमा नर शमशेर राणाले गोली हानी हत्या गरे ।

१९९७ साल माघ १४ गतेकै राति १० बजे शोभाभगवतीमै लगेर नर शमशेर राणाले शहीद गंगालाल श्रेष्ठलाई एउटा खम्बामा बाधेर निर्मम तरिकाले गोली हानी हत्या गरेका थिए । यि चार सहिदले नेपालीको स्वतन्त्रताको लागि मारिनु परेको थियो । यिनहरुसँगै देशको रक्षार्थ मारिने देशको माटोको लागि सहादत प्राप्त गर्ने भिनसेन थापा, कालु पाडे, बलभद्र कुँवर, भक्ति थापा लगायतका पनि सहिद हुन् । अंग्रेज विरुद्ध लडेका र युद्धमा मारिएको ति महान सहिदलाई पनि हामीले सम्झनु पर्दछ । सन् १९१४ मा नेपाल र अंग्रेजको युद्ध भएको थियो । उक्त युद्धमा धेरै नेपाली सपुतले ज्यान गुमाउनु परेको थियो । आफ्नो देशको रक्षार्थ लड्ने ति पनि त सहिद हुन् । अब हामी हरेक वर्ष सहिद दिवस मनाउदा नेपाललाई पराधिन हुनबाट बचाउन लड्दा मारिएको ति वीरहरुलाई पनि सहिदको रुपमा सम्मान गर्नु पर्छ । यदि केहि वर्ष यता क्षेत्रीय र सम्प्रदायिक आन्दोलनमा मारिएकालाई सरकारले आन्दोलनकै भरमा सहिद घोषण गर्ने गरेको छ । यसरी सहिद घोषण गरिदै जाने हो भने नेपाल विश्वकै सबैभन्दा धेरै सहिद भएको देशमा पर्नेछ । तसर्थ हामीले सहिदको उच्च सम्मान गर्दै जनहित र राष्ट्रमा सहादत प्राप्त गर्ने महान् सपुतहरुलाई मात्र सहिदको रुपमा घोषण गर्नुपर्दछ ।

तपाईको प्रतिक्रिया