काठमाडौं- केही निर्माता, निर्देशकले विदेशमा फिल्म सुटिङ गर्दा उतै लगानीकर्ता भेटिने र नीहरूलाई नेपालमा फिल्म चलाएपछि आउने हिसाब बाँड्न, देखाउन नपर्ने भएकाले पनि विदेशमै सुटिङ गर्नतिर जोड दिएको पाइन्छ ।

अधिकांश विदेशीहरू ‘नेचुरल स्टुडियो’ भन्दै आफ्नो फिल्म, डकुमेन्ट्री खिच्न नेपाल आउने गर्दछन् । तर, केही नेपाली निर्माता भने ‘फ्रेस लोकेसन’ भन्दै विदेशी भूमिका नेपाली फिल्म खिच्ने गरेका छन् । पछिल्लो समय विदेशमा नेपाली फिल्म तथा गीतको सुटिङ गर्ने क्रम बढेको छ । साँच्चै कथाको मागभन्दा पनि देखासिकी गर्नेको लर्को लामो देखिन्छ । तर, अपसोच, विदेशमा खिचिएका अधिक नेपाली फिल्म फ्लप भएका छन् ।

अभिनेता भुवन केसी केही दिनअघि स्कटल्यान्ड उँडे । उनी २६ माघमा प्रदर्शनमा आउन लागेको कृ फिल्मको एउटा गीत खिचाउन अभिनेता पुत्र अनमोल केसी, अभिनेत्री अदिति बुढाथोकी, प्रेमिका जिया केसीलगायतको टिम लिएर स्कटल्यान्ड उडेका हुन् । कथाको मागका कारण आफूहरू गीत खिच्न स्कटल्यान्ड पुग्नुपरेको भुवनको दाबी छ । सो गीत कृ रिलिजभन्दा एक साताअघि मात्रै सार्वजनिक गर्ने प्लान उनको छ ।नयाँ पत्रिकाले छापेको छ ।

निर्देशक मिलन चाम्सले लिलिबिली फिल्मको सुटिङ लन्डन, स्कटल्यान्ड तथा स्तानबुललगायतका देशमा सकाए । फिल्मको कथा नै त्यस्तै भएकाले विदेशमा खिच्नुपरेको बताउने मिलनले यसअघिको ह्याप्पी डेज फिल्म पनि युरोपियन मुलुकमा खिचेका हुन् । आफूलाई सहज लाग्ने भएकाले पनि कथा त्यस्तै बुनिने गरेको उनी बताउँछन् । लिलिबिलीका निर्माता तथा वितरक गोविन्द शाही स्क्रिप्टको मागले गर्दा नै विदेशमा खिच्नुपरेको दाबी गर्छन् ।

प्रदीप खड्का, प्रियंका कार्की र जसिता गुरुङ मुख्य भूमिकामा रहेको लिलिबिली चैत ३० मा प्रदर्शन हुने तयारीमा छ । विदेशमा सुटिङ गर्दा निर्धारितभन्दा अधिक लगानी लागेको गोविन्द बताउँछन् । दयाहाङ राई, प्रियंका कार्कीलगायतका कलाकारले अभिनय गरेको ह्याप्पी डेज माघ १२ मा प्रदर्शन गर्ने घोषणा थियो । तर, सो मितिमा हिन्दी फिल्म पद्मावत रिलिज हुने भए पनि स्थगित गरियो । ह्याप्पी डेज अब कहिले दर्शकमाझ आउँछ, त्यो निर्देशक मिलन आफैँलाई थाहा छैन ।

मुकुन्द भट्टको लप्पन छप्पन युरोपका विभिन्न देशमा खिचिएको फिल्म हो । दयाहाङ राई, सौगात मल्ल र वर्षा सिवाकोटी मुख्य भूमिकामा रहेको सो फिल्मले पनि व्यावसायिक सफलता हासिल गरेन । मुकुन्द नयाँ फिल्म जोजो पनि युरोपमै खिच्ने तयारीमा थिए । तर, उनको जोजोको सुटिङ सुरु भएको छैन ।

विदेशमा खिचिएको पहिलो नेपाली फिल्मका रूपमा लिइन्छ, कस्तुरीलाई । विनोद मानन्धरले निर्माण गरेको कस्तुरीको अधिकांश सुटिङ लन्डनमा गरिएको थियो । अजय शेखर र करिश्मा मानन्धर मुख्य भूमिकामा रहेको सो फिल्म फ्लप भएको थियो । कस्तुरी नचलेपछि झन्डै दुई दशक मानन्धरले फिल्म बनाएनन् ।

एकताका विदेशमा फिल्म सुटिङ गर्ने बहानामा मानव तस्करी पनि मौलाएको थियो । मान्छेहरूसँग मोटो रकम उठाउने अनि सुटिङका कलाकार तथा प्राविधिकका रूपमा भिसा लगाउने र उनीहरूलाई उतै छाड्ने गरेका उदाहारण थुप्रै छन् । यद्यपि, यो धन्दा अहिले पनि कायमै छ । दुई महिनाअघि वसन्त निरौलाको निर्देशनमा होलिडे नामक फिल्मको युरोपमा सुटिङ गरियो ।

सुटिङ सकिएपछि सो फिल्मका क्यामेराम्यान दिनेश बान्तवा राई एकाएक बेपत्ता भए । बेल्जियममा रहेका होलिडेका निर्माता अहिले दिनेशको खोजीमा लागिरहेका छन् । नेपालमा सहायक क्यामेराम्यानको काम गरिरहेका दिनेशलाई वसन्तले नै मुख्य क्यामेराम्यानका रूपमा बढुवा गरेका हुन् । दिनेश आफैँ लुकेका हुन् या कसैले ‘सेटिङ’ मिलाएको हो, त्यो भने यकिन भइसकेको छैन ।

विदेशमा भोगेका सुख–दुःखका कथामा फिल्म नबनाइएको होइन । तर, विदेशमै सुटिङ गरिएका नेपाली फिल्म भने दर्शकले उतिसाह्रो मन पराएको पाइएको छैन ।

विदेशमा भोगेका सुख–दुःखका कथामा फिल्म नबनाइएको होइन । तर, विदेशमै सुटिङ गरिएका नेपाली फिल्म भने दर्शकले उत्ति साह्रो मन पराएको पाइएको छैन । पुराना खलअभिनेता नरेन्द्र थापाले विदेशमा भोगेका दुःख–सुखको कथामा फिल्म बनाए– देशदेखि विदेश । तर, त्यो फिल्म दर्शकले भने मन पराएनन् । त्यसैगरी, शम्भु प्रधानले नेपाली युवाले विदेशमा गर्नुपरेको दुःख, पीडाको कथामा नेपाल प्यारो छ नामक फिल्म निर्देशन गरेका थिए । तर, त्यो फिल्म पनि फ्लप भयो । नेपाल प्यारो छका केही दृश्य दुबईका विभिन्न स्थानमा खिचिएको थियो ।

अभिनेता दिलीप रायमाझीले सुरेशदर्पण पोखरेको निर्देशनमा मलेसियामा मिस यु नामक फिल्मको सुटिङ गरेका थिए । नम्रता श्रेष्ठ, दिलीप रायमाझी र वरुण राणा मुख्य भूमिकामा रहेको मिस यु पनि फ्लप भयो । त्यसपछि न दिलीपले अर्को फिल्म बनाए, न सुरेशले अर्को फिल्म निर्देशन गरे । विदेश गएका नेपाली युवाको कथाव्यथामा निर्माण गरिएको सर्वाधिक सफल एक मात्र फिल्म हो, परदेशी । नारायण रायमाझीको लेखन र निर्देशनमा बनेको सो फिल्मको अधिकांश सुटिङ पाल्पाका विभिन्न स्थानमा गरिएको हो । फिल्ममा विदेश जाने युवाको भूमिका प्रशान्त तामाङले निर्वाह गरेका छन् ।

अस्टेलियालगायत विश्वका अन्य केही देशमा खिचिएको द विनर नामक फिल्म हलमा आएरउत्रिएको पत्तै भएन । द विनरका निर्माताले फिल्म प्रदर्शनको एक दिनअघि प्रेसमिट गरी द विनर हिट हुने र आफूहरूले द विनर–२ निर्माण गर्ने घोषणा गरेका थिए । तर, अहिलेसम्म पार्ट २ को सुरसार देखिँदैन ।

हङकङ निवासी पृथ्वी रानाले परे नि माया जालैमा नामक फिल्म निर्माण गरेका थिए । केही दृश्य हङकङमै खिचिएको सो फिल्ममा दिलीप रायमाझी र झरना बज्राचार्य मुख्य भूमिकामा थिए । परे नि माया जालैमाले दर्शकलाई माया जालमा पार्न सकेन । त्यसअघि हंगामा नामक फिल्म निर्माण गरेका पृथ्वीले त्यसपछि अर्को फिल्म बनाएका छैनन् ।

रमीत ढुंगानाले बुद्ध बर्न इन नेपालका केही दृश्य अमेरिकामा खिचाए । अभिनेता सुधांशु जोशीले पनि नेपाल नामक फिल्मको केही दृश्य अमेरिकामा खिचाएका थिए । दुवै फिल्म असफल भए । आकाश अधिकारीले आफ्नो फिल्म काठमाडौंको केही दृश्य अमेरिकामा खिचाएका थिए । काठमाडौंले राम्रै व्यापार गरेको थियो ।

केही समयअघि प्रदर्शनमा आएको रामशरण पाठक निर्देशित प्रेम गीत–२ को झन्डै ४० प्रतिशत सुटिङ थाइल्यान्डमा गरियो । त्यसैगरी, अर्का अभिनेता नीरज बरालले स्टुपिड मन फिल्मको केही दृश्य पनि थाइल्यान्डमा खिचाएका थिए । प्रेमगीत–२ र स्टुपिड मन सफल फिल्ममा पर्छन् । अहिले निर्देशक ऋषिराज आचार्यले आफ्नो फिल्म ड्रिम गर्लको केही दृश्य थाइल्यान्डमा खिचाइरहेका छन् ।

अर्का निर्देशक मुस्कान ढकालले समर लभ उपन्यासलाई पर्दामा उतारिरहेका छन् । नेपालमा खिच्नुपर्ने सबै दृश्य खिचिसकिएको फिल्मका केही दृश्यले नर्वे माग्छ । समर लभ युनिट अब नर्वेमा सुटिङ गर्न चाँजोपाँजो मिलाउँदै छ । सबिर श्रेष्ठको निर्देशनमा रमेश त्वायनाले निर्माण गरेको आधी बाटो फिल्मको केही दृश्य र एउटा गीत बेल्जियम र लक्जेम्बर्गमा खिचिएको थियो ।

निर्माता त्वायना वर्षांैदेखि लक्जेम्बर्गमा बस्दै आएकाले त्यहाँ सहजै सुटिङ गरियो । सो फिल्मको सुटिङका लागि अभिनेत्री जेनिशा केसी मात्र लक्जेम्बर्ग गएकी थिइन् । फिल्म हलमा लाग्न र उत्रिन समय नै लागेन । अभिनेता राजबल्लभ कोइरालाको निर्माण संलग्नता रहेको राघव फिल्मको सुटिङ अमेरिका र अस्ट्रेलियामा गरिएको थियो । तर, त्यो फिल्म हलमा रिलिज गरिएन । कारण, वितरकले फिल्म लिन मानेनन् । त्यसकारण राघव एकैचोटि युट्युबमा रिलिज गरियो ।

निर्माता, अभिनेता कुशल थापाले ह्याप्पी न्यु इअर फिल्मको पूरै सुटिङ अस्टे«लियामा सकाए । अग्रेजी नयाँ वर्षको अवसर पारेर पुस १४ मा प्रदर्शन गरिएको सो फिल्मले न दर्शकलाई न त निर्मातालाई नै ह्याप्पी दियो । फिल्म फ्लप भएपछि कुशल निकै चिन्तित भएका छन् ।

कोरियोग्राफर हुँदै इन्टुमिन्टु लन्डनमा फिल्मबाट निर्देशनमा उत्रिएकी रेनेशा बान्तवा राईले आफ्नो फिल्मको सुटिङ लन्डनमा गरिरहेकी छिन् । त्यसैगरी, अभिनेता आर्यन सिग्देलले आफ्नो नयाँ फिल्म कायरको हाल फिलिपिन्समा सुटिङ गरिरहेका छन् । लक्ष्मण रिजालले निर्देशन गरिरहेको फिल्ममा आर्यनका साथमा साम्राज्ञी शाह मुख्य भूमिकामा छिन् ।

झरना थापाले सुरज सुब्बाको निर्देशनमा फेसबुक फिल्म निर्माण गरेकी थिइन् । फेसबुकका केही दृश्य सिंगापुरमा खिचिएको थियो । फिल्म असफल भयो । त्यसपछि झरना विदेशमा सुटिङ गर्ने कुरामा जोड दिन्नन् । केही निर्माता, निर्देशकले भने विदेशमा फिल्म सुटिङ गर्दा उतै लगानीकर्ता भेटिने र उनीहरूलाई नेपालमा फिल्म चलाएपछि आउने हिसाब बाँड्नु, देखाउनु नपर्ने भएकाले पनि विदेशमै सुटिङ गर्नतिर जोड दिने गरेको पाइन्छ । तर, अहिलेसम्म जतिले त्यसरी फिल्म बनाएका छन्, ती सबै डुबेको नै देखिएको छ ।

नेपाली फिल्मको बजार विदेशमा पनि विस्तार भएकाले त्यहाँ पुगेका दर्शकले नेपालकै आफ्नै गाउँघर, डाँडापाखा हेर्न चाहन्छन् । त्यसकारण विदेशमा खिचिएका फिल्म हेर्न त्यति मन नगर्ने गरेको विश्लेषण फिल्म व्यापार विश्लेषकहरूको छ ।

तपाईको प्रतिक्रिया